17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

घट्यो मानव अधिकार उल्लंघनका घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३  

कोहलपुर, ७ फागुन / नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा कमी आएको छ । सन् २०१५ को तुलनामा सन् २०१६ मा झण्डै २ हजारले मानव अधिकार उल्लंघनका घटनामा कमी आएको हो ।
सन् २०१५ मा मानव अधिकार उल्लंघनका घटनामा ६ हजार ३ सय ५७ जना पीडित थिए । जसमध्ये गैरराज्य पक्षबाट ५ हजार १ सय २२ र राज्य पक्षबाट १ हजार २ सय ३५ जना पीडित भएका थिए ।
सन् २०१६ मा ४ हजार ५ सय २ जना पीडित भएका छन् । जसमध्ये गैरराज्य पक्षबाट ३ हजार ७ सय ९१ महिला र ३ सय ५३ जना पीडित भए । त्यस्तै राज्य पक्षबाट ६२ महिला र २ सय ९६ पुरुष पीडित भएको तथ्यांक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको छ ।
नेपालगञ्जमा इन्सेकले शनिबार गरेको २५ आंै रजन अंकका रुपमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१६ को सार्वजनिकीकरण कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो ।
त्यस्तै इन्सेकका अनुसार मध्यपश्चिम क्षेत्रमा गैरराज्य पक्षबाट पीडित हुनेहरुमा १ महिला र २ पुरुष गरि ३ जना घाइते, बाल अधिकार हनन् ९२ महिला र १७ पुरुष गरि १ सय ९ जना, अमानवीय व्यवहार १ महिला र ३ पुरुष गरि ४ जना, अपहरण पुरुष २ जना, महिला अधिकार ४२३ जना, जातीय विभेद ७ महिला र १३ पुरुष गरि २० जना, कुटपिट ४ महिला र १९ पुरुष गरि २३ जना, धम्की पुरुष ६ जना, हत्या महिला ४५ र पुरुष ७ गरि ५२ जना प्रभावित भएका छन् ।
यसैगरी गैरराज्य पक्षबाट सन् २०१६ मा ५ सय ७३ जना महिला र ६९ पुरुष गरि जम्मा ६ सय ४२ जनाको मानव अधिकार हनन् भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इन्सेकले जारी गरेको तथ्यांक अनुसार सन् २०१६ मा राज्य पक्षबाट अमानवीय व्यवहार खेपेका ३ जना पुरुष, भेला संगठित हुने अधिकारबाट रोकिएका २२ जना पुरुष, १ जनाको जेलमा मृत्यु, ६ जनाको गिर्ततारी, हिरासत वा थुनामा १ जनाको मृत्यु, २ महिला र २७ पुरुष गरि २९ जनालाई यातना दिइएको, १ महिला र १३ पुरुषलाई कुटपिट गरिएको, १ जनालाई धम्की दिइएको गरि जम्मा ३ महिला सहित ७७ जना प्रभावित भएका छन् ।
बाँकेमा सन २०१६ मा जम्मा राज्यपक्षबाट १८ र गैर राज्यपक्षबाट ८५ वटा मानवअधिकार हननका घटना घटेका छन् । इन्सेकले दिएको जानकारी अनुसार गैरराज्य पक्षबाट बाँकेमा १ जना घाइते, बाल अधिकार हननमा १२ महिला, ३ पुरुष, अपहरणमा २ पुरुष, महिला अधिकार हनन्मा ४५, कुटपिटमा १ महिला र १२ पुरुष, २ जनालाई धम्की र ४ महिला तथा ३ पुरुषको हत्या भएको छ । यता राज्यपक्षबाट मेला तथा संगठित हुने अधिकारमा ४ पुरुष, ४ पुरुषको गिर्ततारी, ६ पुरुषलाई यातना र १ महिला र ३ पुरुषलाई कुटपिट गरिएको उल्लेख छ ।
बाँकेमा सन् २०१५ को मानव अधिकार उल्लंघनका घटनामा १ सय २३ महिला सहित १ सय ९८ जना पीडित भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इन्सेकका सदस्य कृष्णमुरारी भट्टको सभापतित्वमा भएको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि न्यायधिश कमल प्रसाद पोख्रेल, बाँकेका प्रमुख जिल्ला अधिकार रविलाल पन्थ, भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाह, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारीप्रसाद खरेल, अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, कानून व्यवसायी, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन इन्सेक क्षेत्रिय संयोजक भोला महतले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७३     11:58:21 AM  |