यस्तो छ, बाँकेका स्थानीय तहको खर्च



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ मा २०८१ साउन १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म चालूतर्फ कूल १ अर्ब १७ करोड ७९ लाख २८ हजार ७७६ रूपैयाँमध्ये जेठ मसान्तसम्म ८६ करोड ३८ लाख ५५ हजार ३६० रूपैयाँ खर्च गरेको छ । जुन कूल बजेटको ७०.७९ प्रतिशत हो । यस्तै पुँजीगततर्फ कूल ५४ करोड ७७ लाख ९७ हजार ५६७.४४ रूपैयाँमध्ये हालसम्म १५ करोड ४३ लाख ३७ हजार २२९.०२ रूपैयाँ खर्च भएको छ ।

कूल पुँजीगत मौज्दात रकम ३९ करोड ३४ लाख ६० हजार ३३८.४२ रूपैयाँ रहेको छ । नेपालगन्जमा जेठ ३१ गतेसम्मको कूल पुँजीगत बजेट २८.१७ प्रतिशत मात्रै रहेको छ । आन्तरिक स्रोततर्फ कूल ९०.२९ प्रतिशत बजेट खर्च भएको नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले बताए । राजस्व बाँडफाँट शीर्षकतर्फ कूल ६८.७३ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त कूल बजेटमध्ये ४८.६८ प्रतिशत बजेट खर्च भएको छ । संघीय सरकारबाट प्राप्त बजेटमध्ये ८३.६६ प्रतिशत खर्च भएको उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ जेठ मसान्तसम्म कूल ७४.४ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा ८३ प्रतिशत चालू र ५८.५७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । चालूतर्फ ७२ करोड ७१ लाख ९६ हजार रूपैयाँँमध्ये हालसम्म ६० करोड ३२ लाख २५ हजार १७३ रूपैयाँँ खर्च भएको नगरपालिकाले जनाएको छ । यस्तै, पुँजीगततर्फ ३९ करोड २६ लाख ३ हजार ९७५ रूपैयाँँमध्ये हालसम्म २२ करोड ९९ लाख ६५ हजार ४२० रूपैयाँँ खर्च भएको छ ।

चालू आर्थिक वर्षमा कोहलपुर नगरपालिकाको कूल कायम बजेट १ अर्ब ११ करोड ९८ लाख रूपैयाँँ रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बाँके जिल्लाकै दोस्रो हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ कूल ८४.४५ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकामा चालू आवका लागि कूल ८३ करोड ३५ लाख २४ हजार रूपैयाँ विनियोजन गरिएको थियो । कूल बजेटमध्ये हालसम्म ७० करोड ३९ लाख ७२ हजार ५६४.९४ रूपैयाँ खर्च भएको गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत पूर्णचन्द्र जैशीले बताए ।

उनका अनुसार गाउँपालिकाले हालसम्म कूल ८४.१२ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि बैजनाथमा कूल २९ करोड ७३ लाख ८७ हजार रूपैयाँ विनियोजन गरिएको मध्ये हालसम्म २५ करोड १ लाख ६६ हजार ४३७ रूपैयाँ पुँजीगत खर्च भएको छ । चालूतर्फ कूल विनियोजित ५३ करोड ६१ लाख ३७ हजारमध्ये ४५ करोड ३८ लाख ६ हजार १२७.९४ रूपैयाँ खर्च भएको अधिकृत जैशीले जानकारी दिए । बैजनाथ गाउँपालिकाको कूल आम्दानी रकम ७६ करोड २६ लाख ३१ हजार ३५५.८९ रूपैयाँ रहेको छ । आम्दानीका आधारमा खर्च प्रगति प्रतिवेदन ९२.३१ प्रतिशत रहेको छ ।

डुडुवा गाउँपालिकाकामा आर्थिक वर्ष २०८१–०८२ चालूतर्फ विनियोजित कूल ४० करोड ३५ लाख ९९ हजार २ सय ४१ मध्ये हालसम्म चालू खर्च ३४ करोड ४२ लाख ५८ हजार ६८ रूपैयाँ २३ पैसा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए । उनका अनुसार गाउँपालिकाले आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कूल ८५.०३ प्रतिशत चालू बजेट खर्च गरेको छ । गाउँपालिकामा कूल विनियोजित २१ करोड ३७ लाख १३ हजार पुँजीगत बजेटमध्ये हालसम्म १६ करोड ८६ लाख १२ हजार ६८४ रूपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

जुन कूल बजेटको पुँजीगत खर्च ७९.०४ प्रतिशत हो । चालू आर्थिक वर्ष २०८१–०८२ मा खजुरा गाउँपालिकाको कूल बजेट ७८ करोड ९२ हजार ७५५ थियो । हालसम्म कूल ७० करोड १० लाख ९ हजार ४८१.१ रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । चालूतर्फ ५६ करोड ५१ लाख ८३ हजार २६९ मध्ये हालसम्म ५२ करोड ५८ लाख ३ हजार ३५१.१ रूपैयाँ खर्च भएको लेखा अधिकृत प्रदीप सुनारले बताए । यस्तै पुँजीगततर्फ विनियोजित २१ करोड ४९ लाख ९ हजार ४८६ रूपैयाँमध्ये हालसम्म १७ करोड ९५ लाख २६ हजार १३१.१ रूपैयाँ खर्च भएको उनले बताए ।

गाउँपालिकाको आम्दानी रकम ७२ करोड ९३ लाख २६ हजार ३३१.८५ रूपैयाँ रहेको छ । आम्दानीका आधारमा कूल खर्च प्रतिशत ५९.९९ रूपैयाँ रहेको छ । खजुरामा आर्थिक वर्ष २०८०–०८१ मा ८७ करोड ९४ लाख १३ हजार ३ सय रूपैयाँ विनियोजन गरिएको थियो । उक्त आर्थिक वर्षमा गाउँपालिकाको कूल बजेट खर्च ८५ प्रतिशत रहेको गाउँपालिकालले जनाएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ का लागि नरैनापूर गाउँपालिकाको कूल बजेट ५९ करोड ४७ हजार रूपैयाँ रहेको थियो । जसमध्ये संघीय सरकारतर्फ चालू १९ करोड ७९ लाख ३९ हजार ५ सय रूपैयाँ र लुम्बिनी प्रदेशतर्फ २ करोड ३० लाख गरी कूल २० करोड २ लाख ३९ हजार ५ सय रूपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए ।

संघीय सरकारतर्फ पुँजीगत ११ करोड ५६ लाख १४ हजार र लुम्बिनी प्रदेशतर्फ पुँजीगत ७० लाख रूपैयाँ गरी कूल १२ करोड २६ लाख १४ हजार रूपैयाँ पुँजीगत बजेट रहेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म कूल ८६.०४ प्रतिशत बजेट खर्च गरेको छ । उनका अनुसार गाउँपालिकाले हालसम्म ९०.०५ प्रतिशत चालू बजेट खर्च गरेको छ । गाउँपालिकाको कूल पुँजीगत खर्च ७८.०३ रहेको प्रमुख प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

जिल्लाको जानकी गाउँपालिकामा चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१–०८२ मा ६८ करोड २७ लाख ६ हजार ३२ रूपैयाँ विनियोजन गरिएको थियो । चालू आर्थिक वर्षको खर्च बजेटको अन्तिम हिसाब नआएको र अझै केही दिन लाग्ने प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले बताए। गाउँपालिकाको २०८०–०८१ मा चालू बजेट खर्च ८७ प्रतिशत र पुँजीगत बजेट खर्च ७९ प्रतिशत रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार