सम्पादकीयः दीर्घकालीन योजना बनाउ



पछिल्लो समय देशका विभिन्न भागमा राज्यले ठुलो खर्च गरेर बनाएका संरचनाहरू प्रयोगमै नआएर खण्डहर बनेका धेरै उदाहरणहरू छन् । कुनै दीर्घकालिन योजना नबनाएरै राज्यले ठुलो लगानी गरेर यस्ता संरचना बनाउँदा एकातिर जनताले तिरेको करको सदुपयोग हुन सकेको छैन भने अर्कोतिर आवश्यकता हुने स्थानमा संरचना बन्न सकेका छैनन् । कुनै योजनाबिना बनेका यस्ता योजना र संरचनामा राज्यले गरेको लगानी बालुवामा पानी खन्याएझैँ हुने गर्छ । संरचना निर्माण गर्नुपूर्व त्यसको योजना बनाएर त्यसलाई प्रयोगमा कसरी ल्याउने ? त्यसबाट आम्दानी कति हुन्छ ? निर्माणपश्चात् खर्च धान्न सक्ने अवस्था बन्छ की बन्दैन ? यस्ता थुप्रै दीर्घकालीन सोच र योजना बनाएरै राज्यले ठुलो लगानी गरेर संरचना निर्माण गर्नु पर्ने हो । तर, नेपालमा कुनै पूर्वतयारी र योजनाबिना संरचनाहरू निर्माण हुने गरेको पाइन्छ । यसैको उदाहरण हो, नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन । टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा रहेपनि पूर्णप्रयोगमा आउनसक्ने अवस्था भने देखिँदैन् । किनकी हालसम्म उक्त नयाँ टर्मिनल भवनको सदुपयोग कसरी हुन्छ ? भन्ने ठोस योजना सरकारसँग छैन ।

नयाँ टर्मिनल भवन निर्माणका लागि निर्माण कम्पनीले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण सक्नुपर्ने मिति २०२५ डिसेम्बर १५ मा रहेपनि त्यसअगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने योजनाका साथ काम गरिहेको छ । हाल पुरानो टर्मिनलबाट भइरहेको सेवा नयाँ टर्मिनल भवनमा सार्ने भन्ने मात्रै अहिलेसम्मको योजना देखिन्छ । दुई अर्ब ७२ करोड रूपैयाँँ लागतमा निर्माण सम्पन्न हुन लागेको नयाँ टर्मिनल भवन निर्माणको उद्देश्य अहिले चलिरहेको सेवालाई स्थानान्तरण गर्ने मात्रै होइन । तर, अहिलेकै सेवा मात्रै नयाँ टर्मिनलबाट दिने हो भने त्यसले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था पनि देखिँदैन् । नयाँ टर्मिनल भवनको बिजुलीको बिलसमेत तिर्न पनि गाह्रो हुने देखिन्छ । तीनवटा ब्लक रहेको अन्डरग्राउन्डसहित तीन तल्लाको टर्मिनल भवनले चार हजार चार सय ३८ वर्गमिटर क्षेत्रफल ओगटेको छ । जबकी अहिले सेवा सञ्चालनमा रहेको एकतले टर्मिनल भवन जम्मा दुई हजार वर्ग मिटर क्षेत्रफलको मात्रै छ ।

यसका साथै टर्मिनल भवनमा चार सय ४८ सिट यात्रु अट्ने क्षमताको डिपार्चर हल र दुई सय २० जना अट्ने अराइभल वेटिङ लाउन्च निर्माण गरिएको छ । नयाँ टर्मिनलको २२ प्रतिशत संरचनामा ७२ व्यावसायिक स्टल राख्न मिल्ने संरचना बनाइएको छ । यसैगरी तीन वटा क्याफेटेरिया हल, तीन वटा भिआइपी रुम, गेष्ट हाउस, दुई वटा चिल्ड्रेन प्ले एरिया र दुई वटा ‘स्मोकिङ जोन’का लागि कोठाहरू निर्माण गरिएका छन् । यसैगरी सवारीसाधन पार्किङ क्षेत्र, नाला, पैदलमार्ग, शौचालयलगायतका संरचनाहरू निर्माण हुँदैछन् । यी सबै संरचनाहरूको सञ्चालनका लागि विमानस्थलको अहिलेको यात्रु चापले मात्रै नभ्याउने स्थिति छ । त्यसैले अब ढिलो नगरी सरकारले यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ । होइन् भने भवन निर्माणको कुनै अर्थ छैन् । सरकारले नेपालगन्जबाट नयाँ टर्मिनल भवनको सदुपयोगका लागि उडानको सङ्ख्या बढाउन जरुरी देखिन्छ । नेपालगन्ज पश्चिम नेपालको पुरानो सहर र सीमा नजिक रहेकाले भारतको दिल्ली उडान गर्न पहल गर्नुपर्ने देखिन्छ । अर्काेतर्फ क्षेत्रीयस्तरको आन्तरिक उडान सुरु गरिएन भने विमानस्थलको नयाँ संरचना सदुपयोग हुन नसक्ने देखिन्छ । सदुपयोगको स्पष्ट योजना समयमै बनाउन नसक्ने हो भने संरचनाहरूले उल्टो व्ययभार थप्ने निश्चित छ । नेपालगन्ज विमानस्थलबाट दिल्ली उडान गर्न सके संरचनापनि सदुयोग हुने र नेपालगन्ज आर्थिक रूपमा पनि चलायमान हुन सक्छ । सरकारले यसतर्फ समयमै ध्यान दिन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार