19 September 2021  |   आइतवार, अशोज ३, २०७८

दीपिकाको अन्तिम इच्छा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

चैत्र २१ / बलिउडकी अहिलेकी सर्वाधिक प्रिय नायिका हुन् दिपिका पादुकोण । ब्याक टु ब्याक हिट फिल्म दिइरहेकी दिपिकाको उचाइतिरको यात्राले रोकिने छाँट देखाएको छैन ।

पछिल्लोपटक त उनले भिन डिजेलसँग हलिउड फिल्म पनि खेलिन् । ट्रिपल एक्स सिरिजको पछिल्लो ‘द रिटर्न अफ जेन्डर केज’ मा दिपिका र भिनको केमेस्ट्रीको खुबै चर्चा पनि भयो । त्यसो त फिल्मले त्यस्तो उल्लेख्य रूपमा बक्सअफिस तताउन सकेन ।

अग्लो कदकी आकर्षक दिपिकाका लागि चाहने फ्यानको लर्को लामो होला । तर उनी आफैं चाहिँ के चाहन्छिन् होला ? प्रेमका मामिलामा त उनी यति बेला नायक रनवीर सिंहसँग नजिक रहेको मानिन्छ । भलै, दुवैले आफूहरूबीचको सम्बन्धलाई लिएर चल्ने गसिपमा आपत्ति र समर्थन केही जनाएका छैनन् ।

तर पनि ‘राम–लीला’ देखि ‘बाजीराव मस्तानी’ हुँदै ‘पद्मावती’ सम्म स्क्रिन सेयर गरेका रनवीर–दिपिका जोडी रियलमा पनि नजिक छ । भारतीय सञ्चारमाध्यममा हालैको अन्तर्वार्तामा दिपिकालाई सोधियो, ‘तपार्इंलाई मर्नुअघि गर्न मन लागेको महत्त्वपूर्ण एक चीज के हो ?’ अविवाहित ३१ वर्षीया नायिकाले सहजै भनिदिइन्, ‘मर्नुअघि मलाई गर्नै मन लागेको एउटा चीज भनेको धेरै बच्चाबच्ची हुन् भन्ने नै हो ।’ दिपिकाले विवाहपछि आफूलाई धेरै सन्तानको अभिभावक बन्न मन लागेको बताएकी हुन् ।

दिपिका सम्बन्धलाई लिएर गरिने गसिपलाई समेत इन्जोय गर्न रुचाउँछिन् । त्यसैले पनि कम विवादमा आउने उनीसँग केहीअघि भीनसँग चलिरहेको सम्भावित रोमान्सलाई लिएर पनि जिज्ञासा राखिएको थियो । उनले भनेकी थिइन्, ‘हेर्नोस्, बिनाआगो त धुँवा पक्कै निस्कँदैन ।’ त्यसपछि कतिपय मिडियाले दिपिका र रनवीर ब्रेकअपको चरणमा रहेको टिप्पणी गर्न समेत भ्याएका थिए । तरत्यो शंका पछि त्यसै हरायो ।

दिपिका भन्छिन्, ‘जे छ, सबै मेरो टाउकोमा छ । हो, म पनि सोच्छु, हामीसँगै छौं र दुईबीच अचम्मलाग्दो केमेस्ट्री पनि छ । हामी सँगै हुनेछौं र एक दिन भरभराउँदा हाम्रा बच्चाबच्चीहरू हुनेछन् । तर ती सबै मेरो दिमागमा मात्रै सीमित छन् ।’

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     2:32:50 PM  |