भरैया फार्मस्टेः कृषिसँगै पर्यटनको नयाँ गन्तव्य



  निशु जोशी ।

‘नेपालमा केही हुँदैन’ भन्ने धारणा तोड्दै दैलेख महाबु गाउँपालिका निवासी २५ वर्षीय योगेश सिंह ठकुरीले बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयामा कृषिसँग पर्यटन जोड्ने नयाँ प्रयास थालेका छन् । ३ वर्षे कृषि भेटनरी पढेका योगेशले पढाइ सकेलगत्तै कृषिलाई पेशा बनाएर परिवारलाई पनि यसैमा जोडेका छन् । योगेशको लक्ष्य केवल कृषि मात्र होइन । गाउँको जीवन, रैथाने बाली, संस्कार र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी दिनु पनि हो । २०७६ सालमा सुर्खेतको जनज्योति माध्यमिक विद्यालयबाट ३ वर्षे कृषि भेटनरी पढेर स्नातक बनेका योगेशले पढाइ सकेलगत्तै कृषिलाई पेशा बनाए । सुरुमा नेपालगन्ज उपमहानगरपालिका–२२ भवानीयापुरमा २२ बिघा जग्गा लिजमा लिएर पाँच वर्ष कृषि व्यवसाय गरे । त्यही अनुभवको आधारमा उनले डेढ वर्षअघि कोहलपुर आएर आफ्नै लगानीमा ७ बिघा जमिनमा फलफूल, तरकारी, अन्नबाली, हाँस, कुखुरा, बाख्रा पालन गर्दै आएका छन् ।

तर, योगेशको लक्ष्य केवल कृषि मात्र होइन । उनले गत साउन १५ गतेदेखि ‘भरैया फार्मस्टे’ सञ्चालन गरेका छन् । ‘कृषिसँग पर्यटन जोड्न सकिन्छ भन्ने देखेपछि फार्मस्टे सुरु गरेको हुँ,’ योगेश भन्छन्, ‘यहाँ केवल खानेकुरा मात्र होइन, गाउँको जीवन, रैथाने बाली, संस्कार र संस्कृति पनि पर्यटकलाई देखाउन चाहन्छु ।’ उनको फार्मस्टेमा अहिले खानेकुरा (फुड), स्थानीय पेय (ड्रिंक) र बस्ने (स्टे) सुविधा छ । फार्ममा आउनेले हाँस हेर्ने, घाँस खुवाउनेदेखि खेत–बारीमा काम गर्ने अनुभव लिन सक्छन् । उनले यसलाई फनपार्कको विकल्पमा ‘सिकाइसँग रमाइलो’ गर्ने थलो बनाउन खोजेका छन् । यो अघि कृषिक्षेत्रमै झापाको ‘गोल्डेन एग्रो ग्रुप’मा एक वर्ष व्यवस्थापक भएर काम गरेका योगेशले कागतीदेखि ड्रागनफ्रुटसम्मका बालीमा काम गरिसकेका छन् । अहिले भने उनले भरैयामा १ सय ८ प्रजातिका बोटबिरुवा—रुद्राक्ष, औषधिजन्य जडीबुटी, फलफूलदेखि शो प्लान्टसम्म रोपेका छन् । २८ बोट रुद्राक्ष गत वर्षदेखि फल्न थालेको छ ।

फार्ममा हाल १३ जना कर्मचारी छन् । भरैया फार्मस्टे केवल पर्यटकका लागि मात्र होइन, विद्यार्थीका लागि पनि सिकाइ केन्द्र बन्दैछ । बड्डीचौर (सुर्खेत) लगायतका विद्यार्थीलाई यहाँ ‘पढ्दै कमाउने’ कार्यक्रमअन्तर्गत कृषि तालिम दिने तयारीसमेत भएको उनले बताए । बड्डीचौरमा भर्ना भएका कोहलपुरका विद्यार्थीलाई ‘पढ्दै कमाउने’ कार्यक्रमअन्तर्गत यही फार्ममै काम गर्दै आफ्ना लागि पढाईसँगै कमाउन सक्नेछन् । एक महिनापछि कक्षासमेत सुरु हुने तयारी छ । ‘कृषि भनेको केवल किताबमा पढ्ने कुरा होइन, फिल्डमै गर्नुपर्ने हो । विद्यार्थीलाई यहीँ ल्याएर काम गर्ने, पढ्ने र कमाउने अवसर दिने लक्ष्य छ,’ योगेश भन्छन् । योगेशका बुबा गणेशबहादुर सिंह १५ वर्षसम्म भारतमा मजदुरी गरेर परिवारको गुजारा चलाउने गर्थे । ‘अब छोराले पढेर आफ्नै देशमा आफ्नै काम थालेको छ, हामी खुसी छौँ,’ उनले भने । परिवारका १० जना सदस्य अहिले नै फार्ममा संलग्न छन् ।

तर चुनौती पनि छन् । ‘खेती किसानी गर्न मल चाहिन्छ, तर समयमा पाइँदैन । अहिले धान मल नपाएर पहेँलो हुँदैछ,’ बुबा गणेशबहादुरको गुनासो छ । आमाबुबा दुवै छोराको प्रयासलाई सफल होस् भन्ने चाहनामा छन् । कृषि क्षेत्रको सम्भावनाबारे योगेश भन्छन्, ‘नेपालमा अवसर अत्यधिक छ, तर हामी व्यवसायिक बन्न सकेका छैनौँ । एउटाले टमाटर लगायो भने अर्कोले पनि टमाटरै लगाउने खराब बानी छ । नयाँ उत्पादन खोज्नुपर्छ ।’ उनको योजनामा रारा घुम्न जाने पर्यटकलाई भरैयामा रोक्ने, गाउँको जीवन अनुभव गराउने र कृषिलाई रोजगारीसँग जोड्ने प्रमुख लक्ष्य छ । विदेश जाने सोच छैन, बरु आफ्नै देशमा सम्भावना खोज्ने उनको अठोट छ । आमा राजकुमारी सिंह पनि छोराको सफलताको सपना बोकेकी छन् । ‘बुढेसकालमा सुख देवस्, यही काम अघि बढोस् भन्ने हाम्रो चाहना छ ।’ उनले सुनाइन् । आफूहरूले विदेश गएर राम्रो कमाओस् भन्ने चाहाना राखेपनि छोराले विदेश जाने सोच नबनाएको उनी बताउँछिन् । सरकारी जागिरसमेत खाने चाहाना नराखेको उनको भनाइ छ ।

बरु आफ्नै देशमा काम गरेर सम्भावना खोज्ने उनको अठोट छ । ‘सानैदेखि नेपालमा केही हुँदैन भन्ने मानसिकता बनाइन्छ । तर मैले पढ्दै–कमाउँदै अनुभव लिएँ । त्यसैले व्यवसाय गर्दा गाह्रो भएन । अब नेपालमै धेरै सम्भावना छ भन्ने देख्छु,’ उनले जोड दिए । नेपालमा कृषिलाई सामान्य व्यवसायको रूपमा मात्र हेर्ने प्रवृत्ति रहेको योगेशको बुझाइ छ । उनी भन्छन्, ‘कृषिमा सम्भावना अत्यधिक छ । तर हामी व्यवसायिक हुन सकेका छैनौँ । एउटाले टमाटर रोप्दा अर्कोले पनि टमाटरै रोप्ने, एउटाले कुखुरा पाल्दा अर्कोले पनि कुखुरै पाल्ने प्रवृत्ति छ । यसरी प्रतिस्पर्धा हुन्छ, बजार अस्थिर हुन्छ ।’

भरैया फार्मस्टेमा नेपालगन्ज, कोहलपुर लगायतका ठाउँबाट व्यक्तिगत र संस्थागत रूपमा आफ्ना बच्चाबच्चीसहित खेतीबारी हेर्न आउँछन् । पर्यटकले रमाइलोसँगै नयाँ ज्ञान लिन्छन् । ‘विद्यार्थी, पत्रकारहरू आउँदा रमाइलो लाग्छ । यहाँ हरियाली छ, शान्त छ, एकान्त छ । फलफूलदेखि रैथाने बाली सबै देखाउन पाइन्छ,’ आमा राजकुमारी भन्छिन् । २५ वर्षीय योगेश सिंह ठकुरीको प्रयासले बाँकेको भरैया केवल खेती गर्ने ठाउँ नभई कृषिसँगै पर्यटनको नयाँ गन्तव्य बन्दैछ । संघर्ष र मेहनतको बाटो हिँड्दै उनले देखाएको उदाहरणले कृषिलाई केवल गुजारा होइन, व्यवसाय र रोजगारीको सम्भावनासँग जोड्न सकिन्छ भन्ने देखाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार