20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘फूल खस्यो’ भन्दा अर्कै सुनेपछि भयानक दुर्घटना, तत्कालै गयो २३ जनाको ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

कहिलेकाहीँ मानिसले भनेका सामान्य कुराहरुले पनि निकै ठूलो परिणाम ल्याउँछन् । कहिलेकाहीँ ती परिणाम निकै भयानक हुन्छन् । यस्तै एउटा कुरा भन्दा अर्कै कुरा सुनेपछि २३ जनाको ज्यान जानेगरी भयानक दुर्घटना भएको खुलासा भएको छ ।

२९ नोभेम्बरका दिन भारतको सबैभन्दा बढी जनसंख्या भएको शहर मुम्बइको रेलवे स्टेशनमा भएको दुर्घटना पनि यस्तै कारणले भएको खुलासा भएको छ । यो दुर्घटनामा २३ जनाको ज्यान गएको थियो । दुर्घटनाकी एक प्रत्यक्षदर्शी युवतीले भनेअनुसार यहाँ एक जना मानिसले मराठीमा ‘फूल पडला’ (फूल खस्यो) भनेका थिए । तर सुन्नेहरुले ‘पुल पडला’ (पुल ढल्यो) भनेको सुने । पुल ढलेको खबर फैलिनेबित्तिकै पुलमा भएका मानिसहरुमा भागदौड मच्चियो । यही भागदौडमा २३ जनाको ज्यान गएको थियो ।

दुर्घटनाको जाँच गर्नको लागि ३ जनाको जाँच समिति बनाइएको छ । यो समितिले दुर्घटनाको कारण खोजिरहेको छ । यही समितिलाई प्रत्यक्षदर्शी शिल्पा विश्वकर्मा नामकी युवतीले यस्तो सनसनिखेज जानकारी दिएकी हुन् । शिल्पाले भनेकी छिन् ‘म सिढीको बीचमा थिएँ । माथिबाट पनि दबाब आइरहेको थियो र तलबाट पनि । पानी परिरहेको थियो जसका कारण ट्रेनबाट झरेका मानिसहरु पनि स्टेशनबाट बाहिर गएका थिएनन् । मानिसहरु नवरात्रको लागि तयार भएर आएका थिए र उनीहरु भिज्न चाहँदैनथे । ठूलो भीडको बीचमा एकजना फूलवाला पनि सिढीमा चिप्लिएर लडे । चिप्लिएर लड्नासाथ उनले चिच्याए ‘फूल पडला’ (फूल खस्यो) । त्यहाँ उभिएका सबैलाई लाग्यो पुल ढल्यो । त्यसपछि भागदौड मच्चियो ।’

भागदौडमा शिल्पा पनि पुलबाट खसेकी थिइन् । उनलाई पनि केही व्यक्तिले कुल्चेका थिए । तर, एकजना व्यक्तिले उनलाई भीडबाट बाहिर तानेर बचाए । दुर्घटनामा शिल्पाको हात खुट्टा र पेटमा चोट लागेको छ । शिल्पाका अनुसार उनलाई बचाउने व्यक्ति भने आफैं बाँच्न सकेनन् । उनी त्यही दुर्घटनाको शिकार भए । अहिलेसम्म जाँच समितिले शिल्पासहित २० जनाभन्दा बढी प्रत्यक्षदर्शीको बयान लिइसकेको छ । यी प्रत्यक्षदर्शीमध्ये चारजनाले शिल्पाले भनेको कुराको पुष्टि गरेका छन् ।       by enepalpost

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     9:53:41 PM  |