23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

मानसरोवर जाने तिर्थयात्रीलाई सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४  

कोहलपुर, २६ जेष्ठ  / मानसरोबर जाने तिर्थयात्रीहरु चारदिनदेखि बाँकेमै छन् । जुन ९ अर्थात शुक्रबार पूर्णिमाको दिन मानसरोबर पुग्ने लक्ष्य राखेर आएपनि चारदिनदेखि नेपालगञ्ज र कोहलपुरका होटलहरुमा सास्ती खेप्न बाध्य भएका हुन् ।
मौसमको खराबीका कारण उडान प्रभावित भएपछि उनीहरुलाई समस्या भएको छ । भारत गुजरातका मुकेश दुबेले आफू जुन ५ मा आएपनि अहिलेसम्म जाने, नजाने टुंगो नलागेको बताए । उनले आफ्नो ‘फुल मुन’ हेर्ने धोको पूरा नहुने बताए ।
ट्राभल एजेन्सीको लापरबाहीले गर्दा आफूहरु अहिलेसम्म जान नपाएको उनले गुनासो गरे ।
आफूहरुलाई एजेन्सीले कुनै पनि कुरा स्पष्टसँग नभनेको उनले बताए । ‘एकजना एजेन्ट पनि छैन’ सेन्ट्रल प्लाजामा बसिरहेका उनले हिन्दीमा भने ‘हामीलाई यहाँ छाडेर गएको छ, कहिले जाने भन्ने टुंगो छैन ।’
बाँकेमा अहिले २ हजार बढी मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगञ्ज तथा कोहलपुरका होटलहरुमा बस्न बाध्य छन् । जसका कारण उनीहरु समयमा पुग्न सक्नेछैनन् नै समय पनि बर्बाद भएको छ । ‘जुन ६, ७ र ८ मा मानसरोबरमै बस्ने योजना थियो’ दिल्लीका सिताराम अग्रवालले भने ‘सबै योजना खेर गयो, बिदा पनि सकिन थालिसक्यो ।’ तिर्थयात्रीहरु होटल बसाई, खानपिन र दैनिक विमानस्थल आवतजावत गर्न बाध्य छन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     3:08:16 PM  |