23 June 2021  |   बुधबार, असार ९, २०७८

व्यवस्थित गर्न माग गर्दै चालक र व्यवसायी आन्दोलित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३  

कोहलपुर, साउन १८
कोहलपुर क्षेत्रका ई–रिक्सा, टेम्पो मजदुर र ब्यवसायीले आफूहरुलाई ब्यवस्थित गर्न माग गरेका छन् । ई–रिक्सालाई यातायात ब्यवस्था कार्यालयमा दर्ता गर्ने नीति ल्याउन माग गर्दै उनीहरुले दुर्घटना न्यूनिकरणका लागि ई–रिक्सा र चालक अनुमति पत्रको ब्यवस्था गर्न माग गरेका हुन् । ई–रिक्सा र अटो–रिक्सा ब्यवसायीले कालो प्लेटमा दर्ता हुन चाहने ई–रिक्सालाई यातायात ब्यवस्था विभागमा दर्ता गरी रुट परमिट प्रदान गर्न माग गरेका छन् । रातो प्लेटमा दर्ता भएका ई–रिक्साले राज्यलाई राजस्व ठगिरहेको बताउँदै उनीहरुले ट्रायल र मौखिक परीक्षा लिएर चालक अनुमति पत्र प्रदान गर्न माग गरेको नेपाल यातायात मजदुर संघ कोहलपुर इकाईका अध्यक्ष गोपाल नेपालीले बताए । ई–रिक्सा चलाउने मध्ये ९९ प्रतिशत गरिव र निरक्षर भएकोले लिखित परीक्षा नलिन माग गरेको उनले बताए ।
ई–रिक्सा र टेम्पो पार्किङ्ग स्थल नहुँदा सडक र पेटीमा पार्किङ्ग गर्न बाध्य भएको मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालले बताए । उनले बस, टेम्पो र मिनि बस पार्किङ्ग गर्न सरकार, सडक विभाग र नगरपालिकाले गरेझैँ ई–रिक्सा पार्किङ्ग गर्ने ब्यवस्था आधिकारिक निकायबाट गर्न माग गरिएको बताए । आफूहरुले आफैलाई ब्यवस्थित गराइयोस् भन्दा पनि राज्य मौन बसेको बताउँदै उनले माग सम्बोधनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थमार्फत प्रधानमन्त्री, गृहमन्त्री र यातायात ब्यवस्था मन्त्रीलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । ई–रिक्सा ब्यवस्थित नहुँदा सडक जाम, सडक दुर्घटना र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ई–रिक्सा ब्यवसायीले आफूहरुको माग राज्यले नसुने चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोहलपुर क्षेत्रमा मात्र ४ सय वटा ई–रिक्सा र ५० वटा अटो रिक्सा रहेको खनालले बताए । उनले ई–रिक्सा र अटो रिक्सालाई ब्यवस्थित गराउन माग कार्यान्वयनका लागि मंगलबारदेखि आन्दोलनका कार्यक्रम सुरु हुने जानकारी प्रमुख जिल्ला अधिकारी पन्थलाई गराए । उनले आज (मंगलबार) कोहलपुर चौराहदेखि त्रिभुवन उच्च माविसम्म ई–रिक्सा एबम् टेम्पोहरुले एकसाथ हर्न बजाउने कार्यक्रम निर्धारण भएको बताए । उनका अनुसार साउन २० गतेदेखि २५ गतेसम्म विरोध स्वरुप कालो झण्डा टाँगेर ई–रिक्सा र अटो रिक्सा संचालन गर्ने कार्यक्रम तय भएको छ । साउन २७ गते विहान १० बजेदेखि ११ बजेसम्म एकघण्टा नेपालगन्ज–कोहलपुर सडक खण्डमा ई–रिक्सा र टेम्पो उभ्याएर चक्का जाम गर्ने कार्यक्रम छ । त्यसपछि पनि माग पूरा नभए साउन २९ गते विहान १० बजेदेखि १२ बजेसम्म ई–रिक्सा र टेम्पो कोहलपुर चौराहमा खडा गरी चक्काजाम तथा साउन ३२ गते कोहलपुर वरपरको पूर्व–पश्चिम राजमार्ग एवम् उत्तर–दक्षिण राजमार्ग विहान ७ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गरिने मजदुर संघका अध्यक्ष नेपालीले जानकारी दिए । साथै अझैं माग पूरा नभए बाँके जिल्लामा संचालन गरिएका सम्पूर्ण इ–रिक्सा तथा टेम्पो चालक, व्यवसायीहरुको संयोजनमा भदौ २ गतेदेखि कडा आन्दोलनका कार्यक्रमहरु तय गरिने उनीहरुले बताएका
छन् ।

प्रकाशित मितिः मङ्लबार, साउन १८, २०७३     11:55:15 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *