6 March 2021  |   शनिबार, फाल्गुन २२, २०७७

बाम गठबन्धनको प्रभाव : नेपाली कांग्रेसले पनि थाल्यो लोकतान्त्रिक शक्तिबीच एकताको प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

१८ असोज,काठमाडौं / चुनावाको मुखमा एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेल र पार्टी एकतासम्मको प्रयास गर्ने तयारी थालेको छ । बाम गठबन्धनको घोषणा भएको दिनबाटै कांग्रेसले तालमेल र पार्टि एकताको प्रयास सुरु गरेको हो । त्यसका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरुले विभिन्न दलका नेताहरुलाई भेटेर कुराकानी गरिसकेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिबीच तालमेल र एकताबारे पहल भइरहेको बताए ।

सत्ता सहयात्री दल माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता सम्मको सहमति गरेपछि नेपाली कांग्रेस तालमेलदेखि भावी रणनीति तय गर्न लागेको हो । सहयात्री दल नै विपक्षीसँगको गठबन्धनमा लागेपछि ‘असहज’ महशुस गरेको कांग्रेसले उक्त गठबन्धनलाई अस्वभाविक गठबन्धनको संज्ञा दिइसकेको छ । यद्यपी कांग्रेस नेता डा प्रकाशसरण महतले एमाले–माओवादी गठबन्धनले कांग्रेसलाई थप उर्जा मिलेको प्रतिकृया दिए । डा महतले रातोपार्टीसँग भने, ‘यो घटनाले नेपाली कांग्रेसलाई थप बलियो बनाउने अवसर मिलेको छ ।’ बाम गठबन्धनपछि दुर्घटनाको संघारमा पुगेको कांग्रेस बलियो बन्नलाई अवसर मिलेको पनि नेता महतले बताए । उनले भने, ‘ नेपाली कांग्रेस फुटको संघारमा पुगेको थियो, अव यो घटनाबाट पाठ सिक्दै कांग्रेस आन्तरिक रुपमा बलियो र एकताबद्ध हुनेछ ।’

पछिल्लो राजनीतिक धु्रविकरणपछि कांग्रेसले आकस्मिक बैठक नै बोलाएको छ । बुधबार ११ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकमा छलफल गरेर आफ्नो रणनीति तय गर्ने उसले जनाएको छ । ‘बैठकमा लोकतान्त्रिक प्रजातान्त्रिक शक्तिसँगको कार्यगत एकतादेखि केही पार्टीसँग एकीकरणको प्रयासबारे समेत छलफल गर्नेछ’ नेता महतले भने, ‘बाम एकताको चर्चा सुरु भएसँगै फोरम लोकतान्त्रिक, फोरम नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग छलफल सुरु गरेका छौ, सायद छिट्टै निश्कर्षमा पुगिन्छ होला । कार्यगत एकतासहित सम्पुर्ण शक्ति लगाएर आगामी निर्बाचनमा होमिने नै प्रमुख लक्ष्य हुन्छ ।’

राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले पनि कांग्रेससँग चुनावी तालमेल र भविश्यमा पार्टी एकताबारे एक चरणको कुरा भएको स्वीकारे । सरकारका मन्त्री समेत रहेका थापाले कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरेपछि त्यसलाई औपचारिकतामा ढाल्ने लगभग सहमति भैसकेको पनि बताए । थापाले भने, ‘आज बस्ने कांग्रेसको बैठकले कार्यगत एकता र पार्टी एकताकाबारेमा प्रस्ताव ल्याउछ त्यसपछि हामी पुन छलफल गरेर अघि बढ्छौ ।’

कांग्रेसले तत्काल सरकार परिवर्तन हुने सम्भावना नभएकाले चुनावलाई नै केन्द्रीत गरेर भावी रणनीति तय गर्ने पनि जनाएको छ । नेता महतले माओवादी अध्यक्ष प्रचण्डले चुनावसम्म सरकार परिवर्तनमा नलाग्ने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्ट भनिसकेकाले चुनाव र त्यसपछिको अवस्थाका बारेमा छलफल केन्द्रीत हुने बताए । उनले देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थाल्नुलाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए । ‘हामीले यसअघि पार्टीका समसामायिक मुद्धामा आधारित भएर माओवादी केन्द्रसँग सहकार्य गरेका थियौ, त्यसमा लोकतन्त्र संस्थागत गर्ने लक्ष्य प्रमुख थियो र हामी त्यसमा इमान्दारिताकासाथ लाग्यौ तर माओवादी विचैमा अर्को गठबन्धन बनाउन लाग्यो यसले उसलाई कदापी फाइदा गर्दैन ।’ बाम गठबन्धनको साम्यबाद स्थापना गर्ने उदेश्य सफल नहुने भन्दै महतले अहिले त्यो अवस्था नरहेको टिप्पणी गरे ।          —               रातोपाटी

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     2:14:17 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *