काठमाडौं, २० असोज – व्यवस्थापिका ससद बैठक आज बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ ।

संसद्को कार्यकाल सकिन दुई सातामात्र बाँकी रहँदा व्यवस्थापिका संसद्को आजको बैठकले विचाराधीन विधेयक पारित प्रक्रियालाई तीव्रता दिने भएकोे छ । संसद्ले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्वन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ । पछिल्ला बैठकमा दशभन्दा बढी विधेयक संसद्को दैनिक कार्यसूचीमा समेटिँदै आएका छन् ।

संसद् सचिवालय विधेयक शाखाका अनुसार २९ वटा विधेयक अहिले संसद् र समितिमा विचाराधीन छन् । संसदको आजको बैठकमा निर्वाचन विधेयक फास्टट्र्याकबाट पारित गर्ने कार्यसूची तय भएको छ । साथै राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक र राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयक दुवै पारित गर्ने तयारी रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै बैठकमा अन्तर सरकारी वित्त व्यवस्थापन, प्राकृतिक स्रोत तथा वित्त आयोग गठन विधेयक, कर्मचारी समायोजन विधेयक र राष्ट्रिय महिला आयोग विधेयक पनि पनि पारित गर्ने कार्यसूचीरहेको छ ।

त्यैसैगरी प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशको पारिश्रमिक सम्बन्धी विधेयक, उच्च र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सम्वन्धी विधेयक पनि सम्भावित कार्यसूचीमा रहेका छन् ।