विश्व वेपत्ताविरुद्धको दिवसः ‘कहिलेसम्म उहीँ समस्या भनिराख्ने हो’



शेरबहादुर ऐर । कैलाली ।

हरेक वर्ष ३० अगस्टमा संसारभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो कुनै उत्सव नभएर बेपत्ता बनाइएका व्यक्तिहरूको स्मरण गर्नु हो । कैलालीको घोडाघोडीका बेपत्ता परिवारका सदस्य पदमा बमका श्रीमान् २०६० सालमा बेपत्ता भएका थिए ।

द्वन्द्वका क्रममा वेपत्ता पारिएका आफ्ना परिवारको अवस्थाबारे जानकारी नपाएको पीडा उनीमा अहिलेसम्म छ । विश्व बेपत्ता दिवसको अवसरमा होस या जनयुद्व दिवसको स्मरणमा आयोजित कार्यक्रममा उनी आफ्नो पिडा दोहो¥याउँदै भनिरहन्छन्– ‘दिवसले झन् पिडामाथि पिडा थपिरहेको छ । मैले न्याए कहिले पाउँछौँ ।’ श्रीमान्को न त उनले लास हेर्न पाएकी छिन् न त उनको सासनै रहेकोबारे जानकारी पाएकी छिन् । उनी भन्छिन् ‘२२ वर्षसम्म पनि मरे÷ज्युँदाको खबर छैन् ।

हामीलाई न्याय चाहियो, कि लास देऊ, कि सास देऊ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, सुन्दरीफाँटाका लालबहादुर चौधरी अझै अस्पतालमा छन् । कहिले नेपाल त कहिले भारतको अस्पताल धाउँदैमा उनको धेरै खर्च भइसक्यो । सशस्त्र द्वन्द्वमा सुरक्षाकर्मीले पटक–पटक नियन्त्रणमा लिई यातना दिएका कारण उनी दीर्घ रोगी भएका हुन् ।जनयुद्वको १० वर्षको असर अझै पनि गाउँबस्तीमै रहेको छ । कैलालीका शमशेर लुहार २०६४ सालमा विस्फोटनमा परि अपाङ्गता भएका छन् ।

गाउँमा खेत खन्न जाने क्रममा जंगलमा विछ्याइएको विस्फोटनले उनले शाररिक अपाङ्गता बनाएको हो । उनी भन्छन्, ‘सरकारले १० वर्षे जनयुद्वबाट प्रभावित परिवारको त सम्बोधन गर्न सकेको छैन् । शान्ति प्रक्रियापछि माओवादीले विभिन्न स्थानमा राखेका विस्फोटन पदार्थबाट पनि परिवारले पीडा भोग्नुपरेको छ । यसबारे सरकारले ध्यान दिन सकेको छैन् ।’

कैलालीमा सशस्त्र द्वन्द्वमा चार सय ५६ को मृत्यु भएको थियो भने ३३ जना बेपत्ता, एक सय ६३ घाइते तथा अंगभंग, चार सय ५९ को सम्पत्ति क्षति, २५ जना अपहरण, ३९ जना कैद हिरासत, ४० जना बालबालिका टुहुरा र पाँच हजार दुई सय ५६ जना विस्थापित भएका थिए । तर, अझै पनि बेपत्ता तथा घाइते परिवारको यकिन तथ्यांक राज्यसँग नरहेको सरोकारवालाहरूको गुनासो रहेको छ ।

द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले पीडितलाई न्याय, आत्मविश्वास र जागरण पैदा गर्न जरुरी रहेको बताए । द्वन्द्वको समयमा कुनै पनि पक्षमा संलग्न नभए पनि पीडित हुन बाध्य आफू जस्ता नागरिकले पुनः पीडा भोग्न नपरोस् र विगतबाट पाठ सिकेर हिंसात्मक विद्रोह नदोहोयोस् भन्ने सन्देश दिन सञ्जालले गतिविधि गर्दै आइरहेको उनको भनाइ छ । उनले कुनै पक्षमा नलागेर पीडित बनाइएका नागरिकको लालनपालन, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार