कोहलपुर ।
‘कोहलपुर नगर हाम्रो सहर, सफा राख्ने सबैको रहर’ भन्ने मूल नाराका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले बृहत् सरसफाइ कार्यक्रम गरेको छ । पुस्तकालयले शनिबार कोहलपुर–११ स्थित प्रवुद्ध ज्येष्ठ नागरिक मञ्चको परिसरमा सरसफाइ गरेको हो ।
प्रत्येक महिनाको अन्तिम शनिबार पुस्तकालयले नगरभित्रका विभिन्न ठाउँहरूमा सरसफाइ गर्दै आइरहेको छ ।
पुस्तकालयले विगत दुई वर्षदेखि महिनाको अन्तिम शनिबार सरसफाइ गर्दै आएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए । कोहलपुर पश्चिम नेपालको केन्द्रबिन्दु रहेकाले स्वच्छ र सफा राख्न सबैको उत्तिकै महत्व रहेको उनले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै महिनाको अन्तिम शनिबार सरसफाइ गर्दै आएको उनको भनाइ छ ।
फोहोरले स्वाथ्यमासमेत नकारात्मक असर पार्ने र सहर दुर्गन्धित हुने भएकाले सक्दो सरसफाइ गर्ने प्रयास गरिएको बताए । ‘समाज हाम्रो हो, हामीले समाजको लागि केही गर्नुपर्छ । त्यसैले महिनाको अन्तिम शनिबार एकदिन भएपनि सरसफाइ गर्ने गरेका छौँ ।’ उनले भने, ‘यसले कोहलपुरलाई सुन्दर र सफा राख्न थोरै भएपनि मद्दत पुग्ने विश्वास लिएको छु ।’
मञ्चको परिसरमा सरसफाइ गर्दा काटिएको घाँस कोहलपुर चौराहनजिकै रहेको रामजानकी गौशालामा रहेका गाईहरूको लागि छाडिदिएको समेत उनले जानकारी दिए । पार्क सफा गर्दा काटिएको घाँस कुहिएर जानुभन्दा चरन क्षेत्रको अभाव रहेका गाईहरूको लागि एकदिनलाई भएपनि घाँस उपयोग हुने भएकाले गौशालामा लगेर छाडिएको बताए ।
बैभवलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था, ओशो आनन्द ध्यान केन्द्र, पतञ्जली योग समिति कोहलपुर, कोहलपुर नगर प्रहरीको सहकार्यमा सरसफाइ गरिएको उनले जानकारी दिए । आगामी दिनहरूमा पनि सरसफाइलाई निरन्तरता दिने उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्