गोदावरी (कैलाली) ।
कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा आएका छन् । ६ वर्ष बितिसक्दा पनि चौकिडाँडा फल्टुडे सडक ठेकेदारले अलपत्र पारेको भन्दै जनप्रतिनिधि सडकमा आएका हुन । ठेकेदारको विरोध गर्दै वडा नम्बर ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय राखेर विरोध जनाएका छन् भने गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट पनि सो विरोध कार्यक्रममा सहभागी भएका छन् ।
वडाध्यक्षहरूले चौकीडाँडा फल्टुडे सडक खण्डको निर्माण कम्पनी एडवान्जर थिगिम जेभि र तेडी निर्माण सेवाको सडक निर्माण कार्यको ढिलासुस्ती चरम लापरबाहीको विरुद्धमा वडा कार्यालयहरू सडकबाट सञ्चालित गरेको बताएका छन् । उनीहरूले पटक पटक आवाज उठाउँदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दबाब दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिएको बताएका छन्। वडाध्यक्षहरूको आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् ।
वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले २ दिन सडकमा वडा कार्यालय सञ्चालन गरेर गरिएको विरोध कार्यक्रमबाट पनि सुनुवाइ नभए अत्तरिया चौराहामा आएर विरोध गर्ने बताए । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रम स्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोटा पनि पुगेकी थिइन् । उनले आफूले प्रदेश सरकारलाई सडक चाँडो निर्माण गर्न झकझक्याउने बताइन ।
प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि चौकीडाँडा–फल्टुडे सडकअन्तर्गत सेतो पुलदेखि वडा नम्बर १० को कार्यालयसम्म २२ सय मिटर सडक २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाइट जेभिलाई ठेक्कामा दिइएको थियो । सम्झौताअनुसार २०७८ माघ १७ गतेभित्र सडक निर्माण गरिसक्नुपर्ने थियो ।
त्यस्तै वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म ३ किलोमिटर कालोपत्रे गर्न २०७९ चैत्र १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । उक्त सम्झौता अनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा भएको छैन । लामो समयदेखि सडक निर्माणको काम अलपत्र परेपछि स्थानीयसँगै जनप्रतिनिधि विरोधमा उत्रिएका हुन ।









प्रतिक्रिया दिनुहोस्