19 September 2021  |   आइतवार, अशोज ३, २०७८

बर्दिया निकुञ्जमा तीन महिनामा ३३ लाख राजश्व संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४  

सुदीप अधिकारी बर्दिया, २४ असोज /  पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्ज घुम्नका लागि वाह्यसँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ ।
बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकबाट चालू आर्थिक वर्ष २०७४÷०७५ को तीन महिनाको अवधिमा रु ३३ लाख १ हजार ६ सय ९५ रकम राजश्व संकलन भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । संरक्षण अधिकृत थापाका अनुसार यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा निकै बढी हो ।
पछिल्लो तीन महिनाको अवधिमा आन्तरिक र बाह्य गरी २ हजार ९२ पर्यटकले निकुञ्ज भ्रमण गरेको बताइएको छ । जसमा आन्तरिक पर्यटक १ हजार ६ सय १९, सार्क मुलुकका ४० र ४ सय ३३ जना विदेशी पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन् ।
गत आर्थिक वर्ष २०७३÷०७४ मा ११ हजार ६ सय ९ आन्तरिक, ५ हजार ८ सय २७ विदेशी र सार्क मुलुकका ५ सय २३ गरी १७ हजार ९ सय ५९ पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । जसबाट ३ करोड १६ लाख ९७ हजार २ सय ६३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
केही वर्षयता निकुञ्जमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । बिदाको समय पारेर जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बाँके, सुर्खेत, दाङ्ग, कैलाली लगायतका जिल्लाबाट निकुञ्ज घुम्न आउने गरेको निकुञ्जले जनाएको छ । दशैंँ र तिहारको अवधिमा अझ बढी आन्तरिक पर्यटकहरु निकुञ्ज अवलोकनका लागि आउने गर्छन् ।
निकुञ्जमा जंगल सफारी नगर्नेहरु निकुञ्ज परिसरमा रहको गैँडा, हात्ती, चितुवा, गोही प्रजनन केन्द्र र थारु संग्राहलय अवलोकन गरेर मनोरञ्जन लिने गर्छन् । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजश्वमा पनि वृद्धि हुँदै गएको निकुञ्जले जनाएको छ । आजभोली दिनहुँ जसो निकुञ्जमा सजिलै बाघ देख्न पाइन्छ । निकुञ्जका अनुसार पछिल्ला वर्षहरुमा बर्दिया निकुञ्जमा बाघ, गैँडा, हात्ती लगायतकावन्यजन्तुहरुको संख्या बढ्दै गएपछि पर्यटकहरु पनि आर्कषित भएको बताइएको छ । नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको  रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाइ छ । निकुञ्ज घुम्ने उपयुक्त  समय सेप्टेम्बरदेखि अप्रिल महिनासम्म हो । पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडा लगायत
अन्य जनावरको संख्यामा वृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या  बढ्दै गएको निकुञ्जका निमित्त
प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।  पछिल्लो पटक वेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरु बताउँछन् ।
निकुञ्जमा स्वदेशी तथा विदेशीहरुका लागि हात्ती सफारी, जंगल सफारी, जंगल वाक, ¥याफ्टिङ्ग लगायतको सुविधा रहेको छ । बर्दिया निकुञ्ज तराईकै  सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो ।
हात्ती सफारी, जंगल सफारी, कर्णाली नदिमा ¥याफ्टिङ्ग, बबई नदीका  गोही र निकुञ्जको प्राकृतिक सुन्दरताले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको सिनियर नेचर गाइड रामबहादुर शाही बताउँछन् ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     11:09:40 AM  |