कोहलपुर, १७ कात्तिक/ आगामी मंसिर २१ गते हुन लागेकोे दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभाका लागि बाँकेमा उत्साह पूर्ण रुपमा मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभाको लागि ४० जना र प्रदेश सभाको लागि ७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयनको दर्ता शुरु भएको थियो । बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजदेखि १२ बजेसम्म साना दल र १ बजेदेखि ५ बजेसम्म ठुला दलहरुलाई उम्मेदवार मनोनयन दर्ताको समय दिएको थियो ।
बाँकेमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा तर्फ क्षेत्र नं. १ बाट माओवादी केन्द्रका महेश्वर गहतराज, २ बाट एमालेका पशुपति दयाल मिश्र र ३ बाट एमालेका नन्दलाल रोकायले उम्मेदवारी मनोनयन गराएका छन् । त्यस्तै सोही गठबन्धन तर्फबाट प्रदेश सभाको लागि १ ‘क’ मा कृष्ण केसी (नमूना), ‘ख’ मा आरती पौडेल, २ को ‘क’ मा कामता प्रसाद खटि, ख मा विजय गुप्ता, ३ को क मा इन्द्रप्रसाद खरेल, ख मा बाबुराम गौतम रहेका छन् ।
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभामा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका माधवराम केसी, २ बाट राप्रपाका ओम प्रकाश आजाद र ३ बाट बादशाह कुर्मीले उम्मद्वारी दर्ता गराएका छन् । त्यस्तै काँग्रेसकै प्रदेश सभा तर्फ १ को क मा कृष्ण पौडेल, ख मा नारायण गौडेल, २ को क मा निरञ्जनसिंह सिजापती, ख मा सुरेन्द्र शाह, ३ को क मा सन्तराम थारु र ख मा लक्ष्मीनारायण शाहको उम्मेदवारी दर्ता भएको छ ।
दुई गठबन्धन बाहेक संघिय समाजवादी फोरम र राजपा एक्लाएक्लै चुनावमा होमिएका छन् । संघिय समाजवादी फोरमबाट क्षेत्र नं.१ मा रमानन्द शर्मा, २ मा पुर्व मन्त्री मो. ईस्तियाक राई र ३ मा मनोज कुमार दिक्षीतले उम्मेदवार दर्ता गराएका छन् । संघीय समाजवादी पार्टीले बाँकेमा प्रदेश सभा तर्फ क्षेत्र नं.२ को ‘क’ मा महिला रेखा मिश्रा, ख’ मा नम्बर मुनव्वर हल्वाईले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै जनामोर्चाको प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र नं. १ बाट कमला खड्का, २ बाट कृष्णराज पाण्डे र ३ बाट मानबहादुर भण्डारीको उम्मेदवारी दर्ता गराएको छ । प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं १ ‘क’ मा पार्वती कार्की र ‘ख’ मा श्रीराम लामिछाने (सरद) , क्षेत्र नं २ ‘क’ मा कले दमाई र ‘ख’ मा राम सागर चमार र क्षेत्र नं ३ ‘क’ मा लड्कन उमर र ‘ख’ मा रमा आचार्यको उम्मेदवारी दर्ता भएको जनमोर्चाले जानकारी दिएको छ ।
नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधि सभा १ मा बुध बहादुर सुनार, २ मा बेद प्रसाद आचार्य, ३ मा बिरेन्द्र प्रकाश पुन रहेका छन् । यस्तै प्रदेश सभा तर्फ १ क मा निसिम खा पठान, ख मा डोलेश्वर भट्टराई (अनिल),२ क फकरुल्ला पठान ख मा सुनिल कुमार सिंघल, ३ क मा गोगन सिंह बम,३ ख मो. अख्तर खालेको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्ते विवेकशिल शाझा पार्टी तर्फबाट प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा कुसल अधिकारी क्षेत्र नं. २ मा नरेन्द्र कुवरको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फ १ क मा दया थारु, ख मा जोती परियार, २ को ख मा बिनोद कर्ण र ३ को ख मा अमित लामाको उम्मेरदवार दर्ता भएको छ ।
आगामी २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि बाँकेमा २ लाख ७६ हजार ७ सय १८ जना मतदाता रहेका छन् । जसमा क्षेत्र नं. १ मा ९८ हजार ३ सय २०, २ मा ८२ हजार ९ सय ४९ र ३ मा ९५ हजार ४ सय ४९ मतदाता रहेका छन् । असन्तुष्टद्वारा काँग्रेस कार्यालयमा तालाबन्दी जिल्ला स्तरबाट सिफारिस भएका उम्मेदवारको नाम कटाएर केन्द्रले अर्कै उम्मेदवारको नाम पठाएको भन्दै नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले नेपाली कांग्रेस बाँकेको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उम्मेदवार मनोनयनको दिन पार्टी कार्यालयमा भेला भएका नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् । पार्टी केन्द्रीय तहले बाँके क्षेत्र नं.३ ले सिफारिस गरेका उम्मेदवारको नाम कटाएर क्षेत्र नं.२ का उम्मेदवार लक्ष्मीनारायाण शाहलाई पैसाको चलखेलमा ३ नं. मा पारेका कारण आफुहरुलाई अन्याय भएको भन्दै तालाबन्दी गरिएको नेपाली काँग्रेसका नेता हरिभक्त उप्रेतीले बताए ।
उम्मेदवार मनोनयनका लागि नेपाली काँग्रेसका कार्यकर्ताहरु कार्यालयमा उपस्थित भएकै बेला असन्तुष्ट समुहले कार्यालयको मुल गेटमा तालाबन्दी गरेको हुन् । क्षेत्रीय समितिले पठाएको निणर्य सच्चाएर नआएसम्म तालबन्दी जारी रहने उप्रेतीले बताए । पूर्व पार्टी सभापति स्व.सुशील कोईरालाको निर्वाचन क्षेत्रमा उनको सम्मानको लागि भएपनि काँग्रेसले क्षेत्र छोड्न नहुने भन्ने कार्यकर्ताको तर्क रहेको छ ।
‘यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ । अर्कातिर पार्टी केन्द्रले जिल्ला र क्षेत्रबाट सिफारिस नै नगरेका व्यक्तिलाई टिकट दिएको छ’ भन्दै नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका सभापति बलराम शर्मा र महासमिति सदस्य दुखी लोनियाले पार्टीबाट राजिनामा दिएका छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक १७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्