26 July 2024  |   शुक्रबार, साउन ११, २०८१

रिम्नाको आर्थिक आधार बन्दै पिकनिक स्पोर्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४  

कविन्द्र परियार कोहलपुर, १९ असोज/ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकाशं सामुदायिक वनहरुको आर्थिक स्थिति कमजोर भएपनि राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहकोे आर्थिक अवस्था भने त्यस सामुदायिक वनमा बनेको पिकनिक स्पोर्टका कारण सन्तोषजनक रहेको पाइएको छ ।
यस समुहले निर्माण गरेको पिकनिक स्पोर्टका कारण वार्षिक करिव डेढ लाख बराबरको आम्दानी हुने गरेको समुहका अध्यक्ष भाइराम वलीले बताए ।
‘अन्य सामुदायिक वनको आम्दानीको अवस्था हेर्दा हाम्रो सन्तोषजनक नै छ, कार्यालय सञ्चालन गर्न र कर्मचारीलाई तलव दिनसम्म पुगेको छ उनले भने’ । अर्का स्थानीय उपभोक्ता बुद्धिराम थारुले पिकनिक स्पोर्ट कारण समुहमा सन्तोेषजनक आम्दानी भएको र कार्यालय सञ्चालनमा सहजता भइरहेको बताए ।
अर्की स्थानीय उपभोक्ता टंककला थापाले पिकनिक स्पोर्टमा आउने पर्यटकको संख्या राम्रो भएको तर पछिल्लो समयमा नजिकै रहेको वनस्पति उद्यान शनिबार बन्द रहने हुनाले पर्यटकको संख्यामा कमी आएको बताइन् ।
यता वनस्पति उद्यानका कर्मचारी लिलाबहादुर केसीले भने शनिबारका दिन पर्यटक धेरै आउने र उद्यान भित्र रहेका बोटविरुवा भाँच्ने र कुल्चने गरेका कारण उद्यान बन्द गर्ने गरेको बताए । सो समस्यालाई मध्यनजर गर्दै उद्यानका कर्मचारीहरुसँग शनिबार पनि उद्यान खोल्ने विषयमा छलफल भइरहेको उपभोक्ता समितिले बताएको छ । २०६४ सालमा स्थापना गरिएको पिकनिक स्र्पोटमा आउने पर्यटकलाई मध्यनजर गर्दै सो क्षेत्रमा ६ वटा साना र ६ वटा ठूला गरी जम्मा १२ वटा गोलघर तथा प्रतिक्षालय निर्माण गरिएको छ भने खानेपानी तथा शौचालयको समेत राम्रो व्यवस्था मिलाइएको समितिका सल्लाहकार सिरधर उपाध्याय बताए । ‘स्र्पोटलाई अझ राम्रो बनाउन स्वागत गेट, पर्खाल, होडिङ्गवोर्ड लगायतका संरचनाहरु निमार्ण गरिने लक्ष्य रहेको छ’ उनले भने ।
पिकनिक आउने पर्यटकहरुका लागि विद्युत सेवाको समेत व्यवस्था गरिएको छ । पिकनिक स्पोर्टमा सेवाको प्रकृति हेरेर तीन सय, चार सय र पाँच सय प्रवेश शुल्क निर्धारण गरिएको छ । सो स्पोर्टको स्तरोन्नतिका लागि राप्तीसोनारी–९ को वडा कार्यालयबाट आठ लाख रुपैयाँ विनियनेजन गरिएको वडा नं.९का वडाध्यक्ष महाबिर वलीले जानकारी दिए । अहिलेसम्म कुनै पनि संघ संस्था तथा निकायले कुनै सहयोग नगरेका कारण सोचेजस्तो प्रगति गर्न नसकिएको र कहिँ कतैबाट सहयोग प्राप्त भएमा स्पोर्टलाई थप नमुना स्पोर्ट बनाउने उपभोक्त समितिले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज १९, २०७४     12:22:06 PM  |