20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

स्थायी जागिर छाडेर उपप्रमुखको उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४  

बर्दिया, १५ जेष्ठ / स्थानीय तहको दोस्रो चरणको चुनावी सरगर्मी बढिरहेको छ । गाउँ टोल बजारमा यतीखेर नगरमा प्रमुख उपप्रमखमा कुन पार्टीले जीत हात पार्ला भन्ने उत्सुकता बढिरहेको छ । यतीखेर राजनीतिमा सक्रिय भएका व्यक्तिहरु नगर प्रमुख–उपप्रमुख र गाउँपालिकाको अध्यक्ष– उपाध्यक्षको उम्मेदवार बनेर भोट माग्दै घरदैलो गरिरहेका छन् । संघ संस्था र सरकारी जागिरे भएकाहरु मध्ये पनि कोही जागिरै छाडेर उम्मेदवार बनेका छन् ।
बर्दियामा पनि यस्तै भएको छ । जागिर छाडेर नगरको उपप्रमुखको दौडमा लागेका मध्ये एक हुन् ठाकुरबाबा नगरपालिका–९ की वीना
भट्राई । अहिले उनी निकै चर्चामा छिन् । जागिर नै छाडेर उपप्रमुखको उम्मेदवार बनेपछि उनको चर्चा चलेको हो ।
उपप्रमुखको उम्मेदवार बनेकी भट्राई बर्दिया ठाकुरद्धारास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रम अन्तर्गत लैङ्गिक विकास सहायक पदमा जागीरे थिइन् । २० वर्षदेखि गर्दै आएको जागिर छाडेर उनी राजनीतिमा आएकी हुन् । भट्टराई नेकपा एमालेको तर्फबाट ठाकुरबाबा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार हुन् । पार्टीले उनलाई सर्बसम्मत उम्मेदवारी दिएको हो ।
समाजसेवा गर्ने मनशायले जागिर छाडेर चुनावमा होमिएको उनले बताइन् । परिवर्तन र मुलुकलाई सहि दिशामा लैजान महिला नेतृत्व अपरिहार्य रहकाले जागिर छाडेर आफु सक्रिय राजनितीमा लागेको उनको भनाई छ ।
समाजका प्रबुद्ध व्यक्ति, समाजिक व्यक्तित्व भएका अग्रजहरु, युवा तथा शुभचिन्तकहरुको सल्लाह बमोजिम उपप्रमुखको उम्मेदवार बनेको भट्राइले बताइन् । सामाजिक संस्थामा काम गरेकाले समुदायमा आफनो राम्रो परिचय रहेको उनको दावी छ । पार्टीले पनि सक्षम र नेतृत्व गर्न सक्ने महिला भएकाले उम्मेदवार बनाएको नेकपा एमाले ठाकुरबाबा नगरकमिटि संयोजक खगेन्द्र खनालले बताए ।
पत्नी उपप्रमुखको उम्मेदवार भएपछि उनका पती कृष्ण भट्राईले पनि सरकारी जागिरबाट राजिनामा दिएका छन् । पत्नीको प्रचारप्रसारमा हिड्नु पर्ने भएकाले जागिरबाट राजिनामा दिएको भट्राईले बताए । उनी शिक्षक पेसामा थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     1:07:56 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *