19 September 2021  |   आइतवार, अशोज ३, २०७८

शिविरबाट लिए सय बढीले स्वास्थ्य लाभ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४  

मिसन समाचारदाता,  कार्तिक १ , कोहलपुर नगरपालिकाको आयोेजनामा मंगलबार कोहलपुर नगरपालिका वडा नम्बर १ र २ को लागि कोहलपुर नगरपालिका–२ स्थित बर्दहवामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६५ जना महिला र ६४ जना पुरुष गरी १ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
कोहलपुर नगरपालिकाको वार्षिक कार्ययोजना अनुसार ७० वर्ष उमेर पुरा भएका वृद्धवृदाहरुका लागि नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । जसअन्तर्गत मंगलबार वडा नं.१ र २ का वृद्धवृद्धाहरुका लागि सञ्चालन गरिएको निःशुल्क शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउन कोहलपुर नगरपालिका–१ का ८८ वर्षिय जंगबहादुर रोकायले नगरपालिकाले निःशुल्क आफ्नो स्वास्थ्य परीक्षण गराई दिएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै वडा नं.२ की ९८ वर्षिय तुलसा वलीले पनि शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराएकी छन् । उनी मंगलबारको शिविरमा आएका जेष्ठ नागरिक मध्येकी सबैभन्दा जेष्ठ रहेको नगर स्वास्थ्यका कविराज निरीक्षक गौरीशंकर मण्डलले बताए ।
स्वास्थ्य परीक्षण गराएका वृद्धवृद्धाहरु प्रायःजसोमा हाडजोर्नी दुखाई, ग्याष्ट्रिक, प्रेसर, आँखा दुख्ने र आँखामा मोतिया विन्दु भएका विरामीहरु पाइएको स्वास्थ्य परीक्षणमा संलग्न विशेषज्ञ चिकित्सक डा. सुनिता सेढाइ र अनिल रेग्मीले बताए ।
उनीहरुले थप उपचार र परीक्षण गराउनु पर्ने अवस्थाका विरामीहरुलाई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर जान सल्लाह दिएको जानकारी दिए । मोतिया विन्दु भएका र तत्काल उपचार गराउन आवश्यक भएका विरामीहरुलाई छिटोभन्दा छिटो स्तरीय आँखा अस्पतालमा गई अप्रेशन गराउन समेत सल्लाह दिएको डा.सेढाइले बताइन् ।
उक्त स्वास्थ्य शिविरमा कोहलपुर नगर स्वास्थ्यका संयोजक धन रेग्मी र नेपालगंज मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुको टोलीले शिविरमा आएका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक १, २०७४     8:05:43 AM  |