23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

रवीन्द्र मिश्रको चुनावी अभियान : साग पसलदेखि सुन पसलसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४  

काठमाडौं,१३ कार्तिक/ आइतबार बिहान सात बजे  मैतिदेवी चोकमा हातमा प्लेकार्ड बोकेर केही युवा उभिएका थिए । उनीहरुको हातमा ‘म रवीन्द्र मिश्र साथमा छु । जिताएरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ लेखिएको प्लेकार्ड थियो । मर्निङ वाकमा हिँड्नेहरु पनि एकछिन रोकिएर विवेकशील साझाका स्वयमसेवकहरुसँग भलाकुसारी गरिरहेका थिए ।

एकजना बृद्ध बाटोमा आफ्नै सुरमा हिँडिरहेका थिए । उनलाई स्वयमसेवीहरुले सोधे, ‘तपाईँ काठमाडौं क्षेत्र नम्बर एकको मतदाता हो ?’ ती बृद्ध केही हिच्किचाए । सुरुमा उनी बोल्न नमानेजस्तो गरे पनि पछि खुलेर कुरा गरे । उनलाई स्वयमसेवकहरुले काठमाडौंको क्षेत्र नम्बर एकमा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र भएको बताए । पार्टीको घोषणापत्रका केही कुरा सुनाए । सुरुमा बोल्न नै हिच्किचाएका ती बृद्धले पुराना दलले केही पनि नगरेको गुनासो गर्दै विवेकशील साझालाई जितको शुभेच्छा दिए । उनले शुभेच्छा मात्रै दिएनन्, स्वयम्सेवकलाई नम्बर र नाम टिपाएर बिदा भए ।

स्वयमसेवकको टोली रवीन्द्र मिश्रलाई पर्खिरहेको थियो । त्यत्तिकैमा विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मिश्र आइपुग्नुभयो । मैतिदेवी चोकमा साग बेच्ने दिदीहरु लहरै बसेका थिए । त्यहीँबाट मिश्रको घरदैलो अभियान सुरु भयो । मिश्रले ती साग बेच्ने दिदीहरुसँग आफू त्यस क्षेत्रको उम्मेदवार भन्दै भोट माग्नुभयो । पार्टीका स्वयम्सेवकले ती दिदीहरुले साग जोख्न प्रयोग गर्ने तराजु नै पार्टीको चुनाव चिन्ह भएको बताए ।

विवेकशील साझा पार्टी आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाको चुनावको प्रचारप्रसारमा लागेको त धेरै नै भैसक्यो । ‘डिजिटल’ माध्यमबाट पार्टीले प्रचारप्रसार गरेको धेरै भैसक्यो । अरु दलको उम्मेदवारकै टुंगो लाग्न नसकेको अवस्थामा विवेकशील साझाले घरदैलो अभियानलाई तिब्रता दिएको छ । रवीन्द्र मिश्रले घरदैलो अभियान सुरु गरेकै १० दिन भैसक्यो । बिहानै ६ बजे घरबाट निस्कने उहाँ घरदैलो, अन्तरक्रिया, टेलिभिजन अन्तर्वार्तामा दिनभर व्यस्त हुनुहुन्छ ।

आइतबार पनि बिहान घरबाट निस्केपछि बानेश्वरतिरका स्थानीयसँगको अन्तरक्रियापछि उहाँ मैतिदेवी घट्टेकुलो क्षेत्रको घरदैलो अभियानमा हुनुहुन्थ्यो । त्यस क्षेत्रका प्रत्येक घरमा पसेर आफ्नो परिचय दिने र भोट माग्ने मात्रै होइन, बाटोमा रहेका पसलमा समेत पुगेर मतदातासँग भोट मागेको देखिन्थ्यो । 

‘नमस्कार, म रवीन्द्र मिश्र, काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको  उम्मेदवार ।’ मुस्कानसहित रवीन्द्र मिश्रको भोट माग्ने तरिकाले धेरैलाई प्रभावित बनाउँथ्यो । कतिपय त कार्यालय हिँडेकाहरु पनि सवारीसाधन रोकेर रवीन्द्र मिश्रलाई सुझाव, सल्लाह र शुभेच्छा दिइरहेका थिए । कतिपय त पसल बन्द गरेर रवीन्द्र मिश्रको प्रचारप्रसार अभियानमा हिँड्न तयार थिए ।

मतदातामा आशंका

विवेकशील साझा पार्टी र यसका उम्मेदवारप्रति मतदाता सकारात्मक भए पनि केही आशंका भने रहेको छ । कतिपय मतदाताले नयाँ पार्टीले पनि सत्तामा पुगुन्जेल मात्र नागरिकलाई आश्वासन बाँड्ने, त्यसपछि नागरिकलाई बिर्सिने परम्परालाई नै निरन्तरता दिन्छन् कि भन्ने चिन्ता देखाउँथे । 

बाटोमा रवीन्द्र मिश्रले मतदातालाई आफ्नो परिचय दिइरहँदा ‘हामी तपाईँलाई चिन्छौँ, तपाईँहरुजस्तो उम्मेदवारबाट हामीले धेरै आशा गरेका छौँ’ भन्नेहरु धेरै थिए । त्यसो त नयाँ पार्टी र नयाँ मान्छे भन्नेहरु पनि नभएका होइनन् । मैतिदेवीकै एकजना आमा प्लेकार्डमा भएको रवीन्द्र मिश्रको तस्बिर हेर्दै भन्दैहुनुहुन्थ्यो, ‘यी नौला मान्छे, खै चिनेको त होइन ।’ कतिपयले ‘तपाईँहरुको पार्टीको सिद्धान्त, विचार र दर्शन के हो ?’ भन्दै मिश्रसँग जिज्ञासा राखिरहेका थिए । 

त्यस्तै जिज्ञासा राख्नेमध्ये एक थिए, मैतिदेवीका इन्जिनियर सरद भट्टराई । ‘तत्काल नागरिकमा भएको आक्रोशलाई क्याच गरेर भोट त पाउनुहोला । तर त्यतिले मात्रै पुग्दैन । पार्टीलाई दीर्घकालीन रुपमा लैजाने हो भने पार्टीको विचार र दर्शन त हुनुप¥यो नि !’ भट्टराईको जिज्ञासामा मिश्रको जवाफ थियो, ‘तपाईँको कुरा एकदमै मनासिव छ । हाम्रो पार्टीले सहभागितामूलक लोकतन्त्रमा विश्वास गर्छ । पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टतालगायतका मान्यता नै हाम्रो पार्टीको मूल्य मान्यता हो ।’ मिश्रले नेपालका सबै पार्टीको विचार राम्रो भएको तर विचारै विचारको बहसले गर्दा देश बर्बाद भएको बताउनुभयो । विचार र आचरणको तालमेल नहुँदा पार्टीहरुमा राजनीतिक विचलन आएको उहाँको भनाई थियो ।

युवा पुस्ताको उल्लेख्य सहभागिता

रवीन्द्र मिश्रको चुनावी अभियानमा स्वतःस्फूर्त जोडिएका युवाहरु धेरै थिए । उनीहरु सामाजिक सञ्जालमा गरिएको आह्वानको भरमा मात्रै सहभागी भएका थिए । उनीहरुको मिश्रसँग दोहोरो चिनजान पनि थिएन । त्यस्तै स्वयमसेवी थिए, रौतहटका कृपेन्द्र हुमागाईँ । उनी भन्दै थिए, ‘रवीन्द्र सरसँग सानो भिडियो अन्तर्वार्ता लिएर जाउँ भनेर आएको । जसले गर्दा प्रत्यक्षमा उम्मेदवार नभए पनि रौतहटबाट समानुपातिकमा भोट माग्न सकियोस् ।’

कृपेन्द्र मात्रै होइनन्, चोक–चोकमा  मिश्रको घरदैलो अभियानमा जाडिन आउने युवाको संख्या बढ्दै थियो । मिश्रले पनि युवा पुस्तालाई प्राथमिकता दिँदै भेटिएका युवालाई भन्दै हुनुहुन्थ्यो, ‘देशलाई गाली गर्दै विदेश जाने स्थिति नआओस् भनेर नै हामीले उम्मेदवारी दिएका हौँ । तपाईँहरुको भविष्य कस्तो बनाउने भन्ने कुरा तपाईँकै हातमा रहेको छ ।’

त्यसो त मिश्रको प्रचारप्रसारमा आफूलाई अरु दलको कार्यकर्ता हुँ भन्नेहरुको पनि समर्थन देखिन्थ्यो । उनीहरु भन्दै थिए, ‘जुनसुकै पार्टीमा आस्था राखे पनि हामी राम्रो उम्मेदवारले जितोस् भन्ने चाहन्छौँ ।’ मैतिदेवीकै इनु अर्यालले मिश्रलाई नरिवलको प्रसादसहित जितको आशिर्वाद दिनुभयो ।

‘तपाईँले आफूले मात्रै होइन, सबैलाई भनिदिनुप¥यो । हामी देशका लागि केही गर्नै भनेर आएका हौँ ।’ मिश्रले मतादातालाई विश्वस्त पार्ने प्रयास गर्दै हुनुहुन्थ्यो । पार्टीको घोषणापत्रमा उल्लेख भएकै ‘व्यक्ति बन्ने तर देश नबन्ने’ कुरालाई मिश्रले बारम्बार दोहोर्‍याई रहनुभएको थियो । मिश्रले आफूहरुको यसपालीको उद्धेश्य भनेकै राष्ट्रिय दल बन्ने भएको बताउनुभयो । उहाँले यो पल्ट राष्ट्रिय दल बन्ने र अर्को पल्ट सरकारको नेतृत्व आफूहरुले नै गर्ने मतदाताहरुसँग बताउनुभयो ।

रवीन्द्र मिश्रको चुनावी अभियानमा उहाँका केही पूराना मित्रहरु पनि बाटोमा भेटिए । रवीन्द्र मिश्रले मतदातासँग आफूलाई चिनाउँदा प्रायःले हामी तपाईँलाई चिन्छौँ भन्ने जवाफ आउँथ्यो । टेलिभिजनमा देखेको मान्छेलाई प्रत्यक्ष देख्न पाइयो भन्दै खुशी हुनेहरु पनि थिए । कोहीकोही त ‘रेडियोमा सुनेको मान्छे हो नि तपाईँ’ भन्दै मिश्रलाई शुभकामना दिइरहेका थिए ।

घरदैलो अभियानकै क्रममा आइतबार डोटीमा मिश्र पढेकै विद्यालयमा पढेका एक जना व्यक्ति भेटिए । केही बेर दुबै जना अलमलिए । पछि ती व्यक्तिले मिश्रभन्दा आफू तीन ब्याच सिनियर रहेको बताएपछि मिश्रले पूराना दिन सम्झिए ।

यति बेला रवीन्द्र मिश्र एकदमै व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म मतदाताहरुसँगै बिताउने उहाँको दैनिकी बनेको छ । टोल–टोलका स्थानीय समस्यादेखि राष्ट्रिय योजनासम्मका छलफलमा मिश्र व्यस्त रहनुभएको छ । मिश्रको घरदैलो मतदाताको घर–घर मात्रै होइन, सागपसलदेखि किरानापसल हुँदै सुन पसलसम्म हुने गरेको छ । बाटोमा हिँडिरहेका व्यक्तिलाई पनि रोकेर उहाँले जहाँको मतदाता भए पनि यस पटक विवेकशील साझालाई सोच्ने हो कि भन्नुहुन्थ्यो ।

मतदाताबाट पाएको हौसलाले रवीन्द्र मिश्र आफूले जित्नेमा ढुक्क देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जसरी हरेक पार्टीका व्यक्तिहरूले आँट गरेर कार्यक्रममै सार्वजनिकरूपमा यो पटकको भोट तपार्इँ र तपाईँको पार्टीलाई  भनिरहेका छन्, त्यसबाट मानिसहरुको मन बदलिँदै गएको छ भन्ने प्रष्ट संकेत मिलेको छ ।’

तस्बिर साैजन्य : रवीन्द्र मिश्र

Ujyaalooline

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०७४     3:31:34 PM  |