19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

स्थीर सरकार र आर्थिक सम्वृद्धिका वाम गठबन्धन : नेता महरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४  

नेपालगञ्ज, २२ कात्तिक/ नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महराले आगामी मंसिर २१ गते हुने दुबै सभाको निर्वाचनबाट नेपालमा स्थीर सरकार बन्ने र सो सरकारद्वारा मुलुकको आर्थिक सम्वृद्धि हुने बताएका छन् ।
मंगलबार नेपालगञ्जमा नेकपा एमाले र माआवादी केन्द्र बाँके अगुवा कार्यकर्ताहरुको भेला तथा उम्मेदवार परिचय कार्यक्रमलाई समवोधन गर्दै नेता महराले केवल चुनावी बाँके जिल्लामा प्रतिनिधी र प्रदेश सभाको चुनाबी मैदानमा उत्रिएका उम्मेदवार लाई नेपालगन्जमा बधाई तथा शुभकामना दिदै महराले अबको सरकार कम्तीमा ५ वर्ष सम्म चल्न सक्ने र त्यस्तो सरकारले मात्र आर्थिक सम्वृद्धिको काम गर्नसक्ने बताए ।
महराले प्रमुख तीन वटा कारणले वाम तालमेल गरिएको बताउदै उनले भने–‘पहिलो त यो तालमेलबाट बहुमत सहितको स्थायी सरकार बन्नेछ र त्यो सरकार वामपन्थीकै हुनेछ । दोस्रो नेपालमा अस्थिरता र राजनीतिक अराजकताको अन्त्य हुनेछ । राजनीतिक बार्गेनिङ गर्ने गलत प्रवृत्ति अन्त्य हुनेछ, यसले देशलाई आर्थिक र सामाजिक रुपमा सम्वृद्ध बनाउने छ । तेस्रो नेपालमा वैदेशिक हस्तक्षेपकोे पनि अन्त्य हुनेछ । यसबाट प्रगतिशिल सरकार बन्ने छ । राजनीतिक विचारधाराको हिसावले दुई प्रवृत्ति वा दुई विचार धारा मात्र नेपालको राजनीतिमा रहने छन्’ ।
नेता महराले अहिलेको वाम तालमेलले नेपालका वामपन्थीहरुलाई ऐतिहासिक अवसर पनि दिएको छ । त्यसैले हामी विच भएका सबै मतभेदहरुलाई थाती राखेर जनताको अपेक्षा अनुसार आगामी मंसिर २१ गतेको चुनाव जित्नै पर्ने बताए । उनले वाम गठवन्धनका साझा उम्मेदवारहरु नै सिंगो वाम आन्दोलनलाई एकतावद्ध गर्ने अवसर सहित पार्टीका आधिकारिक उम्मेदवार भएकोले उनीहरुको पक्षमा लाग्न दुबै पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
महराको सुझाव छ–‘एउटै पार्टीमा पनि गुट उपगुटमा रमाउन खोज्ने प्रवृत्तिको हावी भइरहेको बेला दुई पार्टीको तालमेल हँदा अन्तरविरोध देखिन सक्छन्, ती सबै अन्तरविरोधहरुलाई निर्वाचनपछि वहस र छलफल गर्ने गरी लाग्न जरुरी छ’ ।
एक अर्को प्रसंगमा महराले थपे–‘संविधान निर्माण भइसकेको, नयाँ संविधानअनुसार राज्यको पुनः संरचना भई देश संघियतामा गइसकेको तथा दुबै पार्टीको नीतिमा अब समाजवातर्फ उन्मूख हुने आर्थिक नीतिलाई अंगिकार गरिसकेको अवस्थामा दुबै पार्टीका प्रमुख नेताहरु सहमत भएर नै यो वाम तालमेल भएको र यो एकता पार्टी एकतामा परिणत हुने दावी गरे’ ।
भेलामा नेकपा एमालेका नेता गोविन्द कोइरालाले राष्ट्रिय एकतालाई सुत्रवद्ध गर्ने यो एउटा महत्वपूर्ण अवसर बनेको भन्दै यसलाई सुदृढ गराउदै आर्थिक सम्वृद्धि गराउन सिकने बताए । कोइरालाको थप भनाइ छ–‘हामी वामपन्थीहरु आपसमा मिल्न नसकेकै कारण राष्ट्रलाई सम्वृद्धि बनाउन नसकिएको हो, राष्ट्रलाई सम्वृद्ध बनाउने नेपालका वामपन्थी नै हुन्, जो विभाजित भएका कारण दक्षिणपन्थी शक्तिहरु हावी हुदै आइरहेका थिए । अब यो वाम एकताबाट त्यसो हुने छैन’ ।
भेलामा नेकपा एमालेका नेता एवम् निवर्तमान सांसद देवराज भारले स्वागत गरेका थिए भने माओवादी केन्द्रका नेता प्रकाश सुवेदीले भेलाको सञ्चालन गरेका थिए ।
कार्यक्रममा बाँकेका प्रतिनिधिसभाका ३ वटै क्षेत्रका र प्रदेशसभाका ६ क्षेत्रका गरी ९ जना प्रत्यक्ष तर्फका र ८ जना समानुपातिक तर्फका उम्मेदवारहरुको परिचय समेत गराइएको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४     7:38:32 AM  |