रुकुमकी कमला रोका भन्छिन् ‘चुनाव जित्ने पक्का होे’



काठमाडौं २६ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि बामगठबन्धनबाट उम्मेदवारी पाउने एक्ली महिला उम्मेदवार हुन्, कमला रोका ।

रुकुम पूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनेकी रोका लाई माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको थियो ।

मतदान हुने दिन दुई हप्तामात्रै बाँकी रहँदा रोका चुनावी प्रचारप्रसारमा रुकुममा उकाली ओराली गर्दै मतदाताको घरदैलोमा आफ्ना चुनावी एजेण्डा सुनाइरहेकी छिन् ।

पूर्व रुकुमको हिमाली भागका धेरै ठाउँमा यातायात र सञ्चार नपुगेको बताउँदै रोका भन्छिन्, ‘पाँच भन्दा बढी वडाहरूमा अझै पनि यातायत र सञ्चार पुगेको छैन । ती ठाउँमा विकासका पूर्वाधार पु¥याउन, हाइड्रो पावर निमार्ण गरी यहाँका महिला पुरुषलाई रोजगारको व्यवस्था गर्ने मेरो प्रमूख उद्देश्य छ ।’

कमलाले जिल्लाका महिलाहरूमा भएको घरेलु सिपलाई व्यवस्थित गरेर उनीहरूले उत्पादन गरेका विभिन्न साम्रगीहरूको वितरण तथा बजारको व्यवस्था गर्न पहल गर्ने बताइन् ।

‘यहाँका महिलाहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाइरहेका छैनन् । त्यसैले महिलाले उत्पादन गरेका त्यस्ता सामग्रीहरूलाई घरेलु उद्योग मार्फत बजारको व्यवस्थापन तथा जिल्ला बाहिर वितरण गर्न व्यवस्था गर्ने छु’ रोकाले महिला खबरसँग आफ्ना एजेण्डा भनिन् ।

गर्भवती महिलाले स्वास्थ्य उपचार नपाउँदा ज्यान गुमाउनु परिरहेकाले पूर्वी रुकुमका प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीको निमार्ण गर्ने पनि उनको एजेण्डा छ । ‘यहाँका धेरै गर्भवती महिलाले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाएका छन् । सुत्केरी व्यथा लागेपछि सहजै सन्तान नजन्मिने अवस्था देखिएपछि कतिपयलाई हेलिकोप्टरबाट अन्य जिल्ला पठाएर बचाएका छौँ । त्यस्तो अवस्था अब नआसोस् भनेर प्रत्येक वडामा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य चौकीको निमार्ण गर्ने मेरो योजना छ’ रोकाले भनिन् ।

महिलाहरूका लागि निशुल्क शिक्षाको व्यवस्था समेत गर्ने उनले बताइन् । आफु मन्त्री भएपछि चार÷पाँच गाविसमा बाटो, विद्युत, सुचना सञ्चार, गाउँमा अस्पताल जस्ता कुराहरू गरेको भएपनि धेरै ठाउँमा प्रभावकारी रुपमा काम हुन नसकेकोले अधूरा काम पुरा गर्न आफूले उम्मेदवारी दिएको उनले प्रष्ट्याइन् ।

रुकुमबासीको धेरै माया र सहयोग पाएकोले आफ्नो जित सुनिश्चित भएकोे रोका उनले बताइन् । ‘रुकुम माओवादीको क्षेत्र हो । यहाँ मलाई जिल्लावासीको साथ र सहयोग छ । ९५ प्रतिशत विजय सुनिश्चित भइसकेको छ’ रोकाले महिला खबरसंग टेलिफोनमा कुरा गर्दै भनिन् ।

सुरुमा आफूलाई समानुपातिकमा बस्न दबाब आएपनि प्रत्यक्षमा पनि महिला उठेर जित्न सक्छन् भन्दै आफूले उम्मेदवारी दिएको रोका बताउछिन् । ‘जनताको माया पाएक छु, चुनाव जितेरै आउनुपर्छ भनेर मैले उम्मेदवारी दिएकी हुँ । महिलाहरू आरक्षणमा मात्रै बस्छन् । चुनाव जितेर आउन सक्दैनन् भन्ने जुन भ्रम र आरोप छ, त्यो पनि तोड्नु छ’ रोकाले भनिन् ।

२०५२ सालमा पहिलो महिला छापामारको रुपमा लडेको र अबको चुनावमा पनि जनताको माया पाएर जितेर आउनुको बेग्लै आनन्द हुने भएकाले आफू जितेरै आउने दाबीे गरिन् ।

रोकाले आगामी पाँच वर्षमा रुकुमका प्रत्येक घरका महिला पुरुषलाई रोजगार प्रदान गर्न, गाउँगाउँमा स्वास्थ्य सेवा, यातायात, प्रभावकारी सञ्चार, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, हिमाली सहरको अवधारणाको विकास, संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गराउने जस्ता एजेण्डा लिएर जनताको घरदैलोमा पुगेको र आफुले जितेपछि ति सबै एजेण्डा पुरा गर्न रुकुमबासीसंग प्रतिबद्धता जाहेर गरेको बताइन् ।

पाँच पुरुषसँग प्रतिष्पर्धा

रुकुममा उनले पाँच पुरुषसंग प्रतिस्पर्धा गर्दैछिन् । हरिशंकर घर्ती मगर काँग्रेस, जीतमान पुन–नयाँ शक्ति पार्टी, रतन बहादुर बुढा–मंगोल नेशनल अर्गनाइजेसन, मोति राम खड्का–नेपाल कम्युनिष्ट पार्टी (माले) र चन्द्र प्रसाद शाही–राष्ट्रिय जनमोर्चा उनका प्रतिस्पधी हुन् ।         महिला खबर

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार