23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

खाली भयो कोहलपुर चौराह बस्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

त्रासदिका विच बस्ती खाली गर्नु परेको पीडितको गुनासो

 

बस्ती खाली गर्नु भन्दा अघि (माथि) र बस्ती खालीपछि (तल) चौराहको बस्ती । तस्विर ः मिसन

भीम रावत, कोहलपुर, १० कार्तिक / मध्य तथा सुदूर–पश्चिमकै प्रमुख प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर चौराह आसपासमा सडक अतिक्रमण गरी वर्षौदेखि बसिरहेको बस्तीलाई कोहलपुर नगरपालिकाको पहलमा बिहिबार खाली गराइएको छ ।
कोहलपुर चौराहदेखि पूर्व, पश्चिम र उत्तरतर्फ २÷२ किलोमिटर फोरलेन सडक निमार्ण गर्न एडिबिको विकास कोषबाट डिपिआर समेत भइसकेकोले यथाशिघ्र अतिक्रमण गरी बसेको बस्तीलाई हटाउनु पर्ने भएको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बताए ।
रावतले ‘फोरलेनको सडक बन्ने डिपिआर तयार भएको र चौराहमा अव्यवस्थित रुपले टहरा बनाई सडक अतिक्रमण गरेको बस्तीले सडक निर्माणमा वाधा गर्ने भएकाले विकल्प विना नै उनीहरुलाई उठाउनु परेकोमा दुख लागेको तर यो वाध्यता भएको बताए’ ।
रावतले भने–‘नगर विकास समितिले बनाइरहेको ३८ वटा सटर न्यूनतम भाडादरमा उपलब्ध गराउने बारेमा कुरा भइरहेको र बुधबार सम्म सो बस्तीका ७२ जनाको नाम लिष्ट समेत बस्तीबाट प्राप्त भएको छ । तर त्यो पनि नगर विकास समितिको मापदण्ड र प्रक्रिया पूरा गरेर हुन्छ, त्यसको कुनै निश्चितता छैन, यही नै हो भनेर कुनै निश्चित विकल्प पनि दिइएको छैन’ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराईले बल प्रयोग विना नै शान्तिपूर्ण रुपमा बस्तीका बासिन्दा आफैले बस्ती खाली गरेकोप्रति सरहाना गर्दै बस्ती पूर्ण रुपमा शुक्रबारसम्म खाली हुने विश्वास गरे । भट्टराईले बस्ती खाली गराउन आवश्यक पर्ने सुरक्षा प्रवन्धको लागि नेपाल प्रहरीका १ सय ५४ जना र सशस्त्र प्रहरी बलका ७८ जना सहितको सुरक्षा व्यवस्था गरिएको समेत बताए ।
त्यस्तै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले सडकको क्षेत्राधिकार अतिक्रमण गरी बसेको बस्तीलाई खाली गर्न आवश्यक रहेकोले सो कार्यमा ट्राफिक प्रहरीले पनि समन्वयात्मक भूमिका निर्वाह गरेको बताए ।
उता बस्ती खाली गरिएपछि कोहलपुर चौराहको दक्षिणतर्फ १२ वर्षदेखि सिर्जना नास्ता पसल गरेर बसेका भिमाखर बस्यालको व्यथा भो बेग्लै छ । बस्यालले गहभरि आशु झार्दै भने–‘मेरो यो झुपडी बाहेको बस्ने बास र खाने गास केही पनि छैन, आफ्ना र आफन्त पनि कोही छैनन्, बुढाबुढी यही नास्ता पसलबाट पेट पाल्ने काम गर्दै आएका थियौ, आज खुला आकाश मुनि यही ठाँउमा रात बिताउनु पर्ने भो, भोलि कतै कोडा पाइन्छ कि खोज्नु पर्ला’ ।
त्यस्तै चौराहको पश्चिम–उत्तरपट्टि विगत १२ वर्षदेखि नास्ता पसल गर्दै आएका रेग्मी नास्ता पसलका थानेश्वर रेग्मीले आफ्नो सात जनाको परिवार चिया, नास्ता बनाएर पालेको, अब कसरी बाँच्ने हो भन्ने दुखेसो पोखे । रेग्मीले भने–‘सधै वर्षमा दुई तीन पटक बस्ती खाली गराउने भन्दै सूचना जारी गथ्र्यो, उठाउदैनथ्यो, यतिखेर पनि त्यस्तै होला जस्तो लागेको थियो तर उठाएरै छाड्यो’ । बजारका मानिसहरुले नगरपालिकालाई दवाब दिएर यो बस्ती उठाउन लगाएको रेग्मीको आरोप छ ।
त्यस्तै सोही ठाउँकी १७ वर्षदेखि पर्वत नास्ता पसल गर्लै आएकी गंगादेवी खत्रीले बस्ती उजाड गरेर नगरपालिकाले गरिबहरुलाई भोकै मार्न खोजेको आरोप लगाइन् । एकल महिला
समेत रहेकी खत्रीका श्रीमान २०५५ सालदेखि वेपत्ता रहेको र ५ जनाको परिवार नास्ता पसलमा जुठा भाँडा माझेर पाल्नु परेको व्यथा सुनाइन् । उनले भनिन्–‘हाम्रो पसल व्यापार संघमा दर्ता छ, मतदाता नामावलीमा पनि नाम छ, व्यापार संघको चुनावमा र स्थानीय चुनावमा जसलाई–जसलाई भोट हालेर जितायौ उनीहरु नै मिलेर हाम्रो उठिबास लगाए’ ।
बस्ती खाली गर्दै गरेका अधिकांशले आफूहरुलाई व्यवसाय गरेर बस्ने खाने कुनै विकल्प दिएको भए खुसीसँग खाली गरिदिन्थ्यौ तर आज डोजर र दमकलको त्रास देखाएर रुदै
छोड्न वाध्य भएको प्रतिक्रिया दिएका छन् । शुक्रबारसम्म बस्ती पूरै खाली हुने र शनिबार डोजरले ३१ मिटरसम्मको क्षेत्रलाई सम्याई व्यवस्थित गरेर ३१ मिटरभन्दा बाहिर एक साताभित्रै वृक्षारोपण गर्ने नगरकार्यपालिका सदस्य दिल बहादुर परियारले बताए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     11:44:41 AM  |