28 February 2021  |   सोमवार, फाल्गुन १७, २०७७

राज्यले बाचा पूरा गरेनः मुक्तकम्लहरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३  

भगतराम थारु
कोहलपुर, असार १४
सरकारले मुक्तकम्लहरी घोषणा गरेको ३ बर्ष वितिसक्दा पनि राज्यले गरेको वाचा पूरा नगरेको मुक्तकम्लहरीहरुले गुनासो गरेका छन् । मुक्तकम्लहरी विकास मञ्च बाँकेको आयोजनामा सोमबार भएको तेश्रो मुक्त कम्लहरी दिवस बाँकेमा मनाईरहँदा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कम्लहरी राख्न नपाइने र मुक्तकम्लहरीको १० बुँदे माग सम्बोधन गर्ने निर्णय राज्यले घोषणा गरेको तीन वर्ष वितिसक्दा समेत सुनवाई नगर्दा आफूहरुले पाउने सेवा सुविधा समेत नपाएको उनिहरुको गुनासो रहेको छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले असार १३ गते राज्यले मुक्तकम्लहरी घोषणा गरेपनि अझै कार्यन्वयन नहुँदा आफु दुखी भएको बताए । राज्यले कम्लहरी मुक्त घोषणा गरेसंगै कुनैपनि सरकारी कर्मचारीले कम्लहरी राखेको पाइएमा अरुको तुलनामा दोब्बर जरिवाला लागू गरिएको बताए । मुक्त कम्लहरी उद्दार तथा उनीहरुको पुनस्र्थापनाका लागि राज्य लागिपरेको प्रजिअ पन्थको भनाई छ ।
राज्यले गरेको १० बुँदे सम्झौतामा ४÷५ बुँदे माग मात्र सम्बोेधन गरेको मुक्त कम्लहरी विकास मञ्च बाँकेकी अध्यक्ष दिल कुमारी चौधरीले बताइन् । राज्यले ३ बर्ष पहिले गरेको मुक्तकम्लहरी घोषणा दिवस मनाईरहँदा आफुहरु एकदमै खुसी रहेको जिकिर गरिन् । घोषणा दिवस मनाईरहँदा एकातिर खुसी भएपनि राज्यले मुक्तकम्लहरीलाई वेवास्ता गरेकोमा दुःखी समेत भएको अध्यक्ष चौधरीको भनाई छ । पहिले मुक्तकम्लहरीहरुले अरुको घरमा दासताको जिवन बिताइरहेपनि राज्यले मुक्तकम्लहरीको पनि सुनवाई गरेको आभारी रहेको अध्यक्ष चौधरीले बताइन् । घोषणा गरेको ३ बर्ष पुग्दा समेत राज्यले मुक्तकम्लहरी कार्ड उपलब्ध नगराउँदा पाउने सेवा सुविधाबाट समेत बञ्चित हुन परेको उनले बताए । राज्यले बेपत्ता पारिएका मुक्तकम्लहरीको छानविन गरि सार्वजनिक गर्ने भने पनि अझै सार्वजनिक नगरेको कारण आफुहरु बारम्बार आन्दोलनमा समेत उत्रिन बाध्य भएको अध्यक्ष चौधरीको भनाई छ ।
दिवसकै अवसरमा सोमबार नेपालगन्जको धम्बोझी चोकबाट निस्केको ¥याली विपी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड हुदै न्युरोडको स्वष्टिक होटलमा पुगी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।  हाल नेपाल अधिराज्यभर कुल १२ हजार ७ सय मुक्त कम्लहरीको उद्दार गरिएको छ भने ३ सय जना मुक्तकम्लहरीको उद्दार हुन बाँकी रहेको मुक्त कम्लहरी विकास मञ्च बाँकेले जनाएको छ । बाँकेमा हाल ६ सय ५० मुक्तकम्लहरी मध्ये २० जना मुक्त कम्लहरीहरुको अझै उद्दार हुन बाँकी रहेको आयोजकले जनाएको छ । दिवसकै अवसरमा २०७२ सालको एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएको भन्दै अञ्जु थारु र टिकारानी थारुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, असार १४, २०७३     8:19:58 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *