तिलक गाउँले
कोहलपुर, साउन १४
बाँकेमा राप्ती नदीको डुवानबाट विस्थापित बाढीपीडितहरु घर फर्कन थालेका छन् । १० साउन रातीदेखि भएको निरन्तरको वर्षाले बाँकेमा करिब २ हजार घरहरु डुबानमा परेका थिए । बर्षा थामिएको र घाम पनि लागेकाले बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य तर्फ उन्मुख हुन थालेको छ । पानीको सतह क्रमशः घट्न थालेपछि विस्थापित भएकाहरु घर फर्किन थालेका बाँके प्रशासनले जनाएको छ । पानीको सतह घटेपछि पीडितहरुले घरमा भिजेका अन्नपात, लत्ताकपडा सुकाउन थालेका छन् ।
मङ्गलबारको बाढीले होलिया, गंगापुर, वेतहनी, मटेहिया, कचनापुर र खासकुश्मामा गरी १ हजार ९ सय ९२ घर डुवानमा परेका थिए । जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिलो चरणको राहत उपलब्ध गराएको छ ।
डुबानबाट प्रभावित गाविसमध्ये गङ्गापुर क्षेत्रका बासिन्दाका लागि समितिले ‘ड्राई फुड’ उपलब्ध गराएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । अधिकांश डुबान प्रभावित आफन्तको घरमा आश्रय लिएर बसेका प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १४, २०७३