मंसिर १६, २०७२- मधेशी मोर्चाका कार्यकर्ताले बुधबार दिउँसो रुपैडिहा नाकामा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् । उनीहरुले दशगजा र भारतीय भूमिबाट आधा दर्जन पेट्रोल बम प्रहार गरेका हुन् । भारतीय सुरक्षा अधिकारीहरुले मोर्चाका कार्यकर्तालाई आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको आधा घण्टा बित्न नपाउदैं पेट्रोल बम प्रहार भएको हो ।
ढुंगा र पेट्रोल बम प्रहारबाट ४ सुरक्षाकर्मी घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट लगातार पेट्रोल बम प्रहार गरिरहदा भारतीय सुरक्षाकर्मी रमिता हेरेर बसेका थिए ।
बुधबार दिउँसो भारत बहराइचका उपजिल्लाधिकारी अमिताब यादब, सिओ भरत यादब र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतसहितका दुबै देशका सुरक्षा अधिकारीको समन्वयमा दशगजाबाट आन्दोलनकारी हटाउने सहमती भएको थियो । इलाका प्रहरी कार्यालय जमुनाहामा छलफल टुंगिएको आधा घण्टापछि मोर्चा कार्यकर्ताले भारतबाट नेपालतर्फ आइरहेको ना २६ प १९७३ नम्बरको मोटरसाईकल रोक्न खोजे । सन्तुलन बिग्रिएर चालक होमनाथ आचार्य लडेपछि उनलाई उद्धार गर्न गएको प्रहरी टोली माथि दशगजामा बसेका मोर्चा कार्यकर्ताले ढुंगा प्रहार सुरु गरेका हुन् ।
जिल्ला प्रहरी बाँकेका डिएसपी भिमकिरण बोगटीले त्यसपछि लगातार सुरक्षाकर्मीमाथि दशगजा क्षेत्रबाट ढुंगा र पेट्रोल बम प्रहार भएको बताए । पेट्रोल बम नपडकएपनि आगो र ढुंगा लागेर ४ प्रहरी घाइते भएको उनले जानकारी दिए । प्रहरीले लखेटेपछि मोर्चाका कार्यकर्ता भारतीय क्षेत्रमा रहेको सीमान्त इन्टरकलेजको पर्खालभित्र गएर लगातार पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । मोर्चा कार्यकर्ता र प्रहरीबीच दिउँसो ३ बजेबाट झडप सुरु भएको थियो । १ घण्टासम्म भएको झडपले नाका तनावग्रस्त भएको थियो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) सीमामै तैनाथ भएपनि रोक्ने प्रयास नगरेको भन्दै फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले घटनापछि एसएसबीसमक्ष आपत्ति ब्यक्त गरेका छन् । झडपको एकघण्टापछि एसएसबीले माइकिङ गरेर दशगजा र आफ्नो भुमि छाडन मोर्चा कार्यकर्तालाई दबाब दिएको थियो । त्यसपछि आन्दोलनकारी तितरबितर भएका छन् । घटनापछि भारत नानपारा प्रहरीका सिओ भरत यादबले यो नेपालको आन्तरिक मामला भएको र त्यसको समाधान पनि नेपालले नै गर्नुपर्ने बताए । ‘हाम्रो भुमि प्रयोग भएको छैन् । ती मान्छे तपाइहरुकै हुन् । उनीहरुलाई दशगजाबाट खेदने काम नेपाल प्रहरीकै हो । हाम्रो भुमिमा आए हामी कारवाही गछौं,’ सिओ यादबले भने ।
केही दिनअघिसम्म तुलनात्मक रुपमा शान्त रहेको नेपालगन्ज-रुपैडिहा नाकामा दुइदिनयता तनाव बढेको छ । दिनहु सयौं यात्रु ओहोरदोहोर गर्ने पश्चिमकै प्रमुख यो नाका ठप्प छ । सवारीसाधन चल्न सकेका छैनन् भने पैदल आवागमन पनि प्रभावित भएको छ । यसअघि सोमबार राती पनि मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीमाथि पेट्रोल बम हानेका थिए । त्यसक्रममा एक प्रहरी जवान घाइते भएका थिए ।
अन्य दिनका तुलनामा बुधबार मोर्चा कार्यकर्ताको संख्या बाक्लो थियो । उनीहरुले बिहानै देखि सरकारबिरुद्ध नारा जुलुस र प्रदर्शनहरु गरिरहेका थिए । मधेसी मोर्चाका प्रवक्ता पशुपतिदयाल मिश्राले मोटरसाइकल चालक आफै लडेपछि उठाउन खोज्दा प्रहरीले ढुंगा प्रहार गरेको आरोप लगाए । उनले एक दर्जन प्रदर्शनकारीको टाउकोमा चोट लागेको दाबी गरे । ‘सादा पोशाकका प्रहरीलाई घुसपैठ गराएर उक्त घटना गराइएको हो । शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले अराजक बनाउने काम गरिरहेको छ,’ उनले भने,’प्रहरीले ढुंगा हान्न थालेपछि हामीले पनि ढुंगा हानेका हौँ ।’
यसअघि भएको छलफलमा भारतीय अधिकारीहरुले आफ्नो कारणले नाका ठप्प नभएको दाबी गर्दै समस्या समाधान गर्न नेपाली अधिकारीहरुलाई सुझाव दिएका थिए । छलफलमा भारत बहराईचका डिएम सहभागि हुने अनौपचारिक सहमति भएपनि उनी नआएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी पनि सहभागि भएनन् । प्रजिअ बेदप्रकास लेखकले छलफलका लागि बहराईचका डिएमलाई फोन गर्दा सम्पर्कमा आउन नचाहेको बताए । ‘त्यसपछि म पनि गईन,’ उनले भने । करिव आधा घण्टासम्म भएको छलफल नाका सहज गराउनेमा केन्दि्रत थियो । तर, झडपपछि अवस्था झनै तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्