19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सुर्खेतमा माओवादीले सबै क्षेत्रमा उम्मेदवारी दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

१० कात्तिक, सुर्खेत/ वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्र सुर्खेतले सम्मानजनक रुपमा सिट बाँडफाँट नभए सुर्खेतका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

जिल्लाका २ वटै प्रतिनिधिसभा र चारवटै प्रदेशसभाका लागि उम्मेदवारी दिने निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।

बिहीबार सम्पन्न जिल्ला कार्यालय बैठकले आफूहरुले दिएको विकल्पका आधारमा सम्मानजक सिट नदिए सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले सम्मानजनक सिट बाँडफाँटका लागि भन्दै पार्टी हेडक्वाटरलाई समेत विकल्पसहित सुझाव दिएको छ ।

प्रदेश नं. ६ का १० जिल्ला मध्ये माओवादीको सबैभन्दा धेरै मत सल्यान र त्यसपछि रुकुम र सुर्खेतमा रहेको भन्दै हेडक्वाटरलाई सोही अनुसार सिट बाँडफाँट गर्न माग गरिएको एक नेताले बताए ।

माओवादीले सुर्खेतमा तीन विकल्पसहित दुईवटा सिट माग गरेको छ । क्षेत्र नं. १ र क्षेत्र नं. २ को प्रदेशको कुनै एउटा, क्षेत्र नं २ वा क्षेत्र नं. १ को प्रदेशको कुनै एउटा माग गरेको हो ।

यदि त्यो पनि सम्भावना नभए क्षेत्र नं. १ र क्षेत्र नं. २ को एक/एकवटा प्रदेशको सिटलाई माओवादीले विकल्पका रुपमा दिएको छ ।

आफूहरुले दिएका तीन वटा विकल्प अनुसार सिट बाँडफाँट नभए सबै क्षेत्रमा उमेदवारी दर्ता गरेर चुनावमा जाने माओवादीले पार्टी केन्द्रलाई चेतावनी समेत दिएको छ ।

माओवादी सुर्खेतका संयोजक कृष्ण जिसी भने आफूहरुले सम्मानजनक सिट माग गरेको भन्दै निर्णयबारे भने बोल्न चाहेनन् ।

‘हामीले सम्मानजनक सिट बाँडफाँटको माग गरेका छौं,’ उनले भने, ‘यस बाहेक अरु बोल्न चाहन्नँ ।’                     अनलाइनखबर

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     12:08:11 PM  |