16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

जाडोमा कसरी जोगिने ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १३, २०७२  

केही दिनयता जाडो निकै बढेको छ । शुन्य डिग्री सेल्सीयमा पुगेको चिसोपना अझै केही दिन कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरु बताउछन् । चिसो मौसममा बालबालिकादेखि युवा र वृद्धवृद्धाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । स्वास्थ्यको हेरचाहवारे छातीरोग विशेषज्ञ डा. निलेशजंग सिजापतीका केही टिप्स :

 

 

 

  • जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । इन्फ्लुएञ्जाको संक्रमण हुने व्यक्तिले भाइरस अरुमा नसरोस् भनेर निकै ध्यान दिनुपर्ने हुन्छ । हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरु प्रयोग गर्ने । संक्रमण भएको छ भने मास्क लगाएर हिड्ने ।

 

  • उपचारका लागि भने सिटामोल लगायत एन्टिएलर्जिक ट्याब्लेटहरु र पानीको बाफ लिने । यो बेलामा तातो चिज सेवन गर्ने र शरिरलाई तातो राख्ने गर्नुपर्छ । ५÷६ दिनमा संक्रमण आफै कम भएर जान्छ । जाडोमा धुलोको समस्या पनि ज्यादा हुन्छ, जसले एलर्जीको समस्या निम्त्याउन सक्छ ।

 

  • दम भएको मानिसहरुलाई चिसोको बेलामा अझै ज्यादै समस्या हुन सक्छ । आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हो । त्यसमा पनि बाक्लो लुगाहरु लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ । दमको संक्रमण भएकालाई अरु संक्रमणले छोयो भने विकराल रुप लिन सक्छ ।

 

  • सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम उच्च हुन्छ । निमोनियाको जोखिम उच्च हुन्छ । वृद्धवृद्धालाई त जोखिम बढी हुन्छ । बालकहरुमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन । बुढ्यौलीमा प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रुप लिनसक्ने खतरा पनि उत्तिकै रहन्छ । त्यसैले कुनै समस्या  हुनासाथ तत्काल अस्पतालमा गएर उपचार गरिहाल्नुपर्छ । साना बच्चाहरुमा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।

blacked vehicle nepal

  • नाकाबन्दीले यातायात अभाव हुदा सबैजना बसको छतमा बसेर यात्रा गर्न बाध्य छन् । उनीहरुलाई चिसो हावाका कारण संक्रमण हुनसक्ने खतरा हुन्छ । सकेसम्म बसको छतमा यात्रा नगरी भित्र सिटमा नै बस्नु राम्रो हो । उपाय नलागे बालबालिका र चिसोको एलर्जी हुनेहरुले छतमा यात्रा नगर्दा नै हुन्छ । बाक्लो लुगा, माक्स र गलबन्दी लगाएर हिड्दा चिसोबाट बच्न सकिन्छ ।

 

  • ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरु, जो डाइवेटिज, दम लगायतका रोगबाट पिडित छन् भने उनीहरुले आफूलाई सकेसम्म चिसोबाट जोगाउनु राम्रो हो । दम, डाइबेटिज र मृगौलाको समस्या भएको मान्छेहरुलाईका लागि ‘फ्लु सट’ भनिने फ्लुको भ्याक्सिन दिन सकिन्छ । हरेक साल लिनुपर्ने यस्ता खोपले संक्रमणको जोखिम घटाउछन् । दम भएका मानिसहरुले पनि यो बेलामा निरन्तर चिकित्सकहरुसग परामर्श लिनुप¥यो । रुघाखोकी भएका मानिसहरुलाई समेसम्म बच्चा र बुढाबुढीको संसर्गबाट टाढा राख्नुपर्छ ।

 

  • जाडोको समयमा युवा वर्गले ज्यादा स्मोकिङ गर्ने, मद्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । स्मोकिङले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्नुहुदैन ।

 

  • दम भएको मानिसले आगो ताप्ने कि नताप्ने भन्ने जिज्ञासा धेरै हुन्छ । आगोको ताप ठिक हो, धुवा बेठिक हो । लोडसेडिङ र उर्जा संकटको बेला आगो ताप्नुको विकल्प छैन तर धुवालाई कम गर्ने उपाय अपनाउनुपर्छ र त्यसबाट आफू जोगिनुपर्छ । fire heating roomदाउरा र गोलको तुलनामा बरु ब्रिकेट बढी राम्रो हो । धुवा हराइसकेको आगो, त्यो पनि भेन्टिलेसन भएको कोठामा ताप्दा हुन्छ । नत्र चिसोबाट जोगिन आगो ताप्दा त्यसबाट उत्पन्न हुने कार्वन मोनोअक्साइडले अरु रोग निम्त्याउन सक्छ ।

 

  • धुवायुक्त आगोका कारण सामान्य मानिसहरुलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ । जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ । काठमाण्डौं वरपरका गाउमा पनि मकल बालेर आगो ताप्ने गरिन्छ, त्यसो गर्दा पनि खतरा हुन्छ । त्यसैले कोठाभित्र आगो बाल्दा भेन्टिलेसनको ज्यादा जरुरी हुन्छ ।
प्रकाशित मितिः सोमवार, पुस १३, २०७२     10:27:11 AM  |