कोलम्बो, मंसिर २३ । श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई उद्धृतगर्दै यस्तो समाचार प्रकाशमा आएको हो ।
भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने जनाइएको छ । श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसदबैठकमा सो विषयमा जानकारी दिएका हुन् ।
भारतले हालैमात्र श्रीलङ्कासामू बृहत आर्थिक साझेदारी सम्झौता गर्ने प्रस्ताव अघि सारेको थियो । सो सम्झौता नगरिने जानकारी श्रीलङ्काली प्रधानमन्त्रीले बुधबारको संसदमा दिएका छन् ।
उनले भारतले अघि सारेको सो सम्झौतामा हस्ताक्षर नगरी श्रीलङ्काले अलग्गै आर्थिक तथा प्राविधिक सम्झौता गर्ने नयाँ प्रस्तावका बारेमा कुरा चलाएको पनि बताए ।
यस्तै प्रकारको सम्झौता श्रीलङ्काले चीन सरकारसँग पनि गर्न लागेको उनले जनाएका छन् ।
प्रधानमन्त्री विक्रमासिंघेले यस सम्झौता गर्नुअघि एक पटक स्थानीय स्तरका श्रमिक संगठनहरुसँग पनि परामर्श गर्ने सोँचमा आफ्नो सरकार रहेको जानकारी दिए । यस सम्झौता बमोजिम भारतीय श्रमिकलेमात्र काम पाउने र कतिपय श्रीलङ्काली श्रमिकले जागिर गुमाउन पनि सक्ने भएकोले सरकारले भारतीय स्थानीय श्रमिक संगठनहरुसँग परामर्श गरिने बताएको हो ।
त्यसैगरी श्रीलङ्काको विपक्षी दलका एकजना सदस्य दिनेश गुणवर्धनेले पनि भारतसँग सो सम्झौता गर्नुअघि विपक्षी दलसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्