23 September 2023  |   शनिबार, अशोज ६, २०८०

प्रकोपजन्य रोगहरुको बारेमा अभिमुखिकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३  

कोहलपुर, असार २९
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले पब्लिक प्राइभेट सेन्टरमा कार्यरत पारामेडिकल र मेडिकल प्राक्टीसनहरुलाई प्रकोपजन्य रोगहरुको बारेमा सोमबार नेपालगन्जमा अभिमुखीकरण सम्पन्न गरेको छ । खासगरी प्रकोपको बेलामा निजीस्तरका अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले पनि आफ्नो दायित्व सम्झेर प्रकोपजन्य रोगहरु नियन्त्रणमा काम गर्नु पर्ने बताइएको छ ।
रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले प्रकोपका समयमा विभिन्न रोगहरु महामारीको रुपमा फैलिने बताउँदै त्यसको पूर्वतयारीका लागि देशका ५ वटै क्षेत्रमा रहेका क्षेत्रीय मेडिकल स्टोरमा औषधी मौजुदा रहेको उल्लेख गरे । उनले सम्बन्धित सबै निकायसंगको सहकार्यलाई पहिलेको भन्दा राम्रो बनाइएको भन्दै आवश्यक परेको खण्डमा सबैको सहयोग लिने गरेको बताए ।
कार्यक्रममा रोटरी इन्टरनेशनल नागर्जुनका पूर्व अध्यक्ष प्रदीपसिंह ठकुरीले हैजाका विषयमा जानकारी दिँदै हैजाविरुद्ध खोप संचालन गर्न थालिएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बाँके जिल्लामा महामारीको तयारीबारे जानकारी गराएका थिए । उनले प्रकोपजन्य महामारी हुन गएमा औषधी पनि स्टोर रहेको र अन्य योजनासहितको तयारी रहेको बताए । सम्बन्धित निकायसंगको सहकार्य बाँकेमा अत्यन्तै राम्रो रहेकोले थप सहयोगका लागि समेत समस्या नहुने उनले जानकारी दिए । यसैवीच जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले हैजाविरुद्ध खोप संचालन गर्ने भएको छ ।हैजाबाट अतिप्रभावित मानिएको बाँकेको उढरापुर र सोनपुरमा खोप संचालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ५ मा पनि उक्त खोप संचालन गरिने छ । रोटरी इन्टरनेशनल कोरियाको सयोगमा संचालन हुन गइरहेको हैजाविरुद्धको खोप आगामी साउनदेखि शुरु गरेर भदौमा सम्पन्न गर्ने कार्यक्रम रहेको चन्दले जानकारी दिए । बाँकेमा करीब २७ हजार जनसंख्यालाई उक्त खोप दिन लागिएको हो ।
एक खोपको झण्डै २ सय रुपैयाँ पर्ने हैजाविरुद्धको खोपले ५ वर्षसम्म काम गर्ने जनाइएको छ । जनस्वास्थ्य निरीक्षक चन्दले २ पटकमा अभियानको रुपमा संचालन गरिने खोप ५४ हजार डोज रहेको बताए । पहिलो पटक हैजाविरुद्धको खोप संचालन गर्न लागिएको हो । यसको लागि तयारी गरिरहेको जिल्ला जनस्वास्थ्य, कार्यालय, बाँकेले जनाएको छ । उढरापुर, सोनपुर र नेपालगन्ज–५ मा विगतमा हैजाको महामारी देखिएकाले ती ठाउँ छनौटमा परेको बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३     2:11:01 PM  |