नेपालगन्ज, १० फागुन ः
नेपालगन्जमा संचालन गरिएको प्रसुती केन्द्रको सुधार योजनाका लागि २ दिने कार्याशाला गोष्ठि सोमवार सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थय कार्यालयको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा जिल्लामा संचालन गरिएको रिचिंग द अनरिच कार्यक्रम अन्तर्गत सो कार्याशाला गोष्ठिको आयोजना गरिएको थियो ।
जिल्लाका १५ वटा सरकारी स्वास्थ्य संस्थाका इन्चार्ज र प्रसुतीगृहका अनमीको सहभागिता रहेको सो कार्यशालाले कार्यक्रमको हालसम्मको समिक्षा गर्दै सोही आधारमा आगामी ६ महिनाको योजना समेत निर्माण गरेको छ ।
कार्याशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका जनस्वास्थ्य प्रशासक डा. विनोद कुमार गिरीले कुनै पनि कार्यक्रमको समिक्षानै महत्वपूर्ण भएको जनाउदै राम्रो समिक्षा र सोही आधारमा तयार गरिएको भावि योजनाले कार्यक्रम सफल पार्न अहम भूमिका खेल्ने बताउनु भयो ।
राम्रो टिमवर्कका साथै उचित ब्यबस्थापन र रेखदेखबाटै स्वास्थ्य संस्थाहरु राम्ररी संचालन हुने हुँदा त्यसमा ध्यान दिन उहाँले बिशेष जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै जनस्वास्थ्य अधिकृत सरोज कुमार शाहले स्वास्थयको क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी अरु भन्दा फरक हुने भएकाले गम्भीर र संवेदनशील भएर काम गर्न आग्रह गर्नु भयो ।
बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले कार्यक्रमले गर्दा स्वास्थ्य संस्थामा पहुँच नभएका मधेशी र मुस्लिम समुदायका महिलाहरुको पहुँच बढेको बताउनु भयो ।
मनिकापुर स्वास्थ्य चौकीका इन्चार्ज रमेश कोइरालाले बाँके युनेस्को क्लबको सहयोगपछि स्वास्थ्यचौकीमा उपकरण लगायतको सहयोग हुँदा काम गर्न सहज भएको बताउनु भयो ।
सोनपुर स्वास्थ्य चौकीका अनमि चम्फा श्रेष्ठले बिगतको समिक्षाको आधारमा निर्माण गरिएको भावि योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्याशालाको सहजीकरण परिवार नियोजन सुपरवाइजर बसन्त गैरेले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्