20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

थापा र यादवलाई उपप्रधानमन्त्री बनाउने देउवाको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का मन्त्रीका कारण अहिले सरकार चलाउन गाह्रो पर्न थालेको छ । तीन दिनअघि माओवादीले एमालेसँग निर्वाचनमा मिलेर जाने र पार्टी एकीकरणसम्म अघि बढ्ने निर्णय गरेपछि सरकार समस्यामा परेको हो । सरकारको मुख्य समस्या अहिले आफू बहुमतमा छ कि छैन भन्ने नै हो । माओवादीले औपचारिकरूपमा सरकारको समर्थन फिर्ता नलिएको कारण देउवालाई संसद्मा बहुमत सिद्ध गर्नुपर्ने कानुनी अवस्था नभए पनि विपक्षी दलसँग चुनावी तालमेल र एकीकरणसम्मको वार्तामा बसेको माओवादीलाई सरकारमा कायमै राखेर अगाडि बढ्न उनलाई गाह्रो परेको हो ।

देउवा सरकारलाई लोकतान्त्रिक गठबन्धनका अन्य दलले समर्थन गरे भने उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । सो पुनर्गठनका लागि राप्रपाका अध्यक्ष कमल थापा तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता चलिरहेको र उनीहरूलाई सरकारमा सामेल गर्न सकियो भने महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीको पद दिने तयारी भएको छ ।

लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसको २०७, राष्ट्रिय जनता पार्टी नेपालको २५, नेपाल लोकतान्त्रिक फोरमको १८, संघीय समाजवादी पार्टीको १५, राष्ट्रिय प्रजातन्त्र पार्टीको १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को १८ गरी ३०२ सांसद रहने हिसाब गरिएको छ ।

अहिले संसदमा रहेका कूल सांसदमध्येबाट बहुमत पु¥याउन २९७ सांसदको समर्थन चाहिने र नेपाली कांग्रेसले घोषणा गरेको लोकतान्त्रिक गठबन्धनसँग स्पष्ट बहुमत पुगेको देखिएकाले प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् पुर्नगठन गर्ने प्रक्रियामा रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ । नागरिकका अनुसार सबै दलको समर्थन प्राप्त भयो भने देउवालाई मन्त्रिपरिषद् पुनर्गठन गर्न कुनै समस्या हुनेछैन । निर्वाचन घोषणा भइसकेको अवस्था भएको कारणले निर्वाचन आचार संहिताको समस्या देखिए पनि यसअघि राप्रपा (प्रजातान्त्रिक)बाट मन्त्री नियुक्त गरिएको नजिरका कारण सो समस्या पनि नपर्ने नागरिकले लेखेको छ ।

अन्नपूर्ण पोस्टले पनि लोकतान्त्रिक गठबन्धनमा सामेल हुनसक्ने दलहरूको गणना गर्दै अब हुने मन्त्रिपरिषद्मा राप्रपाका अध्यक्ष कमल थापा तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीको पद दिइने तयारी भएको समाचारलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाले भने आउँदो मंसीर १० गतेको प्रदेश सभाको निर्वाचन तथा मंसीर २० गतेको प्रतिनिधिसभाको निर्वाचनसम्म देउवा सरकारको निरन्तरता हुने समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाले माओवादी केन्द्रकी सचेतक रेखा शर्मालाई उद्धृत गर्दै माओवादी सरकारबाट नहट्ने र एमालेले पनि सरकार परिवर्तनको कुरा नउठाएको कारण अहिलेका अवस्थामा सरकार परिवर्तन नहुने भनेर लेखेको छ । त्यस्तै यो सरकारले अब निर्वाचन सार्छ कि भन्ने आशंकाको विषयमा पनि नेपाली कांग्रेसका सांसद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई उद्धृत गर्दै यो सरकारले निर्वाचन मिति सार्न नपाउने उल्लेख गरेको छ । Baahrakhari

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     10:17:42 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *