सेनाले बनायो बडिमालिका मन्दिर



बाजुरा ।

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण गरेको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए । मन्दिर निर्माण कार्य २०८१ चैत २८ गतेबाट सुरु गरेर असार २३ गते सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले बताए । झण्डै २ करोडको लागतमा मन्दिर निर्माण सम्पन्न भएको सेनाले जनाएको छ ।

प्राचिन स्मारक ऐन, २०१३ अनुसार मन्दिर निर्माण गरिएको हो । करिब ४२ सय २० मिटरको उचाइमा रहेको मन्दिर निर्माण गर्न भौगोलिक विकटता, प्रतिकूल मौसमका बीचमा सेनाको सक्रियताले ३ महिनामै मन्दिर निर्माण भएको प्रवक्ता बस्नेतले बताए । २०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भएपनि विभिन्न समस्याले मन्दिर निर्माण हुन सकेको थिएन्, अहिले भने नेपाली सेनाले आफैँ निर्माण गरेको पुजारी पाध्यायले बताए । विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भएपनि निर्माण गर्न सकेको थिएन् । ठेक्का भइसक्दा पनि काम हुन नसकेको पुजारीले जानकारी दिए ।

‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो, तर सामान ढुवानी र प्रतिकूल मौसमले निर्माण हुन सकेको थिएन्, यो पटक भने सेनाको सक्रियतामा निर्माण भएको छ ।’ पुजारीले भने । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, होमन कुण्ड र हेलिप्याड निर्माण भएको छ । सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको हो । केही सामान भने बडिमालिका नगरपालिका ५ मनाबाट बोकेर लगेको थियो । मन्दिर निर्माण पुरातत्व विभागको प्राविधिक सहयोग, डिजाइन स्टमेटमा भएको सेनाले बताएको छ ।

रकम भने नेपाली सेनाको कोषबाट खर्च भएको छ । सेनाले धार्मिक ऐतिहासिक पुरातात्विक क्षेत्रको संरक्षणअन्तर्गत मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग भएको छ । काठमा तराइको सालको काठ प्रयोग भएको पुजारीले बताए । बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमा मेला तथा मुख्य पूजा लाग्ने गर्दछ । विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भम्रण गरेका छन् । बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित रहेको छ ।

बडिमालिका पुुगेका स्थानीय शेरबहादुर रावत भन्छन्, ‘बडिमालिका क्षेत्र निकै स्वर्ग जस्तै लाग्छ । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना, ठुला ठुला पाटन, घाँसे मैदान आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ । पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै निकै रमाइलो हुने गर्दछ । बडिमालिका क्षेत्रबाट सैपाल लगायतका हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ ।’
पाटनमा भेडा, खोडाका लागि निकै चरन क्षेत्रका रूपमा रहेका छन् ।

बडिमालिका क्षेत्रमा यो समयमा ५० हजारभन्दा बढी भेडाको चरिचरन गर्ने गरेका छन् । बाजुरा, हुम्ला, कालीकोट, मुगु लगायतका क्षेत्र बाट भेडाहरू ल्याएर वैशाखदेखि भदौसम्म चरिचरन गराउने गरेका छन् । बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पूजा हुने गरेको छ । त्यो दिन हेल्किप्टरमार्फत गएर पूजा गर्ने गरेका छन् । मेला भने जनैपूर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपूर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन् । अछाम, बाजुरा र कालीकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।

बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको कैलाशमाडौँका दिर्घराज जोशीले बताएका छन् । यो क्षेत्र धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिबुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका २२ पाटन्, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रूपमा परिचित रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार