बर्दिया, २४ माघ/ बर्दियाको भुरिगाउँबजारमा जारी प्रथम बबई नगर महोत्सवको नवौँ दिन आइतबार महानायक राजेश हमालले युवा पुस्तालाई निकै नचाए । महोत्सवमा महानायक राजेश हमाल आउने भएपछि यहाँ युवाहरुको निकै भिडभाड थियो ।
अलि सबेरै राजेश हमाल आउने भनिएपनि उनी दिउसो ३ बजे महोत्सव स्थल आएका
थिए । जिन्स रफ पाइन्ट र कलेजी ज्याकेटमा मञ्च उक्लीएका हमाललाई दर्शकले ताली र चिच्चाहटले स्वागत गरेका
थिए । खासै नाच्ने मुडमा नरहेका हमाललाई नाच्न दर्शकले बाध्य पारेका थिए । ‘साथीका लागि यो हात सलाम हो । दुश्मनका लागि यो हात फलाम हो’ भन्ने निकै चर्चीत डाललग बोलेर प्रस्तुती सुरु गरेका नायक हमालले स्टेज छाडेर दर्शक सामु आएर नाचेका थिए ।
बद्री पंगेनीले गाएको चर्चित गीत ससुरालीमा…. बोलको गीतमा नाच्दा दर्शकहरुले निकै हुटिङ्ग गरेका थिए । उनी नाच्दै गर्दा युवायुवतीहरु मञ्चको अगाडी आएर खुबै नाचेका थिए । महानायकसँगै नाच्न पाउँदा युवायुवतीहरु निकै मख्ख
देखिन्थे । महानायकसँग नाचेर रमाइलो गरेका दर्शकहरुलाई लोक गायक बद्री पंगेनीले भने एक छिन रुवाँए । निकै मर्मस्पर्शी गीत ‘ यसपाली पनि आउँदिन आमा’ बोलको गीत गाउँदा महोत्सव हेर्न आएका बृद्धबृद्धाहरुको आखा आशुले रसाएका थिए । परदेशी छोराको पिडाँ संगालिएको उक्त गीत पंगेनीले बृद्धबृद्धा भएकै स्थानमा गएर गीत गाउँदा परदेशमा रहको छोरा सम्झेर आमाहरु रोएका थिए । मन थाम्न नसकेर बृद्धबृद्धाहरुले बद्री पंगेनीलाई अंगालेर आशु झारेका थिए ।
बद्री पंगेनीले ‘लाउँ चेली सिन्दुर लाउँ’ बोलको गीत गाउँदा दर्शकहरु एक छिन स्तब्ध भएका थिए । विधुवा महिलासँग सम्बन्धीत उक्त गीत सुन्दा दर्शकहरु मौन भए । लोक गायक पंगेनीले स्वाधिनता र नेतालाई लक्षित गरि गाएको ‘मिल केपी प्रचण्ड मिल देउवा दाई’ बोलको गीत गाउँदा दर्शकहरु उफ्रउफ्र नाचेका थिए । पंगेनीले युवाहरुको मनमनमा बसेको ‘तिम्रो साथमा रातो पछ्याउरी’ बोलको गीत गाउँदा युवा जमात निकै उफ्रेका थिए । ‘खान्न म त पिडाँलु कोक्याउने ’र ‘च्यान कुटी च्यान कुटी झ्याई ’बोलको गीत गाउँदा दर्शकहरु मञ्च अगाडी आएर बेस्सरी नाचेका थिए ।
महानायक राजेश हमाल र चर्चीत लोक गायक बद्री पंगेनीले प्रस्तुती गर्दा महोत्सवमा स्थलमा निकै भिडभाड देखिन्थ्यो ।
हजारौंको संख्यामा महानायक राजेश हमाल र बद्री पंगेनीको गीत सुन्न र मनोरञ्जन गर्नका लागि आइतबार बर्दियाबासीहरु महोत्सवमा उत्रिएका थिए । राजेश हमालले नाच्दा स्वयमसेवकलाई भिड थाम्नै हम्मे हम्मे परेको
थियो । म्युजिक भिडियो र टेलिभिजन पर्दामा मात्र कलाकारलाई देखेकाहरु प्रत्यक्षरुपमा देख्न पाउँदा निकै उत्साहित बनेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २४, २०७३