पेरिस, मंसिर १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रसंघीय जलवायु सम्मेलन एक महत्वपूर्ण घुम्ती हुन सक्ने बताएका छन् ।
फ्रान्सको राजधानी पेरिसमा हिजोबाट शुरु भएको जलवायु सम्मेलनमा बोल्दै ओबामाले विश्वव्यापी तापमान बृद्धिमा सहायक मानिने हरितगृह ग्यासको दोस्रो ठूलो उत्सर्जक राष्ट्रका रुपमा अमेरिकाले समस्या सिर्जनामा
र त्यसको समाधानमा आफ्नो भूमिका बुझेको बताए । उनले जलवायु परिवर्तनले परेको संकट समाधानका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति ओबामाले जलवायु परिवर्तनको समस्या निम्त्याउन अमेरिकाको पनि भूमिका रहेको स्वीकार गर्दै यसको अन्त्यका लागि आफूहरुले पनि जिम्मेवारी लिएर सजग भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो ठूलो उत्सर्जक राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले जलवायु परिवर्तनसम्बन्धी हुने सन्धीले गरिब देशका लागि सहायताको विषय पनि समेट्ने बताए । उनले गरिब देशका जनताको जीवनस्तर सुधार गर्ने मौका दिनुपर्ने बताए ।
वातावरण प्रदुषण गर्ने कार्बन सबैभन्दा बढी उत्सर्जन गर्ने देशको सूचीमा चीन अगाडि छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ । १४७ देशका नेता सहभागी दुई हप्ते सम्मेलनमा विश्वमा बढ्दो हरितगृह ग्याँस, प्रदूषित नदी, इन्धनको बढ्दो खपत र पानीको बचतलगायत विषयमा छलफल गरिने छ ।
यो सम्मेलनले विश्वको बढ्दो तापक्रम नियन्त्रण गर्नका लागि सहमति काम गर्ने बताइएको छ ।
पेरिस आक्रमणका कारण अत्यन्त कडा सुरक्षा व्यवस्थाबीच शुरु भएको सम्मेलनको उद्देश्य जलवायु सम्बन्धमा एक कानुनी बाध्यकारी र सर्वसम्मत सम्झौता गर्नु रहेको छ । त्यसैगरी ग्लोबल वार्मिङलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने समेत सम्झौता हुन सक्ने बताइएको छ । (एजेन्सी)









प्रतिक्रिया दिनुहोस्