अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियामा



ओसान, २१ कात्तिक/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणपछि मंगलबार दक्षिण कोरिया पुगेका छन् ।

एसिया भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मंगलबार दक्षिण कोरिया पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

फ्रान्सेली समाचार समिति, एएफपीकाअनुसार राष्ट्रपति ट्रम्प एसियाको १२ दिने भ्रमणको दोस्रो देशका रुपमा दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरिया उनको दुई दिने भ्रमण हो ।

उनको एयर फोर्स विमान दक्षिण कोरियाको ओसान सहरमा रहेको हवाई सैन्य क्याम्पको विमानस्थलमा मंगलबार बिहान अवतरण गरेको थियो ।

सो विमानस्थलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न सो विमानस्थलमा दक्षिण कोरियाका उच्च पदस्थ अधिकारीहरु उपस्थित भएका थिए ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकास हुँदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ । (रासस/एएफपी)

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार