23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

भारतमा पक्राउ परेका देवनारायण रिहा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

असोज २१ । अपहरण मुद्दामा भारतीय कारागारमा परेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार रिहा भएका छन् ।

भारत, विहार राज्यको वीरपुरस्थित न्यायालयका सहायक न्यायाधीश अभिषेक रञ्जनको एकल इजलासले सामान्य तारेखमा उनीहरुलाई रिहा गरेको हो ।

गत शनिबार सीमा क्षेत्रमा रहेको कुनौलीबजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकाबेला देवनारायणका छोरा अजयलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसको भोलिपल्ट (आइतबार) छोरालाई छुटाउन गएका बुवा देवनारायणलाईसमेत प्रहरीले नियन्त्रणमा लिइ अपहरण मुद्दा लगाइ कारागार चलान गरेको थियो ।

देवनारायणका छोरा अजयले भारतको कुनौलीबजारकी ज्याती साहसँग करिब तीन महिनाअगाडि प्रेमविवाह गरेपछि विवाहविरुद्ध रहेका ज्यातीका परिवारजनले अपहरणसम्बन्धी मुद्दा दायर गरेका थिए ।

देवनारायण गत वर्ष सप्तरीको तिलाठीमा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसँग लडेका थिए ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     7:56:03 PM  |