27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

यसकारण पर्छ मिर्गौलामा पत्थरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२  

-जया प्रधान, पोषणविद्

kidney stoneमिर्गौला एवंम् पित्ताशयमा हुने पत्थरीको प्रमुख कारण मौसम, पिसाब नलीमा हुने संक्रमण र वंशाणुगत भएपनि खानालेसमेत यसमा ठूलो प्रभाव पारेको हुन्छ । प्रायः वयष्क महिलामा भन्दा पुरुषमा यो समस्या बढी पाइन्छ । घाममा बढी समय काम गर्दा पसिना निस्कन्छ । साथै, गर्मी मौसममा कम पानी सेवन गरेमा पिसाब थोरै लाग्छ । जसले गर्दा पिसाबमा लवणहरू जम्मा भएर पत्थरको रुप लिन थाल्छ ।
वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड हुनाले पनि मिर्गौलामा पत्थर बन्ने सम्भावना बढी हुन्छ । पत्थर बन्न मद्दत पु¥याउने तत्वहरू खानाबाट प्रशस्त प्राप्त भएमा पनि यो समस्या आउन सक्छ । क्याल्सियम, फस्फोरस जस्ता तत्व मानिसलाई आवश्यक भए पनि पत्थर बन्ने प्रवृत्ति भएको शरीरका लागि भने यसले नकारात्मक प्रभाव पार्न सक्छ ।
एक चोटि पत्थरी बनेपछि बराबर बनिरहने हुनाले सरल र बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थ छनोट गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।
साधारणतया मिर्गौैलामा क्याल्सियम, अक्जालेट र युरिक एसिड गरी तीन प्रकारका पत्थर हुन्छन् । मिर्गौलामा बन्ने ९० प्रतिशत जति पत्थरमा प्रमुख रुपमा क्याल्सियम तत्व र एमोनियम, म्याग्नेसियम, फोसफेट, अक्जालेट, कार्बोनेटका लवण हुन्छन् । कहिलेकाहीँ शरीरमा भिटामिन ए कमी तर डी बढी भई प्याराथाइराइडको कार्यमा गडबडी हुँदा पनि पत्थरी हुने अध्ययनले देखाएको छ ।
प्रायः अक्जालेट पत्थर खस्रो, कडा र सुकेको रगत जस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो र कडा हुन्छ । यसैगरी फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ । पत्थर पिसाब नलीमा अड्केमा वा पत्थरको आकार ठूलो भई निस्कन नसकेमा असैह्य पीडा हुने, पिसाब बाक्लो तथा रातो हुने, पिसाबमा रगत देखा पर्ने, संक्रमण हुने, ज्वरो आउने, बान्ता हुने लक्षण देखा पर्छ । यस्तो भएमा सम्बन्धीत डाक्टरलाई देखाइ आवश्यक परामर्श लिनुपर्छ ।
मिर्गौलामा पत्थर बन्ने प्रवृति छ भने बारम्बार दोहोरिएर  दुःख दिइरहने भएकाले त्यस्ता व्यक्तिले दैनिक खानपानमा विशेष सावधानी अपनाउनु पर्छ । कतिपय पत्थर खानामा भएका तत्वहरूको असन्तुलनबाट बन्ने हुनाले ती तत्वहरू भएका खाद्यपदार्थ पहिचान गरी परहेजमा रहनुपर्छ । यस प्रकारको पत्थरको समस्यालाई नदुख्ने औषधि सेवन गरेर केही समय पीडा हटाएपनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ ।
पौष्टिक दृष्टिकोण र पत्थर रोगबाट पीडित हुँदा समाधानका लागि गरिएको व्यक्तिगत अनुभवलाई दृष्टिगत गर्दा कतिपय खाद्यपदार्थ यस्ता छन्, जसले मिर्गौलामा पत्थर बन्नबाट रोक्न तथा नियन्त्रण गर्न मद्दत पु¥याएका छन् । यस समस्या समाधानको प्रमुख उपाय प्रशस्त मात्रामा शुद्ध पानी तथा झोल पदार्थ सेवन गर्नु र पत्थर बन्न सहयोग पु¥याउने तत्वहरू क्याल्सियम, फस्फोरस, प्युरिन, अक्जालेट, चिल्लो पदार्थ बढी भएको खाद्यपदार्थहरू दैनिक भोजनमा परहेज गर्नु नै हो ।
पानी तथा झोल पदार्थ बढी सेवन गर्नाले कसैकसैको पत्थर निस्कन सक्छ । यसरी निस्केको पत्थर प्रयोगशालामा जाँची कुन प्रकारको हो भनेर पहिचान गरेर त्यसै अनुरुप खान हुने र नहुने खाद्यपदार्थ छनोट गर्न सकिन्छ । यस्तो स्थितिमा केही निश्चित खाद्यपदार्थ मात्र भोजनमा परहेज गर्नुपर्ने हुन्छ । तर पत्थर पहिचान गर्न नसकेमा धेरै प्रकारका खाद्यपदार्थ वञ्चित गर्दा पौष्टिक तत्व अभावमा स्वास्थ्यमा झन् प्रतिकुल असर पर्न सक्छ ।
समस्या पहिचान गरी दैनिक भोजनमा फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ आउदैन । यदि सानो आकारको छ भने पिसाबबाट निस्कन सक्छ । भोजनमा फेरबदल गरेर मिर्गौलामा पत्थर बन्ने कामलाई भने नियन्त्रण र कम गर्न सकिन्छ । दैनिक उचित खाद्यपदार्थ बाहेक शरीरले आवश्यक पानी र झोल पदार्थ पाएको छ भने मिर्गौलामा पत्थर बन्न पाउदैन ।
शरीरमा आवश्यक मात्रामा पानी छ भने मिर्गौलाले दूषित पदार्थ छानेर पिसाबबाट बाहिर फाल्ने काम गर्छ । शरीरमा पानी कमी छ भने दूुषित पदार्थ फ्याँक्न नसक्दा ठोसरुपमा परिणत भई एक आपसको प्रतिक्रिया बाट पत्थर बन्छ । त्यसकारण दैनिक अन्दाजी दुई लिटर पिसाब शरीरबाट फ्याँक्ने हिसाबले प्रशस्त पानी पिउन सकेमा यो समस्या समाधान गर्न सकिन्छ ।
पत्थरको समस्या भएकाले पिसाबको रंग हेरी दैनिक पानीको परिमाण बढाउन सकिन्छ । यदि पिसाब गाढा पहेँलो छ भने पानीको मात्रा वा थप झोल पदार्थको मात्रा बढाउनु पर्ने हुन्छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२     12:51:31 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *