23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

मप विश्वविद्यालय स्ववियु निर्वाचनमा १४८० मत खस्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३  

सुर्खेत भदौ १३
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पहिलो पटक आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान सम्पन्न भएको छ । विहान करिब ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ६ बजेपछि सम्पन्न भएको थियो । चार बजेपछि मतदान स्थल प्रवेश गरेका विद्यार्थीहरुले साँझ ६ बजेसम्म मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार एक हजार चार सय ८० जना मत खसेको छ । विश्वविद्यालयका जम्मा एक हजार ६ सय ९३ जना मतदाता भएकोमा त्यसको ८६.४१ प्रतिशत मत खसेको हो । निर्वाचन समितिका अनुसार बुथ नं. १ अर्थात व्यवस्थापना संकायबाट पाँच सय ८६ मत खसेको छ । यस्तै मानविकि र शिक्षा संकायका लागि निर्माण गरिएको बुथ नं. २ बाट चार सय ४४ र इनिजनियरिङ, विज्ञान र शिक्षा शास्त्र संकायका लागि निर्माण भएको बुथ नं. ३ मा चार सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । मत गणना अहिले साँझ नै हुनेछ । देशकै पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेलामा मध्यपश्चिम विश्वविद्यालयमा निर्वाचन हुँदा त्रिविलाई समेत दवाव बढ्ने विश्लेषण गरिएको
छ । स्ववियुको नेतृत्व हत्याउनका लागि पहिलो पटक हुन लागेको निर्वाचनमा मप विश्वविद्यालयमा विभिन्न ८ वटा विद्यार्थी संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् । त्रिविले मिश्रित प्रणालीमा निर्वाचन गर्ने तयारी गरेपनि कार्यान्वयन नगरेकाबेला मप विश्वविद्यालयले भने मिश्रित प्रणालीमै निर्वाचन गराउन लागेको छ । यो प्रणाली अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष र सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट हुँदैछन । जसका लागि विभिन्न ८ संगठनबाट ६९ जनाले प्रतिस्पर्धा गरेका छन् । बाँकी पदमा संठनले प्राप्त गरेको मतको आधारमा छनौट गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा सहभागी आठ वटा संठनमध्ये तीन वटाले मात्रै प्रत्यक्षतर्फको १० सीटमा उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी), नेकपा (एमाले) निकट अनेरास्वविय र नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघले मात्रै प्रत्यक्षतर्फका सबै १० सिटमा उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्षमा झक्कबहादुर शाही, सचिवमा सन्तोषकुमार उपाध्याय र कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेदवारी दिएका छ भने अखिलबाट अध्यक्षमा प्रभात पोख्रेल सचिवमा भरत शाहरु र कोषाध्यक्षमा अनु आकुराले उम्मेदवारी दिएका छन ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अध्यक्षमा भरतप्रसाद दाहाल, सचिवमा नविनप्रसाद जैसी र कोषाध्यक्षमा कमला शाही, नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा तिर्सना हमाल, सचिवमा उमेश शाही र कोषाध्यक्षमा पुष्करदेव गिरी, अखिल ९छैठौ० बाट अध्यक्षमा शिल्पा रावल, सचिवमा टेकबहादुर वि।क। र कोषाध्यक्षमा भूमिका थापा उम्मेदवार बनेका छन । अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा भीमबहादुर कठायत र कोषाध्यक्षमा शुद्धधन रोकामगर उम्मेदवार बनेका छन भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट आदित्यराज उपाध्यायले अध्यक्ष, नवराज गिरीले सचिव र गणेश थापाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । ८ वटा संगठनहरु प्रतिस्पर्धामा उत्रिएपनि खास प्रतिस्पर्धा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्वियुबीच देखिएको छ ।

प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३     12:00:29 PM  |