कोहलपुर, १६ कात्तिक/ बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन सरोकारवाला सबैले प्रतिवद्धता व्यक्त गरेका छन् । लामो प्रक्रिया पार गर्दै बागेश्वरी क्याम्पस म्धयपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा जाने निर्णय गरेको र आंगिक क्याम्पस हुँदा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको सम्वन्धमा समेत विभिन्न कानूनी मापदण्ड पुरा गर्नुपर्ने भएकाले समेत त्यसमा सरोकारवालाहरुले जिज्ञासा राखेका थिए ।

क्याम्पसको आयोजनामा बुधबार भएको कार्यक्रममा आंगिक क्याम्पस बनाउन सरोकारवालाहरुको प्रतिवद्धता आवश्यक रहेकाले त्यो प्रतिवद्धता लिन र अनुमोदन गराउन कार्यक्रम गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख उपप्राध्यापक कृष्ण अधिकारीले प्रष्ट पारेका थिए । कार्यक्रममा बाँके जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले जिल्ला समन्वय समितिमा रहेको आकस्मिक कोषबाट केही सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बागेश्वरी क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापक शेर बहादुर रायमाझीले केही बाधा व्यवधान रहेपनि यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउनु पर्ने बताए ।
सञ्चालक समिति सदस्यहरुको तर्फबाट सञ्चालक समिति सदस्य भीम रावतले पब्लिक क्याम्पसलाई नेपाल सरकारको विश्वविद्यालयको आंगिक क्याम्पस बन्ने अवसरलाई गुमाउन नहुने बताए । साथै रावतले सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस भएपछि विश्वविद्यालयको पाठ्यक्रमअन्तर्गतका संकाय र विषयको पठनपाठन गराउँदा गुणस्तरीयता कायम राख्न आवश्यक रहेको बताए ।
त्यस्तै सञ्चारकर्मी नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरका प्रशासकिय अधिकृत गंगा प्रसाद खतीवडाले पब्लिक क्याम्पसमा अध्ययन गर्नुको पीडा आफूले पनि भोगेको बताउदै सरकारी विश्वविद्यालयकोे आंगिक क्याम्पस हुन पाउनु राम्रो अवसर भएको बताए । बागेश्वरी क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा लैजान सहभागी सबैले प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमप्रकाश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागेश्वरी क्याम्पसका प्राध्यापकहरु, विद्यार्थीहरु, स्ववियूका पदाधिकारीहरु, विभिन्न सामुदायिक विद्यालयका प्रअहरु, कोहलपुर नगररपालिकाअन्तर्गतका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी लगायतको सहभागीता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्