बाँकेमा गर्भवतीका लागि मोबाइल स्वास्थ्य कार्यक्रम सुरु  



नेपालगन्ज, कार्तिक २९/  गर्भवती महिलालाई समय मै गुणस्तरीय स्वास्थ्य सेवा  पुर्‍याइ मातृ मृत्युदर घटाउने लक्ष्यका साथ मोबाइल स्वास्थ्य कार्यक्रम सुरु भएको छ । बाँके नेपालकै सबैभन्दा धेरै मातृ मुत्यु हुने जिल्लामा पर्छ । गत आर्थिक वषएमा १५ जना गर्भवती महिलाको मृत्यु भएको थियो।

मोबाइल स्बास्थ्य कार्यक्रम लागु भएपछि  महिला स्वास्थ्य स्वयंसेविकाहरुले मातृ तथा बाल स्वास्थ्य सम्बन्धि  कामको प्रतिवेदन कोड गरिएको मोबाइल एसएम स मार्फत हुनेछ।

मेडिक मोबाइलको प्रविधिक सहयोगमा संचालन गर्न लागिएको यो कार्यक्रममा गर्भवती अवस्थादेखि सुत्केरी हुँदासम्मको चेकजाँचको अवस्थाका साथै प्रजनन् उमेरकी कुनै पनि महिलाको मृत्यु भएमा त्यसको  विवरण समेत मोबाईल एसएमएस मार्फत रिपोर्ट गरिनेछ।

उक्त रिपोर्टको आधारमा हरेक गर्भवतीलाई  उनको गर्भको अवधि र स्वास्थ्य आवश्यकता अनुसार परामर्श दिन र स्वास्थ्य संस्था जानको लागि  महिला स्वास्थ्य स्वयंसेविकाहरु मार्फत समयानुकुल सम्झाउन सन्देशहरु पठाइनेछ।

यस कार्यक्रम अन्तर्गत प्रत्येक महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाहरुलाई मोबाइल सेट उपलब्ध गराइनेछ । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो समुदायमा भएका सवै गर्भवतीहरुलाई मोबाइल मार्फत दर्ता गरि मातृ स्वास्थ्य सेवामा आबद्ध गराउने छन्।  त्यसपछि मोबाइलमा सेट गरिएको फलोअप र सम्झना सन्देश मार्फत समयमै स्वास्थ्य संस्था जाना प्रेरित गर्नुका साथै स्वास्थ्य सेवा प्रयोग गर्न ताकेता गरि गर्भवती तथा सुत्केरीहरुको मृत्यु हुने जोखिम कम गर्न सहयोग पुग्नेछ।

मोबाइल स्वास्थ्य सेवा सुरु भएपछि कुन हेल्थपोष्ट र स्वास्थ्य संस्था  अन्तर्गतको कुन गाउँ  वस्तीमा को–को गर्भवती छन् र ती  गर्भवतीले स्वास्थ्य जाँच गराइरहेका छन् कि छैनन््, त्यस स्वास्थ्य संस्था अन्तर्गत मातृ मृत्युको बढी जोखिममा परेका गर्भवती महिला कति छन्,  ती गर्भवतीको सुत्केरी हुने अनुमानित मिति र त्यसका लागि आवश्यक तयारी जस्ता  विवरणहहरु  तत्कालै  हेर्न सकिनेछ । त्यसले स्वास्थ्य संस्थाहरुलाई समेत सेवा दिनको लागि तयारी अवस्थामा राख्न सहयोग पुग्नेछ ।

मोबाइल स्वास्थ्य कार्यक्रममा एकतर्फी तथ्यांक संकलन मात्रै नभएर कुनै महिला चेकजाँचका लागि  आए नआएकाको एकिन गर्ने र आएन भन्ने विवरण सहितको एसएमएस  सन्देश स्वास्थ्य संस्थामा प्रमुखलाई पनि दिइन्छ र त्यस्ता गर्भबतीको खोजतलास गरेर आबश्यक स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य संस्थाका प्रमुखहरुलाई घच्घचाउने  प्रणालीको व्यवस्था गरिएको छ।

त्यस्तो बिबरण र सन्देशहरुले गर्भवती महिलाको स्वास्थ्य अबस्थालाई प्रभावकारी बनाउन मद्दत पुग्नुका साथै गर्भवती अवस्थादेखि सुत्केरी हुने समयमा हुने मातृ तथा बाल मृत्यु दरलाई  घटाउन  सहयोग पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालय बाँके प्रमुख खिम बहादुर खड्काले बताए।

५ लाख ६१ हजार ४ सय ३० जनसंख्या रहेको बाँकेमा वर्षेनी करिब १४ हजार ५ सय २१ जना महिला गर्भबती हुन्छन । ती गर्भवती महिलाहरुलाई आधारभुत तहको स्वास्थ्य सेवा दिनका लागि ७ सय ८९ जना महिला स्वयंसेविकाहरु कार्यरत छन्। सुरक्षित सुत्केरी सेवाका लागि नेपालगन्जका भेरी अंचल अस्पताल, मेडिकल कलेजको कोहलपुर नेपालगन्ज स्थित शिक्षण अस्पताल र बेष्टन हस्पिटल सहित ३४ वटा बर्थिङ सेन्टरहरुको ब्यवस्था मिलाइएको छ।

तर पनि बाकेमा १०० जना गर्भबती महिला करिब ५० जनाले मात्रै प्रोटोकल अनुसार चौथो पटकसम्म स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउछन्। शहरी तथा स्बास्थ्य चेतना भएका क्षेत्रका अधिकांश गर्भवती  महिलाहरुले नियमित रुपमा स्वास्थ्य चेक जाँच गराउने र स्वास्थ्य संस्थामा गएर सुरक्षित रुपमा सुत्केरी हुने गरेका छन्। अझै पनि ग्रामिण तथा दुर्गम वस्तीका केही गर्भबती महिलाहरु स्बास्थ्य संस्थामा नगई घरमा सुत्केरी हुने चुनौती भने कायमै छ। मेडिक मोबाईलको सहयोगमा बाग्लुङ, धादिङ, गोरखा, इलाम, सिन्धुलीमा पहिले नै संचालनमा रहेको यो कार्यक्रम  स्बास्थ्य मन्त्रालय, गाउँ तथा नगरपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस वर्ष बँके, बैतडी र कञ्चनपुरमा समेत सञ्चालन गर्न थालिएको हो।

नेपाल सरकारको मातृ तथा बाल मृत्य दर घटाउने उद्देश्य  र ई–हेल्थको माध्यमबाट स्वास्थ्य सूचना प्रणाली प्रभावकारी बनाउँदै सुलभ रुपमा स्वास्थ सेवा उपलब्ध गराउने रणनीतिमा मोबाईल स्वास्थ्य कार्यक्रमले  सहयोग पुराउने मेडिक मोबाइलकी परियोजना ब्यबस्थापक  दुशला अधिकारीले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार