18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३  

सुदीप अधिकारी
बर्दिया, असोज ६
बर्दियाको गुलरिया नगरपालिका वडा नं. १ खैरापुरका कृषकहरुले आफनो क्षेत्रलाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै बुधबार सदरमुकाम गुलरियामा प्रदर्शन गरेका छन् ।  किसानहरुले हात हातमा सुकेको धानको बोट लिएर सुख्खा क्षेत्र घोषणाको माग गर्दै गुलरिया नगर परिक्रमा गरी जिल्ला कृषि विकास कार्यालय बर्दिया पुगेका कृषकहरुले सुख्खा क्षेत्र घोषणाको माग गरेका हुन् । आकाशे पानीको भरमा खेती गरिने यस क्षेत्रमा यसबर्ष प्रर्याप्त वर्षा नभएकोले सुख्खा खडेरी हुँदा धानबाली सखाप भएको भन्दै सुख्खा क्षेत्र घोषणाको माग गरेको किसानहरुको भनाई छ । यस वर्ष खडेरीले मुख्य खेती धानबालीको उत्पादनमा ज्यादै नै ह्रास हुने भएकोले वडा नागरिक मञ्चको निर्णयअनुसार सुख्खा क्षेत्र घोषणाको माग गरिएको वडा नागरिक मञ्चका संयोजक प्रतापकुमार गौतमले बताए ।

dhan-1

सुख्खाले धान सखाप भएको भन्दै किसानहरुले सरकारसँग राहत र क्षतिपूर्ति माग गरेका छन् । खडेरीले गुलरिया नगरपालिका वडा नं १ का ८ सय ५५ जना कृषकले लगाएको १ हजार १ सय ५१ बिगाह क्षेत्रफल जग्गामा धान बाली नोक्सान भएको किसानहरुको भनाई छ । सुख्खा क्षेत्र घोषणा गरी राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै गुलरिया नगरपालिका वडा नं. १ का वडा संयोजक प्रतापकुमार गौतमको नेतृत्वमा कृषकहरुले जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र गुलरिया नगरपालिकामा माग पत्र बुझाएका छन् । सुख्खा क्षेत्र भएको स्थान अनुगमन गरी सक्दो सहयोग कृषि विकास कार्यालयबाट प्रदान गर्ने र ठूलो राहत तथा सहयोगका लागि मन्त्रालय र विभागमा सहयोग सिफारिस गरिने भन्दै जिल्ला कृषि विकास कार्यालय बर्दियाका बरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले कृषकहरुलाई आवश्वासन दिएका छन् ।

प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३     12:43:34 PM  |