20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बर्दियामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४  

बर्दिया, १५ कात्तिक/  जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले यही कार्तिक १६ र १७ गते जिल्लाभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय बर्दियाले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जिल्लामा रहेका ६ महिनादेखि ५ वर्ष मुनिका ४३ हजार बालबालिकालाई भिटामीन ‘ए’ खुवाउन र १ वर्षको उमेरदेखि ५ वर्षसम्मका ३८ हजार बालबालिकालाई जुकाको औषधी खुवाउन स्वयमसेविकाको हातमा औषधीहरु पठाई सम्पुर्ण तयारी पुरा भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा रहेका केन्द्रहरुमा ८ सय ४१ जना स्वयमसेविकाहरु मार्फत बालबालिकालाई औषधी खुवाउन सम्पुर्ण व्यवस्था मिलाएको छ । सोही कार्यक्रममा स्वयमसेविकाहरुले मुआक फित्ताले देब्रे पाखुरा नापेर बालबालिकाको पोषणको स्थिति समेत लेखाजोखा गरी पहेलो र रातो नाप देखिएका बालबालिकाहरुको कुपोषण जाँचका लागि स्वास्थ्य सस्ंथामा सिफारीस समेत गर्ने बताइएको छ ।
कार्तिक १६ र १७ गते संचालन हुने भिटामिन ए र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि , गाउँ तथा नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्य प्राविधिक, समाजसेवी र स्वयमसेवीका सबैलाई अनुरोध समेत गरिएको बर्दियाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारील बताए ।
भिटामीन ए खुवाउँदा बालमृत्युदर कमी हुनुका साथै आँखा सम्बन्धी रोगहरु पनि निको हुने भएकाले आ–आफ्नो पायक पर्ने ठाउँमा गई आफ्ना सम्पूर्ण ५ वर्षसम्मका बालबालिकाहरु भिटामिन ए को साथै जुकाको औषधी खुवाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । बालमृत्युदर घटाउन र भिटामिन ‘ए’ को कमीका कारण आँखामा लाग्ने रोग कम गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि नेपालमा यो कार्यक्रम लागू गरेको हो । यो अभियानबाट हरेक वर्ष करिब
१२ हजार बालबालिकालाई अकालमा हुने मृत्यूबाट जोगाउन सकिने युनिसेफको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १५, २०७४     7:32:48 AM  |