संघर्षको बाटो हुँदै ‘हाम्रो दर्शन होटेल’सम्म



‘दिन–रात नभनी भारतको रूपैडिहासम्म पुगेर यात्रु खोजेर ल्याउँथ्यो,’ लक्ष्मी सम्झन्छिन्, ‘दिनभरी छोरा कहाँ गयो के भयो भन्ने चिन्ताले सताउँथ्यो । उ अबेर आउँथ्यो ।’ उनले छोराको मेहनत सम्झदा आँसुले आँखा भरिएका थिए । छोराको अथक मेहनतका कारण खाजाघर चल्यो र आम्दानी दोब्बरले बढ्यो । त्यो कमाइले ऋणबाट मुक्त हुन मद्दत गरेको उनले बताइन् ।

निशु जोशी । नेपालगन्ज ।

‘बुंगुरको मासु पकायो, भँैसीको सेकुवा बनायो भनेर आफ्नै नातेदार पराइ भए,’ लक्ष्मी चलाउने भन्छिन्, ‘तर छोराछोरी पाल्न काम गर्नैप¥यो, होइन भने भविष्य अन्धकार हुन्थ्यो ।’ सुर्खेत चौकुने–३ साल्म घर भएकी लक्ष्मीलाई माइती, मावलीदेखि आफन्तहरूसम्मले ब्राह्मणले बंगुर र भैँसीको मासु पकाएको भनेर घृणा गरे । तर, उनले आफ्नो जिन्दगीलाई अगाडी निरन्तर बढाउने प्रयास गरिरहिन् ।

त्यसअघि उनले सुर्खेतको चौकुने ३ साल्ममा होटेल र त्यसपछि चौकुने ८ गुटुमा कस्मेटिक पसल चलाएकी थिइन् । छोराछोरीको राम्रो शिक्षादीक्षा र उज्वल भविष्यका लागि उनी १४ वर्षअघि बिरानो सहर नेपालगन्ज आइपुगेकी थिइन् । उनले पहिलो काम किराना पसलबाट सुरु गरिन् । तर, पसल राम्ररी चलेन । खर्च बढ्दै गयो, आम्दानी घट्दै गयो । उनीसँग ३ छोराछोरी पाल्नुपर्ने जिम्मेवारी थियो । पसल नचलेपछि उनले पुस्पलाल चोक नजिकै बसपार्क जाने रोडमा टिनको छाना लगाएर खाजाघर सुरु गरिन् ।

उनी खाजा पसल सञ्चालन गर्दा दाङका अर्का एक व्यवसायी दम्पतीले सहयोग गरेको सम्झिनछिन् । उनीहरूले नै बंगुर र भैँसीको मासुको मागबारे बताएका थिए । सुरुमा व्यवसाय चलाउन सहयोग पनि गरे । जेनतेन चलिरहेको व्यवसाय बढाउनका लागि उनका छोरा जीवन सहारा बने । ‘दिन–रात नभनी भारतको रूपैडिहासम्म पुगेर यात्रु खोजेर ल्याउँथ्यो,’ लक्ष्मी सम्झन्छिन्, ‘दिनभरी छोरा कहाँ गयो के भयो भन्ने चिन्ताले सताउँथ्यो । उ अबेर आउँथ्यो ।’ उनले छोराको मेहनत सम्झदा आँसुले आँखा भरिएका थिए । छोराको अथक मेहनतका कारण खाजाघर चल्यो र आम्दानी दोब्बरले बढ्यो । त्यो कमाइले ऋणबाट मुक्त हुन मद्दत गरेको उनले बताइन् ।

जीवनले अथक मेहनत गर्नुको पछाडीको कारण थियो वैदेशिक रोजगारी । उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । मलेसियाको कामपश्चात् उनले बल्ल पैसाको महत्व बुझे । त्यसपछि आफ्नै देशमा मेहनत गर्नुपर्छ भन्ने ठानेर ३ वर्षको सम्झौता तोडेर २ वर्षमै आफ्नै पैसा खर्च गरेर नेपाल फर्किएको उनी सुनाउँछन् । मलेसियामा उनको मासिक तलब २५ देखि ३० हजार नेपाली रूपैयाँ हुन्थ्यो । कक्षा १२ को पढाइ सकेर उनी मलेसिया गएका थिए ।

यहि क्रममा भारत–नेपाल ओहोरदोहोर गर्ने नेपाली यात्रुहरूले भोगेको पीडा– खान नपाउने, बाटोमै लुटिने, डराएर बस्ने अवस्थाले उनलाई गहिरो छोयो । त्यसपछि उनले यात्रुका लागि सुरक्षित र भरपर्दो होटेल बनाउने संकल्प गरे । करिब २५ लाख लगानीमा नेपालगन्जको पुष्पलाल चोकबाट करिब १०० मिटर बसपार्क जाने बाटोमा उनले ‘हाम्रो दर्शन होटेल’ स्थापना गरे । ११ वटा कोठा भएका यस होटेलमा साधारणदेखि एसीसहितका कोठा उपलब्ध छन् । मूल्य ३ सयदेखि १२ सय रूपैयाँसम्म पर्छ । टिकट काउन्टरको सुविधा पनि छ ।

बुबाले देखाएको बाटोमा

जीवनका बुबा सुर्खेतमै होटेल सञ्चालन गर्थे । चौकुने ३ साल्ममा रहेको त्यो होटेलले राजापुर नुन बोक्न आउने हटारुहरूलाई सेवा दिने गरेको उनी सम्झन्छन् । त्यो समयमा धामी–झाँक्रीदेखि अछाम–दैलेखतिरबाट आउने बटुवासम्मका लागि सेवामूलक होटेल थियो । ‘एकैपटक सयभन्दा बढीलाई खाना खुवाउन सकिने थियो,’ जीवन सम्झन्छन्, ‘त्यो समयको चर्चित होटेल थियो । बुबाले गरेको कामलाई नेपालगन्जमा पनि निरन्तरता दिन चाहेको हुँ ।’

साल्ममा उनको होटेल आजपनि छ । तर उनका बुबाले भारतमा रोजगारीकै क्रममा ८ वर्ष अघि ज्यान गुमाइसकेका छन् । बुबाले सुरु गरेको बाटोलाई निरन्तरता दिने दृढताले नै उनलाई अहिलेको अवस्थामा ल्याएको हो । आफन्तले तिरस्कार गरे, समाजले दोष देखायो । तर, लक्ष्मीले हार मान्नेसम्म कहिल्यै सोँचिनन् । छोराछोरीलाई पढाउने, भविष्य बनाउने लक्ष्यले उनलाई निरन्तर अघि बढायो । आज उनका लागि ‘हाम्रो दर्शन होटेल’ मात्र व्यवसाय होइन, संघर्षको उपहार हो । ‘व्यवसाय भनेको पैसामात्र होइन, सेवाको भाव पनि हो,’ जीवन भन्छन्, ‘ग्राहकलाई माया गर्न सक्यो भने उनीहरू आफैँ फर्केर आउँछन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार