बडीमालिकामा भोलि सार्वजनिक बिदा



बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिकाले यही भदौ २४ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार एक सूचना जारी गर्दै स्थानीय सांस्कृतिक पर्व अनन्ते मेलाको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिइएको हो । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले भदौ १८ गते बसेको कार्यपालिका बैठकको निर्णयबमोजिम २४ गते एक दिन पालिकामा सार्वजनिक बिदा दिइएको बताएका छन् ।

उनका अनुसार सो दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था बन्द रहने छन् । मौलिक तथा सांस्कृतिक पर्व अनन्ते मेला जिल्लाको सदरमुकाम मार्तडीसहित विभिन्न ठाउँमा परम्परागत रूपमा मनाइँदै आइएको छ । जिल्लाबासीहरूको दसैँ तिहारपछिको दोस्रो ठूलो पर्वका रूपमा रहेको अनन्ते मेला सुरु भएको छ । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैको अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरूले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने पोशाकसहित अनन्ते खेल्ने गरेका छन् ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । स्थानीय लोक संस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार