नगर विकासको ८ करोड बढी रकम फुकुवा



भीम रावत : कोहलपुर, १९ कात्तिक/ नेपाल राष्ट्र बैंकले जमिन प्राप्त गरेवापत कोहलपुर नगर विकास समितिलाई दिनुपर्ने रु ८ करोड ४४ लाख रकम फुकुवा गरी दिएको छ । कोहलपुर नगर वकिास समितिले नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय निर्माणको निम्ति जग्गा उपलब्ध गराई दुबै पक्ष विच आ–आफ्नो काम गर्ने भनी २०७१ साल जेष्ठ १६ गते भएको सम्झौता वमोजिम बाँकी रहेका कामहरु पूरा गर्ने गरी शनिबार कोहलपुर नगर विकास समितिमा पुनः अर्को सम्झौता भएको हो ।बैंकले आफूले प्राप्त गरेको जग्गाको कम्पाण्ड वाल बाउन्डरी गरी भवन निर्माण गर्न नगर विकास समितिलाई बैंकको जमिनको दक्षिणपट्टि रहेको पूर्व–पश्चिम बाटोको ट्रयाक खोलिदिन भनेको थियो ।
बाटोको ट्रयाक खोल्दा बाटोको दक्षिणपट्टि रहेको शिव मन्दिरको केही भाग भत्काउनु पर्ने अवस्था देखिएको थियो । मन्दिर व्यवस्थापन समितिले सो भाग भत्काउन अवरोध गरेपछि ट्रयाक खोल्ने काम रोकिदा बैंकले आफ्नो निर्माण सम्वन्धी सबै काम स्थगित गरेको थियो । साथै बैंकले जग्गा वापत कोहलपुर नगर विकास समितिलाई दिनुपर्ने रु ८ करोड ४४ लाख रकम नगर विकास समितिले चलाउन नपाउने र व्याज पनि नपाउने गरी रोकिदिएको थियो । जसबाट कोनविसलाई प्राप्त हुने व्याज वाफत मात्रै झण्डै वार्षिक रु ५० लाख रकम नोक्सान भइरहेको थियो ।
शनिबार नेपाल राष्ट्र बैंकको तर्फबाट नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटार काठमाण्डौंका कामु निमित्त निर्देशक एजिन्द्र प्रसाद लुईटेल, कोहलपुर नगर विकास समितिका तर्फबाट अध्यक्ष अवराज खड्का र सदस्य सचिव सुनिल कुमार ठाकुर तथा कोहलपुर नगरपालिकाको तर्फबाट नगरपालिका प्रमुख लुट बहादुर रावतले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौताअनुसार रु ८ करोड ४४ लाखमध्ये रु ६ करोड ४४ लाख सम्झौता भएको मितिदेखि नै कोहलपुर नगर विकास समितिले चलाउन पाउने छ भने बाँकी रु २ करोड बैंकको बाउण्डरी वाल निर्माण पश्चात चलाउन पाउने गरी कोनविसकै बैंक खातामा राख्ने सहमति भएको छ । साथै बैंकलाई बाउण्डरी वाल निर्माण गर्न सहज हुने गरी त्यस अगावै पूर्व–पश्चिम ट्रयाकमा रहेको शिव मन्दिर सो ठाउँबाट अनेत्र स्थानान्तर कोनविसले गर्नुपर्ने सहमति भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार