अण्डकोष सुन्निने समस्या छ छैन ?



WESLEY WARREN Low DSC 0019.jpg

जिज्ञासाः मेरो दाहिने अण्डकोष बेला–बेलामा सुन्निने गर्छ । प्रायः जाडोमा सुक्ने र गर्मीमा बिस्तारै सुन्निने गर्छ । यस्तो भएको एक वर्षभयो । अण्डकोष सुक्दै जाँदा बिरामी भएजस्तो हुने र फुक्दै जाँदा स्वस्थ भएको अनुभव हुने गर्छ । यसरी अण्डकोष सुन्निदा दुख्दैन । हातले थिच्दा बिस्तारै सुक्दै जाने र थिच्न छाडेपछि फेरि बढ्दै जाने गर्छ । यस प्रकारको समस्याको समाधानको उपाय बताइदिनुभए मलगायत मेरा साथीहरु पनि आभारी हुने थियौं ।


 

उत्तरः अण्डकोष र अण्डकोष थैली कतिपय व्यक्तिले अण्डकोष र अण्डकोष थैली वा स्क्रोटम  दुवै एकै कुरा हुन् भन्ने ठान्छन् तर वास्तवमा कुरा त्यसो होइन । अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कुरा थाहा नभएको कारणले स्क्रोटममा भएको समस्यालाई पनि अण्डकोषको समस्या ठान्ने गर्छन् । तर कुरा त्यसो नहुन सक्छ ।

अण्डकोष पुरुषमा भएको एक प्रमुख प्रजनन अंग हो । शुक्रकीट र पुरुषत्व प्रदान गर्ने हर्मोनको उत्पादन यहीँ हुन्छ । यो लिंगको फेदनिर झुन्डिएको छालाको पातलो थैलीभित्र हुन्छ । लगभग १०-११ वर्षो उमेरबाट अण्डकोषको विकास सुरु हुन्छ र यसको विकासले व्यक्ति किशोरावस्थामा प्रवेश गरेको संकेत गर्छ । किशोरावस्थाभरि नै यो निरन्तर बढ्ने क्रम चल्छ ।यसको आकार अलि चेप्टो अण्डाकारको हुन्छ ।

सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अंगको आयतन सरदर ४x३x२.५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य कुरा हो । मानिसको स्वरुप र उचाइ फरक(फरक हुने भएझैँ अण्डकोषको आयतन तथा आकार व्यक्तिअनुसार फरक-फरक हुन्छ । दुबै अण्डकोष पनि समान आकार वा आयतनको नहुन सक्छ र यसमा केही भिन्नता हुनु सामान्य कुरा हो । त्यसैगरी दुवै अण्डकोष पनि समानरुपमा झुन्डिएको नभई एक अण्डकोष केही माथि र अर्को केही तल हुन सक्छ । यो पनि अस्वाभाविक होइन ।

अण्डकोष एक पातलो छालाको थैलीमा हुन्छ । यही थैलीलाई नै अण्डकोष थैली अर्थात् अंग्रेजीमा स्क्रोटम  भनिन्छ । मूलतः अण्डकोष थैलीको काम भनेको अण्डकोषलाई सुरक्षा प्रदान गर्नु हो । त्यसको अलावा यसको एक विशेष कार्य हुन्छ, त्यो हो अण्डकोषको तापमानलाई नियन्त्रण गरेर राख्ने अर्थात् वातानुकुलित पार्ने । अण्डकोषले तापक्रम मिलाउँछ अण्डकोष थैलीका काममध्ये अण्डकोषको तापक्रम मिलाउनु एउटा विशेष काम हो । त्यसैले यसले एयर कन्डिसन को जस्तो काम गर्छ । अर्थात् यसले वातानुकुलित पार्ने कार्य गर्छ । जाडो समयमा खुम्चिएर यसले अण्डकोषलाई न्यायो बनाइराख्छ भने गर्मीमा लत्रक्क परी झोल्लिएर शीतल राख्न मद्दत गर्छ । तपाईंले केहीबेर अण्डकोष थैलीलाई हेरिरहनुभयो भने यो बिस्तारै भए पनि चलायमान हुन्छ, ताकि चिसो बनाइराख्न सकियोस् । यो एक सामान्य प्रक्रिया हो ।

कतिपयले यसैलाई पनि कुनै खराबी हो कि भनेर चिन्ता लिने गर्छन् तर चिन्ता गर्नु आवश्यक छैन । यो सामन्य अवस्था हो ।यसलाई किन वातानुकुलित बनाउनु आवश्यक हुन्छ भन्ने जिज्ञासा पनि हुन्छ । वास्तवमा शुक्रकीट उत्पादनको लागि अण्डकोषको तापक्रम हाम्रो शरीरको भन्दा केही कम हुनु उत्तम हुन्छ । त्यसैले यसलाई केही कम तापक्रममा राख्न प्रकृतिले नै यस किसिमको विशेष व्यवस्था अपनाएको हुन्छ । त्यसैले अण्डकोष थैली (अण्डकोषलाई छोपेर राख्ने छालाको थैली )सधैँ एकै आकारको भने हुँदैन भन्ने कुरा बुझनपर्छ ।

अण्डकोष थैली किन ठूलो हुन्छ ?

तपाईंले बेला(बेलामा दाहिने अण्डकोष सुन्निने कुरा उल्लेख गर्नुभएको छ । कुन-कुन बेला वा कस्तो शारीरिक अवस्थितिमा यो बढी वा कम सुन्निने गर्छ भन्नेबारेमा बढी जानकारी भएको भए जवाफ लेख्न सजिलो हुने थियो । तपाईंले अण्डकोष भनेर उल्लेख गर्नुभए पनि अण्डकोष नै सुन्निएको कुरा गर्नुभएको हो वा अण्डकोष थैली ठूलो भएर आएको हो भन्ने कुरा छुटयाउनु एकदमै आवश्यक छ । तपाईंको पत्रमा भएको स्थितिलाई केलाउँदा अण्डकोष थैली सुन्निएको जस्तो बुझिन्छ र विशेष गरेर तलका अवस्थामध्ये कुनै एक भएको हुन सक्ने सम्भावना भएकोले त्यसैको बारेमा चर्चा गरौं ।

जन्मजात नै हुने हाइड्रोसिल उभिँदा ठूलो भएर आए पनि सुतेपछि बिस्तारै सानो हुँदै जान्छ । तर हातबाट केही दबाब दिँदैमा तुरुन्तै सजिलै यसमा भएको रस निख्रिँदैन ।यस किसिमको अवस्थामा अण्डकोष थैलीको छाला हदा वा छाम्दा खुजमुज परेको स्थिति  कम भएको अनुभव गर्न सकिन्छ । तर यसमा कुनै नसा सुन्निएको जस्तो भने हुँदैन । यदि निकै सुन्निई ठूलो भएको अण्डकोष थैलीमा अँध्यारो स्थानमा बसेर सानो र्टच बाली हदा अर्धपारदर्शी देखिन्छ ।

भ्यारिकोसिल भएको अवस्था अर्को स्थिति हो । यसो हुँदा रक्तनसा सुन्निन गई अण्डकोष थैली नै केही बढ्न गएको हुन सक्छ । अण्डकोषबाट रगत फर्काउने रक्तनसाहरु फुल्न गई यस्तो हुने गर्दछ । यो प्रायजसो तरुण तथा नव वयष्कहरूमा हुने गर्छ । यो प्रायः बायाँतिर हुने गर्छ ।यसले ठण्डा मौसममा बस्ने व्यक्तिलाई भन्दा गर्मी मौसममा बस्ने व्यक्तिलाई बढी पिरोल्ने गर्छ । पुड्का मानिसको तुलनामा अग्ला तथा पातला मानिसमा यस्तो अवस्था बढी देखिन्छ । कतिपय अवस्थामा कुनै खास लक्षण नै अनुभव गर्न सकिंदैन । तर केही व्यक्तिले अण्डकोषको क्षेत्रमा केही तानिएको जस्तो महसुस गर्न सक्छन् । यसलाई छाम्दा ‘गडयौलाको पोका’ जस्तै अनुभव हुन्छ । यो उभिएको अवस्थामा देखिए पनि पल्टिँदा वा सुतेको अवस्थामा हराउँछ ।

अण्डकोष थैलीलाई भरथेग गर्ने विधि सुरुमा अपनाउन सकिन्छ । पीडा भइरहेमा, सन्तान प्राप्तिमा यसैले नै असजिलो पारेको वा अण्डकोष सुक्न थालेको स्थितिमा भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्छ ।के यसले यौनजीवनमा असर पार्छ रुअण्डकोष थैली केही मात्रामा ठूलो हुँदैमा यौनजीवनलाई कुनै नकारात्मक असर गर्दैन । तर अण्डकोष थैली निकै ठूलो भएको स्थितिमा र शारीरिक रुपमा दैनिक जीवनयापन गर्न नै गाह्रो हुने स्थितिमा यौनजीवनमा पनि त्यसको केही असर पर्ने कुरा नकार्न सकिन्न ।

भ्यारिकोसिलकै कुरा गर्ने हो भने पनि सामान्यतया समस्या चर्को छैन भने यसले यौनजीवनमा असर गर्दैन । तर अण्डकोष थैलीको कार्य अण्डकोषलाई शीतल बनाइराख्नु हो । सामान्यतया अण्डकोषमा मलद्वारको भन्दा २।५ ड्र्रिी सेल्सियस कम तापक्रम हुने गर्छ । तर भ्यारिकोसिल भएको स्थितिमा यो तापक्रमको फरक निकै कम अर्थात् ०।१ ड्र्रिी सेल्सियस हुन सक्छ । यसो भन्नुको अर्थ लगभग शरीरको तापक्रमको हाराहारीमा नै अण्डकोषको तापक्रम पुग्न सक्छ । यस्तो स्थितिमा शुक्रकीटको उत्पादनको लागि वातावरण उत्तम हुँदैन र त्यसको नकारात्मक प्रभाव शुक्रकीटको उत्पादनमा पर्न सक्छ । यस्तो स्थितिमा प्रजनन क्षमतामा ह्रास आउन सक्छ ।

प्रजनन क्षमता यौनजीवनको महत्त्वपूर्ण पक्ष हो । समाधानको उपाय पत्रमा उल्लेख गरिएका सीमित जानकारी र शारीरिक तथा अन्य परीक्षणको अभावमा तपाईको समस्या यही नै भनेर यकिन गर्न गाह्रो हुन्छ । समस्याको निदान नगरी उपचार वा समाधानको कुरा गर्न त्यसै मिलेन । यहाँ सम्भावित स्थितिका बारेमा मात्रै चर्चा गरिए पनि अण्डकोष थैली सुन्निने अन्य अवस्थाहरू अनि अण्डकोष आफैं नै ठूलो हुने विभिन्न अवस्थाहरू पनि हुन्छन् । अण्डकोषको विभिन्न संक्रमणदेखि टयुमरहरूसम्म यसका कारक हुन सक्छन् भन्ने कुरा बुझनु जरुरी छ । समस्याको समाधानको लागि र्सवप्रथम चिकित्सकसँग परीक्षण गराउनुहोस्, ताकि समस्याको सही पहिचान हुन सकोस् । शल्यचिकित्सकलाई जँचाउनुभए बेस हुन्छ । समस्याको पहिचान भएपछि त्यसैअनुरुप उपचारको क्रम अघि बढाउन सकिन्छ ।

डा। राजेन्द्र भद्रा, साप्ताहिकबाट

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार