भन्सार छलेर भित्रिएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा



नेपालगन्ज,१२ कात्तिक/  भन्सार छलेर मध्यरातमा नेपालगन्ज भित्रिदै गरेको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगन्ज भन्सारले सुईकोसम्म नपाई सिंगो ट्रक नै नेपालगन्ज भित्रनै लाग्दा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटेको प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएपछि विना भन्सार ट्रक नेपालगन्ज प्रवेश गरेको रहस्य खुलेको हो ।झण्डै ७० लाख रुपैयाँ मूल्य पर्ने मेसिन र त्यसका पार्टस भित्रिंदै गर्दा प्रहरीले शनिवार राति करीब ११ः३० बजेको समयमा यूपी ३६ टी ७३०७ नं.को भारतीय ट्रकलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।

प्रहरीले बरामद गरेको सो ट्रकको सामान कसको र कति रकम बराबरको भन्ने विषयमा अझै अनुसन्धान भइरहेकोले बताउन कठिन भएको संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जका प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए ।

प्रहरीले भन्सारबाट नेपालगन्जतर्फ आउँदै गर्दा महेन्द्र बहुमुखी क्याम्पस नजिक ट्रकलाई नियन्त्रणमा लिएको जानकारीमा आएको छ ।
सीमा क्षेत्रबाट महेन्द्र बहुमुखी क्यम्पससम्म नेपाल प्रहरी, सशस्त्र प्रहरीका विभिन्न चेकजाँचको पोष्टहरु छन् तर, कसरी विना भन्सार सिंगो ट्रक नै यहाँसम्म पुग्यो चिन्ताको विषय बनेको छ । Onlinekhabar

 

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १२ गते आइतबार