धनगढी ।
कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी दिएपछि आरोपित प्रीयंका चौधरी फरार भएकी छिन् । एक वर्षअघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले मंगलबार उजुरी दिएपछि उनी फरार भएकी हुन् ।
मंगलबार दिनभरी ठगिएका किसानहरूले इलाका प्रहरी कार्यालयमा प्रीयंकालाई सम्पर्कमा ल्याउने प्रयास गरेका थिए । उनका ससुरा गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष जग्गुराम चौधरीले उनी महेन्द्रनगरमा रहेको माइती घरमा गएको बताए पनि किसानहरूले प्रत्यक्ष उपस्थित गराउन माग गरेका थिए । तर, दिनभरी फोन सम्पर्कमा नआएपछि किसानहरूले उजुरी दिएका थिए ।
उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले उनको खोजी गर्दा सम्पर्कमा नआएको जनाएको छ । वडाध्यक्षले भनेअनुसार प्रीयंका माइती घरमा पनि फेला नपरेको प्रहरी श्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले उजुरी परेपछि प्रीयंकाको खोजी भइरहेको बताए । ठगिएका किसानहरूले मंगलबार ३६ लाख १७ हजार बराबरको रकम प्रीयंकाले उठाएको भन्दै उक्त रकम फिर्ता गराई पाउँ भन्दै उजुरी दिएका छन् ।
उजुरीकर्ता मध्येका एक मानबहादुर चौधरीले दिनभरी प्रहरी कार्यालयमा छलफलका लागि बस्दा पनि प्रीयंका सम्पर्कमा नआएपछि उजुरी दिएको बताए । उनले प्रीयंकाले नै गाउँमा आफूहरूलाई भेला गरी २ महिना भित्रमा किसानहरूले माग गरेका कृषि उपकरण दिने भन्दै २०८१ साउनमा पैसा संकलन गरेपनि अहिलेसम्म कुनै सामान नपाएको बताए । किसानहरूले दिएको उजुरीमा प्रीयंकाले पछिल्लो समय रकम र सामान नदिने भन्दै उल्टै धम्की दिने गरेको उल्लेख छ ।
यसैबीच पावर टिलर दिने भन्दै गोदावरीमा रकम संकलन गरेकी सोनम चौधरीको नामको उजुरी भने फिर्ता गरिएको छ । उनीबाट ठगिएका ४४ जना किसानले उजुरी दिने तयारी गरेपनि सोनमले १५ दिनमा रकम फिर्ता गर्ने मौखिक सहमति गरेपछि किसानहरूले उजुरी प्रहरी कार्यालयमा नबुझाइ फिर्ता लगेका हुन । सुरो नेपालकी अध्यक्ष खड्का सहित प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइसकेको छ । दुवैजना विरुद्ध कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएका थिए । दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्