अफगानिस्तानमा हुँदा हिउँको तल सुरक्षित गरेर मौरी राखेको देखेँ । खेती किसान गर्ने मेरो पुख्र्याैली जिनमा रहेछ । म बिदाको समय बगैँचा र खेतहरूमा पुग्थेँ । शान्तिसेनाबाट नेपाल फर्केपछि छोरी ज्वाइँको कोकको व्यापारलाई सघाउने गर्थेँ । गर्मीमा कोक बिक्री गर्ने र जाडोको समयमा मौरी पाल्ने गर्थैँ ।
मेरो नाम पुरमल बस्नेत । मेरो जन्म सुर्खेतको सिम्ता गाउँपालिका साउखोला गाउँमा भएको हो । खेती किसान गर्ने सामान्य परिवारमा मैले पहिलो सन्तानको रूपमा जन्म लिएको हुँ । मेरो बाल्यकाल गाउँमा सामान्य नै रह्यो । गाउँघरमा सामान्यतयता साँझ बिहान घाँस, दाउरा र दिनमा विद्यालय जाने गथ्र्यौँ । विशेषगरी बिदाको दिनहरूमा गोठालो जाने । त्यतिखेर असाध्यै हामी मोजाको भलिबल, डन्डिबियो र कबड्डी खेल्ने । खोलाहरूमा माछा मार्न साथीहरू सँगसँगै जाने । यसरी रमाउँदै खेल्दै बाल्यकाल सामान्य रूपमा बित्यो । प्रायः हामी खेतीपातीमा आबद्ध हुने गथ्र्यौँ । किनभने बाबा र आमा पनि खेतीपातीमा रहेकाले त्यसैमा हामीले सघाउने गथ्र्यौँ । मैले १० कक्षासम्मको अध्ययन गरेको छु । मैले गाउँ नजिकै रहेको विद्यालयमा कक्षा १ देखि ७ कक्षासम्म ‐निम्न माध्यमिक तह) साउखोलमा नै अध्ययन गरेँ । त्यहाँ माध्यमिक तहको पठनपाठन नहुने भएपछि भानु माध्यमिक विद्यालय बजेडी चौरमा पढ्न जानुपथ्र्याे । ४ घण्टाको उकालो र ओरालो बाटो थियो । ८ देखि १० सम्मको अध्ययन त्यहाँ जेहोस् सकियो ।
मेरो पढाइमा भन्दा पनि खेलकुदमा लगाव धेरै थियो । सानै उमेरदेखि विभिन्न रनिङ शिल्डहरूमा भाग लिने गर्थेँ । निम्न माध्यमिक तहमात्र नभइ मावि तहमा पनि मैले खेलेँ । म १० कक्षा पढ्दा २०४३ सालमा सुर्खेतमा रनिङ शिल्ड भइरहेको थियो । मैले सिम्तादेखि सहभागी हुने अवसर पाएँ । आर्मीको ब्यारेकमा खेल्न जाँदा त्यहाँ असई सापले ए तपाईँहरू जागिर खाने हो ? तपाईँहरू खेल्ने मान्छेलाई हामी जागिर मिलाईदिन्छौँ भन्नु भो । अनि मैले सोचे ? पढेर पनि त आखिर जागिर खानुपर्ने हो भन्ने लागेर मैले सर म त भर्ती हुन्छु भनेँ । म सँग नागरिकता थिएन ।
पछि मैले गाविसमा नागरिकताको सिफारिस लिएर नागरिकता बनाएँ । जहोस् नेपाल आर्मीमा भर्ना भइयो । गाउँमा उकालो ओरालो गरेकाले फिजिकलरूपमा कुनै पनि गाह्रो भएन । नेपाल आर्मीमा भर्ती भएपछि नयाँ र पुराना आर्मीबीच भलिबल प्रतियोगिता भयो । हामीले पुराना टिमलाई हराउन सफल पनि भयौँ ।
मलाईँ किन खेलकुदमा साह्रै लगाव र म राम्रो पनि खेल्ने गर्थेँ । सानो हुँदा मोजाको बल बनाएर खेलियो । खेलमा मलाईँ आनन्द आउने गथ्र्याे । सुरुवाती भर्ती हुँदा गाउँदेखि सहर झर्दा त्यतिखेर धुलाम्मे सडक थियो । गाउँको दाइले ट्याक्टरमा मलाई भाडा दिएर आउने जाने व्यवस्था मिलाइ दिनुभयोे । घरबाट खेल खेल्न आएको थिएँ । त्यही बेला म भर्ती भएको हो । त्यतिखेर आर्मीको गाउँमा छुट्टै शान हुने गथ्र्याे । त्यतिखेर आर्मीमा भर्ती हुने साउखोला गाउँको म नै पहिलो व्यक्ति थिए । सुरुवाती दिनमा ब्यारेकभित्र छिर्दा अनौठो लाग्यो । सबै जम्मा भएर लेक्चर लिने काम हुँदोरहेछ । मैले निन्द्रा लाग्यो सरहरू सुत्न प¥यो भनेर भने । अब यो तपाईँको आफ्नो घर होइन् । कमान्डरले जे भनेको छ त्यही भनेको मान्नुपर्छ भनेपछि मत झस्किएँ । त्यतिखेर १८ वर्ष भर्खर पुगेको थिएँ । भर्ती भएको लामो समयपछि बिदाको दिनमा मैले घरमा चिठ्ठी लेखेँ । चिठ्ठी लेख्दै गर्दा आमा, बाबा, घर र साथीहरू सबैकोे याद आयो । सबैलाई त्यो पत्रमा सम्बोधन गरेर लेखेर पठाएँ । एक डेढ महिनापछि चिठ्ठी नेपालगन्जदेखि सुर्खेत पुगेछ ।
त्यो चिठ्ठी पढेर आमा र बाबा भावुक हुने भयो रे । पछि म बिदामा जाँदा सुनाउनु भएको थियो । मलाईँ पनि केही समयपछि घरबाट चिठ्ठी आयो। हामी ठिकै छौँ । खाएको जागिर जे जस्तो भएपनि जागिर नछाड्नु भनेर पठाउनु भएको रहेछ । यतिखेर पहाडको मान्छे नेपालगन्ज झर्दा गर्मीले पूरै शरीर गल्यो । मलाई त्यतिखेर साह्रै गाह्रो भएको थियो । पछि बिस्तारै हावापानी मेल खान थालेपछि सुधार आयो । त्यतिखेर कोहलपुरदेखि टाकामा गएर हात्तीसारबाट मात्रै गाडी पाउने गथ्र्याे । अहिले जसरी रोडहरू र सेवासुविधा थिएन । त्यतिखेर मेरो तलब तीन सय ७५ रूपैयाँँ थियो । त्यसमा पनि तीन समय रूपैयाँँ जम्मा भएर ७५ रूपैयाँँ मात्रै पाइने गरिन्थ्यो । मैले पहिलो छुट्टीमा घर जाँदा ९ महिनाको २५ सय रूपैयाँँ तलब बुझेर परिवारको सबैलाई एकसरो लत्ताकपडा किनेर घर जाँदा सबै खुसी भएका थिए । म त्यो समयमा यति धेरै सन्तुष्ट भएँ । सुर्खेत, जुम्ला, रारा त्यतिखेर हिँडेर जानुपथ्र्याे । मेरो सुर्खेतबाट धनकुटा सरुवा हुँदा त्यहाँको बसाइ कष्टकर भयो । त्यतिखेर म बिदाको समयमा कथा र कविता लेख्न थालेँ ।
सिपाही पार्क, मधुपार्क पत्रिकामा समेत मैले लेखेका कथा कविता प्रकाशन भए । त्यो समयमा एउटा पत्रमित्रता भन्ने थियो । त्यसमा आएका पत्रहरूको रिप्लाइ दिनुपथ्र्याे । बिदाको समयमा म पनि दिन्थेँ । अर्काे कुरा मेरो उद्देश्य नै भलिबल खेल्नु थियो । त्यतिखेर अहिलेको जस्तो प्रशिक्षकहरू प्रशस्त थिएनन् । आर्मीमा अग्रज दाइहरूले सिकाउनु हुन्थ्यो । मेरो खेल पनि राम्रो हुँदै गयो । २०५२ सालमा नेपाल अधिराज्य गुल्म स्थाानमा हामीले पहिलो स्थान हासिल गरेका थियौँ । मैले एक नम्बरको जर्सी लगाएर खेलेको थिएँ । त्यतिखेर मेरो खेल देखेर आर्मीले त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो । क्बलबाटै मैले धेरै खेलहरू खेल्न पाएँ । मैले २० वर्ष आर्मी हुँदा धेरै कुराहरू सिक्दै पेन्सन ल्याएर आर्मीबाट बिदाइ भएँ । त्यस अवधिमा नेपालका अधिकांश ठाउँहरूमा घुम्ने र माटो छुने अवसर पाएँ । सगरमाथा बेस क्याम्पदेखि रारातालसम्म पुगेँ । त्यसपश्चात् २०६० सालमा सिम्तादेखि हामी बसाइँसराइ गरेर कोहलपुर नगरपालिका–११ आयौँ । शान्तिसेनामा राम्रो सेवासुविधा छ भन्दै साथीहरूले आउन भनेपछि म २०६२ सालमा अफगानिस्तान गएँ ।
त्यहाँ पनि बटालिन खेल हुँदा हामी पहिलो भएका थियौँ । त्यहाँ सुरुवाती दिनहरूमा राम्रो भएपनि पछि सोचेअनुसार भएन । ५ सय जना गोरखाहरूको टे«निङ भएको थियो । म राम्रो सुटरको रूपमा छनोट भएँ । सेवासुविधा पनि राम्रो थियो । पछि ठेक्का हुन थाल्यो । म पाँच वर्ष पछि २०६७ सालमा फर्केर नेपाल आएँ । नेपाल आएपछि मैले अहिलेको यो सबै कल्पना समेत गरेको थिइनँ । राम्रो काम गरे नतिजा राम्रो दिन्छ भन्ने मलाईँ लाथ्यो । अफगानिस्तानमा हुँदा हिउँको तल सुरक्षित गरेर मौरी राखेको देखेँ । खेती किसान गर्ने मेरो पुख्र्याैली जिनमा रहेछ । म बिदाको समय बगैँचा र खेतहरूमा पुग्थेँ । शान्तिसेनाबाट नेपाल फर्केपछि छोरी ज्वाइँको कोकको व्यापारलाई सघाउने गर्थेँ । गर्मीमा कोक बिक्री गर्ने र जाडोको समयमा मौरी पाल्ने गर्थँे । पाँच वर्षपछि सबै छाडेर मौरीपालनमा होमिएँ ।
मैले पाँच वर्षमा धेरै कुरा पनि सिकिसकेको थिएँ । दुई घारबाट सुरुवात गरेको मौरीपालन अहिले सयौँको सङ्ख्यामा पुगेको छ । मौरीका पाँच वटा प्रजाति, भमरा प्रजाति र पुत्का प्रजाति यी तीन वटाले नै जैविक विविधतामा महत्वपूर्ण योगदान दिएका छन् । सकेसम्म तीन वटै प्रजाति जोगाउन म लागेको छु । जसको फलस्वरुप गाभर भ्याली हुँदै विद्यालयस्तरमा समेत जिन बैंक स्थापना भएका छन् । कसैले पनि काम गर्दा जुन दिन गर्न मन लाग्छ त्यो दिनबाट सुरु गर्नु पर्छ । सबै मिलाउन थाले समय खेर जान्छ । र, ससानो कुराहरू बाटै ठूलो हुने हो । त्यसैले भोली गर्छु भनेर काम कहिले नगर्नुस् । आफूसँग भएको जे छ त्यसैबाट काम गर्न सुरु गरेँ । अवश्य सफल भइन्छ । दुई घारबाट सुरु गरेको पुत्का अहिले ४५ घार भएका छन् । २०७८ सालमा हुलाक टिकटमा पनि पुत्काको प्रयोग हुन थाल्यो ।
हामीले एक घारबाट सुरुवात नगरेको भए आज यो सबै कुराहरू सम्भव हुने थिएन । सुरुवाती दिनहरूमा मैले मौरी, पुत्का र भमरा पाल्न सुरु गर्दा सबैले हेपेर बोले जस्तो गर्ने गर्थेँ । तर मैले त्यसलाई नै ऊर्जाको रूपमा लिएर काम गर्न थालेँ । सुरुवाती दिनहरूमा आफन्तहरू समेत घरमा आउन छाडेँ । किराहरू पालेको घर र टोक्ने डरले पनि होला । अहिले पनि मैले मेरो छतमा भमरा र पुत्काहरू राखेको छु । ९ वर्षजति भयो । अहिले पाँच सय भमरा मेरो घरमा आउने गर्छन् । कुनै पनि चिजलाई जबर्जस्त गरेर हुँदैन । स्वइच्छाले आउने बनाए मात्रै धेरै समय टिक्छ । घरपरिवारको साथ रह्यो । घरपरिवारले पनि सुरुवाती दिनमा नगर्न भने पनि मेरो जिद्दीले मैले मौरीपालन गर्न छाडिन । पछिपछि गर भनेर पनि भन्नु भएन । नगर भनेर पनि भन्नु भएन । मैले २०७३ सालबाट व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको हुँ । ओम शिवशक्ती मौरी पालन उद्योग भनेर फार्म दर्ता गरेर अघि बढेँ । बाँके जिल्ला मैले मौरीपालन सुरु गर्दा मौरी पाल्न नमिल्ने भनेर रेड जोनमा थियो । किनभने यहाँ विषादी खेती हुने र गर्मी हुने जिल्ला भएकाले ।
कृषि शाखामा जाँदा पनि मौरीको कुरा गर्दा कृषि प्राविधिक हाँस्थे । मौरीपालन नहुने ठाउँमा कसरी सम्भव छ भन्ने गर्थे । पछि मैले सुरुवात गरेपछि बिस्तारै सबैले सहयोग गरे । अहिले स्वदेशी मात्र नभइ विदेशी पनि भमरा, पुत्का र मौरीको अवलोकन गर्न आउने गरेका छन् । यसलाई थप व्यवस्थित बनाउँदै लैजाने योजना रहेको छ । २०७७ सालमा प्रदेश रत्न पुरस्कार, २०७८ मा डब्लुडब्लुएफको कन्र्जभेसन अवार्ड, २०७९ सालमा समाज सेवा रत्न राष्ट्रपतिबाट र प्रधान सेनापति उत्कृष्ट किसान पुरस्कारसमेत पुरस्कार ग्रहण गर्न पाएँ । मलाईँ लाग्छ कताकता मैलै अतुलनीय काम गरेँ । आफूले आफैँलाई पत्याउन गाह्रो हुन्छ । अहिले सबैले माया गर्नुहुन्छ । मैले मौरी मात्र नभई धान, कोदोहरू समेत संरक्षणमा जुटेको छु । म यही पेशामा सन्तुष्ट छु । बाँकी जीवन पनि यसैमा समर्पित गर्छु ।









प्रतिक्रिया दिनुहोस्