24 March 2023  |   शुक्रबार, चैत्र १०, २०७९

मप विश्वविद्यालय स्ववियू निर्वाचन १२ गते हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३  

गोविन्द देवकोटा
सुर्खेत, भदौ ९
बुधबार अर्थात भर्दा ८ गते हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भदौ १२ गते हुने सहमति भएको छ । यसअघि मंगलबारको बैठकमा १३ गते हुने सहमति जुटेपनि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारीले असहमति जनाएपछि निर्वाचन मितिका लागि पुनः बुधबार छलफल भएको थियो । बुधबार विभिन्न विद्यार्थी संगठनका केन्द्रीय नेता र विश्वविद्यालयबीच बसेको बैठकमा भदौ १२ गते निर्वाचन गर्ने सहमति भएको विश्वविद्यालयका रजिष्टार डा महेन्द्रकुमार मल्ले जानकारी दिए । बुधबार साँझ विश्वविद्यालयको विस्तारित कार्यालयमा भएको पत्रकार सम्मेलनमा रजिष्टार मल्लले पहिलो पटक हुन लागेको ऐतिहासिक स्ववियू चुनावमा सबै संगठनहरुलाई आबद्ध गराउने उद्देश्यले पहिले तोकिएको मितिमा हुन नसकेको स्वीकार गरे । ‘पहिलो र ऐतिहासिक रुपमा स्ववियूको निर्वाचन गर्न गइरहेका छौ,’ उनले भने, ‘त्यसैले पहिलो पटक नै कुनै संगठनलाई रुष्ट बनाउँदै निर्वाचन गर्दा बाहीर संदेश राम्रो नजाने भएका कारण निर्वाचन मिति सारिएको हो ।’ सबैको सहमतिमा निर्वाचन सम्पन्न गर्दा करिब एक दशकदेखि स्ववियू निर्वाचन गर्न नसकेका विश्वविद्यालयहरुलाई समेत निर्वाचन गर्न दबाव पुग्ने भएकोले मिति सार्नुपरेको उनले उल्लेख गरे । पहिले सारिएको १३ गतेको मितिमा समेत बिवाद हुँदा १२ गते निर्वाचन गर्ने सबैको सहमति भएकोले अब सोही अनुसार अगाडि बढ्ने मल्लले बताए ।  नयाँ निर्वाचन समिति गठन  विद्यार्थी संगठनहरुको असन्तुष्टीका कारण स्ववियू निर्वाचन सम्पन्न गर्नका लागि इन्जिनियरिङ संकायका निमित्त डिन अनन्तराज घिमिरेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले पहिलेको निर्वाचन समितिले निश्पक्ष रुपमा निर्वाचन गरान नसक्ने भन्दै नयाँ समिति गठनको माग गरेको र तोकिएको समयमा निर्वाचन गर्न नसक्दा समितिका संयोजक गणेशबहादुर कार्कीले संयोजक पद्बाट मंगलबार राजीनामा दिएका थिए । बुधबारको बैठकले संयोजक कार्कीको राजीनामा समेत स्वीकृत गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
नयाँ गठित निर्वाचन समितिको सदस्य सचिवमा मानविकी तथा सामाजिक शास्त्र केन्द्रीय क्याम्पसका क्यापम्स प्रमुख आनन्दप्रसाद सुवेदी रहेका छन् । त्यसैगरी सदस्यहरूमा व्यवस्थापन केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख वीरबहादुर पौडेल, सहायक क्याम्पस प्रमुख अमृत शर्मा गैरे, शिक्षाशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद आचार्य र सहायक क्याम्पस प्रमुख विक्रमबहादुर खड्का र विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद चपाई रहेका छन् । स्ववियू निर्वाचनका लागि पछिल्लो पटक तोकिएको १२ गतेको मितिमा अब कुनैपनि संगठनले असहमति जनाएपनि सोही मितिमा निर्वाचन सम्पन्न गर्नमा विश्वविद्यालय प्रतिबद्ध रहेको रजिष्टार मल्लले बताए ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७३     9:35:30 AM  |